काठमाडौं । निर्देशक दीपा मेहताले दर्जनौं राम्रा फिल्म र वृत्तचित्र निर्देशन गरेकी छन्। तीमध्ये ‘साम एन्ड मी’, ‘बीबा ब्वाइज’, ‘बलिउड/हलिउड’, ‘मिडनाइट्स चिल्ड्रेन’, ‘एनाटोमी अफ भायलेन्स’ र ‘एलिमेन्ट्स ट्रियोलोजी’ शृंखला केही मुख्य सिनेमा हुन्।

दीपाले एलिमेन्ट्स ट्रियोलोजी शृंखलाका रूपमा बनाएका तीन फिल्म ‘फायर’, ‘अर्थ’ र ‘वाटर’ विशेष चर्चित छन्। उनको यो शृंखलामा भारतभित्रको बालविवाह र विधवाका समस्या, भारत-पाकिस्तान विभाजन बेलाको धार्मिक, साम्प्रदायिक दंगा र समलिंगी मुद्दालाई विषय बनाइन्।

सिनेमामार्फत कलात्मक हिसाबले सामाजिक समस्या र कुरीतिमा प्रहार गरेकाले उनका यी फिल्मले विवाद र बहस पनि निम्त्याए।

दीपा मेहताको ट्रियोलोजीमध्येको ‘वाटर’ ओस्करमा विदेशी भाषाका उत्कृष्ट पाँच फिल्ममा पर्न सफल भएको थियो।

नौ वर्षीय चुइयाँका पाका श्रीमानको मृत्यु भएपछि उनका अभिभावकले उनलाई विधवा आश्रममा राखिदिन्छन्। बनारस घाटको तिरमा रहेको यो आश्रममा वृद्धादेखि जवान विधवाहरू बस्छन्। सामाजिक रीतिरिवाजबाट बेखबर चुइयाँलाई आफू यो आश्रममा राखिनुको कारण बुझ्नै नसक्ने उमेरकी छन्।

यहाँको कठोर अनुशासनमा बसेर देख्ने अलग संसार नै ‘वाटर’ को मुख्य कथा हो। फिल्ममा धर्मको गलत व्याख्याले कसरी यहाँका महिलाले आफ्ना इच्छा, आकांक्षा मारेर जीवन बाँच्नुपर्छ भनेर देखाइएको छ।

आश्रमभित्रका विधवाको दैनिकी मार्मिक रूपमा उतारिएको ‘वाटर’ मा बाहिरी संसारको कथा पनि सँगै अघि बढ्छ। सन् १९३८ को तत्कालीन बेलायती उपनिवेश भारतमा महात्मा गान्धीको नेतृत्वको व्यापक प्रभाव थियो। फिल्ममा जोन अब्राहम गान्धीको राष्ट्रवादी आन्दोलनबाट प्रभावित युवकको भूमिकामा छन्।

फिल्ममा आश्रमकी विधवा युवती लिजा रे र जोनको प्रेम पनि कथाको केन्द्रमा छ। आश्रमभित्र चुइयाँलाई साथ दिने भूमिकामा सीमा विश्वास महत्वपूर्ण भूमिकामा छन् भने आश्रमकी कठोर नेता मधुमतिको भूमिकामा मनोरमाले गजबको अभिनय गरेकी छन्।

विधवा महिलाप्रति एकातिर छोइछिटो गर्ने र अर्कोतिर यौनको प्यास मेटाउने माध्यम बनाएको घटना मार्फत फिल्मले समाजको रुढीवादी प्रवृत्तिमाथि तीखो व्यंग्य गरेको छ। धार्मिक सामाजिक रुढीवादी अभ्यासमा टिप्पणी गर्ने विषयकै कारण ‘वाटर’ को छायांकन गर्ने बेला कट्टरपन्थी समूहहरूले अवरोधसमेत गरेका थिए।

गम्भीर विषय हुँदाहुँदै पनि निर्दोष बालिका चुइयाँका बदमासीले फिल्ममा थुप्रै ठाउँमा दर्शकलाई मनोरञ्जन दिन्छ।

दर्जनभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जितेको ‘वाटर’ दीपाको अत्यन्तै चर्चित फिल्म हो। सन् २००५ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन भएको यो फिल्म क्यानडाको तर्फबाट उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ ओस्कर मनोनयनमा परेको थियो।

आज गुड फ्राइडे सिनेमामा हामीले यो फिल्म पुनः सिफारिस गरेका छौं।

पूरा फिल्म हेर्नुहोस् । 

तपाईको प्रतिक्रिया