तेह्रथुम । सूचना प्रविधिको पहुँचलाई वृद्धि गर्न तेह्रथुमको फेदाप गाउँपालिकाले आफ्नो सेवा क्षेत्र भित्रका सबै विद्यालयमा कम्प्युटर कक्षा सन्चालन गर्ने भएको छ । गाउँपालिकाले सो क्षेत्रका आठ वटा माध्यमिक विद्यालयहरुमा कम्प्युटर शिक्षकहरु नियुक्त गरी कम्प्युटर सम्बन्धी कक्षा सन्चालन गर्न निर्देशन गरेको छ ।
समय र प्रविधिको विकास भएअनुसार विद्यार्थीहरुलाई आवश्यक शिक्षा दिनुपर्ने आवश्यकता भएकाले सबै माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकहरु नियुक्ति गरी कक्षा सन्चालन गर्न भनेको गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङवाङले बताउनुभयो ।
गाउँपालिकाले ओेयाक्जुङको सिद्धकाली मावि, जलजलेको शंकर र ग्रामसुधार मावि, सिम्लेको बालमकर, जनज्योति र महाकाली मावि, इसिवुको इसिवु मावि तथा सम्दुको सम्दु माविमा कम्प्युटर अपरेटर नियुक्ति गरेको पोक्लाबाङबाट सहकर्मी रमेश रिजालले जानकारी दिनुभयो ।
यी सबै विद्यालयमा कम्प्युटर भएपनि दक्ष अपरेटरहरु नहुदा त्यसबाट हुने कामहरु गर्न असजिलो हुँदै आएको थियो । विद्यालयहरुमा छुट्टै कम्पयुटर शिक्षक नियुक्ति भएपछि आधुनिक सूचना प्रविधि र कम्प्युटर सम्बन्धी कक्षाहरु सन्चालन गर्न सजिलो भएको इसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम्सीनाले बताउनुभयो ।