तेह्रथुम । नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२ औँ साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष नरेश ढुङ्गाना छन् । दुवै जनालाई क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु ११ हजार एक सय ११ रहेको छ । उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आउनुभएका राधिका पोखरेल र डा सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गरेका हुन् ।

यस्तै महासङ्घले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कारको राशि जनही रु पाँच हजार पाँच सय ५५ रहेको छ । उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेजबहादुर कार्की दम्पत्तीले स्थापना गरेका हुन् ।

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही रु एक हजार एक सय रहेको छ । उक्त पुरस्कार स्व. सोमनाथ निरौलाको परिवारले स्थापना गरेका हुन् ।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित भएका छन् । उक्त पुरस्कारको राशि जनही रु एक हजार एक सय ११ रहेको छ । सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो ।

पुरस्कृत पत्रकारहरुलाई नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङ, प्रदेशसभा सदस्यहरु किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाईं, नेपाल पत्रकार महासङ्घ प्रदेश-१ का अध्यक्ष लिलावल्लभ घिमिरे लगायतले पुरस्कार हस्तान्तरण र सम्मान गरेका थिए ।

शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित भएका उम्मेदवार गुरुङ, दुलाल र चापागाईंलाईसमेत सम्मान गरेको छ। यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु र आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानसहित विदा गरेको छ ।

तपाईको प्रतिक्रिया