तेह्रथुम । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले आफु मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र बमोजिम जिल्लाका छ वटै स्थानीय तहमा पुगेर सो स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले बताए ।

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाहरुको कर्मचारी, जिन्सी तथा पुर्वाधारको अवस्था लगायत सम्पुर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा. शाहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरिसकेको छ । सो अवसरमा त्यहाँ निर्वाचित जनप्रतिनिधिहरु सँग स्वास्थ्य संस्थाहरुको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीहरुका सम्बन्धमा छलफल समेत भएको छ ।

स्थानीय तहमातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधी खरिद, कर्मचारीका सेवासुविधा, पुर्वाधार तथा कार्यालय व्यवस्थापन लगायत सम्पुर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, २९ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र छन् ।

त्यसमध्ये दुई प्राथमिक स्वास्थ्य केन्द्र र १० वटा स्वास्थ्य चौकीहरु सम्बन्धित स्थानीय तहको जिम्मा लगाइसकेको कार्यालयले जनाएको छ । बाँकी रहेकामध्ये छथर क्षेत्रका ५ वटा स्वास्थ्य चौकीहरु गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको डा. शाहले बताए । अन्य स्वास्थ्य संस्थाहरु पनि अब निरन्तर गरेर स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यायलको तयारी छ ।

तपाईको प्रतिक्रिया