काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता भीम रावलबारे चासो राखेका छन्। आफ्नो निवास बालकोटमा सोमबार पुगेका अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको गतिविधिबारे चासो राखेका थिए।

ओलीले निर्वाचनमा भएको एकल सिफारिसबारे समेत चासो देखाएका थिए।

‘उहाँ (रावल) पार्टीको संवाद र सम्पर्कमा हुनु हुन्न। जिल्लाबाट आ-आफ्नो ढंगले नाम सिफारिस भएको हो। तलबाट नाम आए पनि के गर्ने भन्ने छलफल भइरहेको छ। एकल सिफारिस भए पनि अन्तिम निर्णय पार्टीले गर्ने भयो,’ एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने, ‘अध्यक्षले नेताहरू पार्टीको निर्णय र योजनामा हिँड्नपर्‍यो भन्नु स्वाभाविक हो। पार्टीको नेताकहाँ रावलजी जानुपर्‍यो, समय लिनुपर्‍यो अनि आफ्नो कुरा के हो राख्नुपर्‍यो भन्ने हामी सबैको भनाइ छ।’

मंसिर ४ मा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र नम्बर १ बाट रावललाई मात्र सिफारिस गरेको थियो।

उनी २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सोही क्षेत्रबाट २०५१ र २०७० सालमा समेत निर्वाचित भएका थिए। २०५६ सालमा भने रावल पराजित भएका थिए। २०६४ सालमा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

पार्टीभित्रको अन्तर संघर्षमा अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौं महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए। एमाले अध्यक्ष ओलीले पार्टी सल्लाहकारमा नियुक्त गरे पनि रावलले सो पद अस्वीकार गरेका छन्। आफ्नो दबाबलाई अस्वीकार गर्दै आफूविरूद्ध निर्वाचन लडेकोमा ओली रावलसँग आक्रोशित बनेका छन्।

ओलीलाई भेट्न एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरा लगायत बालकोट पुगेका थिए।

एमाले केन्द्रीय सदस्य यज्ञ बोगटीले पार्टीभित्र छलफल चलिरहेकाले अहिले नै केही भन्न नसकिने बताए। निर्वाचनमा कसरी जाने र कसलाई उम्मेदवार बनाउने भनेर पार्टीले निर्णय गर्ने समेत उनले बताए।

तपाईको प्रतिक्रिया