धनकुटा । शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले धनकुटामा शुक्रबार लगाएको निषेधाज्ञा साँझबाट केही खुकुलो बनाएको छ ।

आन्दोलन रोक्ने विषयमा राजनीतिक दलसँग भएको छलफल बिना निष्कर्ष सकिए पनि सर्वसाधारणले दुःख पाएकाले साँझ ५.३० बजेपछि स्कर्टिङमा यातायात चलाउन थालेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो ।

बिहीबार दिनभरी कफ्र्यू लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी रहेने  प्रजिअ उप्रेतीले बताउनुभयो ।  दिनभरी राजनीतिक दलहरुसँग भएको छलफलमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न सकेन ।

स्थानीय प्रशासनले बन्द हड्ताल फिर्ता गर्नु पर्ने अडान राखेको थियो भने आन्दोलनकारी र राजनीतिक दलहरुले राजधानी बनाउने विषयमा राज्यको तर्फबाट ग्यारेण्टी गर्नु पर्ने माग राखेका थिए । त्यसैले सहमति जुट्न नसकेको प्रदेशसभा सांसद निरन राईले बताउनुभयाे ।

निषेधाज्ञाको कारण बजार बन्द रहेको छ । स्थानीय प्रशासनसँग भएको छलफल सहमति नभएपछि राजनीतिक दल र आन्दोलकारी धनकुटा जिल्लाबासी आन्दोलन योजना बनाउन बैठक बसिरहेका छन् ।

यसअघि प्रशासनले लगाएको निषेधाज्ञाको कारण धनकुटाको बजार, यातायात, शिक्षण संस्था बन्द रहेको भएको थियो । निषेधाज्ञामा ५ जना सम्मको समूहमा हिँड्न र बजारमा किनमेल गर्न पाउने कानुनी व्यवस्था छ । तर धनकुटाका प्रहरीले हिँड्डुल गर्न नदिएर दुःख दिएको गुनासो सर्वसाधारणले गरेका छन् । प्रहरीले एक दर्जनभन्दा बढी पैदालयात्रीलाई कुटपिट समेत गरेका छन् ।

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधान, बजारमा तोडफोड र आगजानी गर्दै प्रहरीसँग झडप गर्न थाले स्थानीय प्रशासनले अनिश्चितकालिन कफ्र्यू लगाएको थियो ।

यो घट्नापछि धनकुटामा ठूलो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कोशी अञ्चल प्रहरी कार्यालय प्रमुख एसएसपी हरिप्रसाद पाल दुई सयजना सुरक्षा बल लिएर धनकुटा पुगेका थिए । त्यस्तै सशस्त्र प्रहरीले पनि बराह बाहिनी पकलीबाट थप सुरक्षाकर्मी ल्याएको स्थानीय प्रशासनले बताएको छ ।

तपाईको प्रतिक्रिया