काठमाडौं । नेपाल पत्रकार महास‌ंघले आगामी निर्वाचनको घोषणा-पत्र र प्रतिवद्धताका विषयलाई लिएर राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

चुनावको मुखमा दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आ–आफ्नो घोषणापत्र तयार पारिरहेका छन् । महास‌ंघले दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्वोधन गरिएको छ भन्ने कुरालाई लिएर दलहरुसँग छलफल गर्न लागेको हो ।

महासंघका अध्यक्ष विपुल पोखरेलले स‌ंविधानले प्रत्याभुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका विषयहरुमा दलहरुको स्पष्ट प्रतिवद्धता हुनु आवश्यक देखिएको बताए ।

‘गएको पाँच वर्षमा हामीले जे-जस्ता परिस्थितिहरु भोग्यौँ त्यो हेर्दा हामीले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूपको राज्य र कानुनहरु बनाउने कुरामा चनाखो हुनुपर्ने परिस्थिति बनेको छ,’ उनले भने, ‘अहिले आगामी पाँच वर्षका लागि दलहरुले आफ्नो घोषणापत्र बनाउँदैछन्, त्यसैले यस्ता विषयमा दलहरुबाट पहिल्यै प्रतिवद्धता लिने हाम्रो प्रयास हो ।’

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततासँगै व्यवसायिक पत्रकारिताको विकास र विस्तारका लागि समेत आवश्यक नीति, कानुन र संरचनाहरू तयार गरी सशक्त र सम्मुनत सञ्चार क्षेत्रको निर्माण गर्ने प्रतिवद्धता र कार्यक्रमहरू घोषणापत्रमा समावेश गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया