पाँचथर । पाँचथरका धेरै किसानले सामान्य आम्दानीका साथै आफैले उपभोग गर्न मात्र थोरै जमिनमा उखु खेती गर्ने गरेका छन् । हिलिहाङ गाउँपालिका–६, भारापा सिमखर्कका किसानले भने धेरै जमिनमा व्यवसायीले खेती गरिरहेका छन् । यहाँका किसानले कृषि श्रमिक अभावले बाँझिएका खेतमा उखु रोपेर अन्य बालीभन्दा धेरै आम्दानी गर्न थालेका हुन् ।

जमिन बाँझिन नदिने मात्रै नभएर उखुले दिने सख्खरको माग पनि उच्च छ । यसले गर्दा पनि उखु खेती गरे घाटा नहुने लागेर सिमखर्कका किसानले सुरुमा उखु खेती लगाएका थिए ।
अहिले यही खेतीले धानभन्दा दस गुणा बढी आम्दानी दिन थालेको किसान सावित्रा पोख्रेलले बताउनुभयो । सिमखर्कका ५ घर किसानले ३५ रोपनी जमिनमा व्यावसायिकले पाँच वर्ष अघिबाट उखु खेती थालेका हुन् । खासमा काम गर्ने मान्छे पाउन छोडेपछि बाँझिन थालेका जमिनमा उखु खेती थालेको सावित्राले सुनाउनुभयो । बाँझो लुकाउन रोपेको उखुले धेरै आम्दानी दिने देखेपछि यसको खेतीमा अन्य किसान पनि आकर्षित हुन थालेका छन् ।

अहिले सिमखर्कको सिमाना फिदिम नगरपालिका–४, सारान्थामा पनि व्यावसायिक उखु खेती थालिएको छ । यहाँका मदन पोख्रेलले १५ रोपनी खेत वार्षिक ३० हजार रुपियाँ तिर्ने गरी लिजमा लिएर उखु खेती थाल्नु भएको हो । उहाँले पोहोर लगाउनु भएको उखुले यसपालि आफूलाई आठ लाख रुपियाँ आम्दानी दिने बताउनुभयो । पन्ध्र रोपनीमा रोपिएको उखुबाट २० क्विन्टल सख्खर उत्पादन हुने र यति सख्खरबाट आठ लाख फाइदा हुने पोख्रेलले सुनाउनुभयो । वर्तमानमा सख्खरको मूल्य प्रतिकिलो पाँच सय रुपियाँ छ ।

सिमखर्क र सारान्थाको उखु खेती लगाइएको ५० रोपनी खेतमा बढीमा एक सय मुरी धान फल्ने किसान बताउछन् । यति धान प्रतिपाथी चलन चल्तीको भन्दा बढी भाउदर दुई सयले बेच्नुपर्दा पनि चार लाख रुपियाँ मात्र आम्दानी हुन्छ । उखुबाट भने वार्षिक ६० क्विन्टल सख्खर उत्पादन हुने र यसबाट ३० लाख रुपियाँ आम्दानी हुने किसानको दाबी छ । यसरी अन्य बालीभन्दा धेरै फरकले फाइदा दिने देखेपछि यहाँ उखु खेती गर्ने किसान बढ्न थालेका हुन् ।

यहाँ उखु उत्पादन वृद्धि हुन थालेपछि पेल्ने मेसिन मदन पोख्रेलले भारतबाट दुई लाख रुपियाँमा किनेर ल्याउनु भएको छ । यहाँ आयुर्वेदिक औषधि मानिने कालो ग्यामरा जातको उखु रोपिने गरेको छ । यसको सख्खर भरोभराउ भएका बेला बढी विक्ने तथा जन्डिस र निरन्जन रोगको औषधिका रूपमा पनि खपत हुने जनाइएको छ । यस्तो सख्खर उत्पादनका लागि उखुको बोटमा रासायनिक मात्रै नभएर जैविक मल लगाउन र सिँचाइसमेत धेरै गर्न नहुने किसान बताउछन् ।

रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उखुले लगातार दस वर्षसम्म आम्दानी दिन्छ । उखुले टुसाएपछि खेतबारी बाह्रै महिना हरियाली पार्ने हुनाले जमिन बाँझो नदेखिइने गरेको छ । नगदे बालीका रूपमा रोपिने उखु सामान्य गोडमेल गर्दा पनि फस्टाउने भनाइ छ । उखु खेतीले जमिनमा पटक पटक बाली लगाउने झन्झटसमेत हटाउने गर्छ । यसले गर्दा उखु खेतीका लागि कृषि श्रमिक लागत पनि धेरै नलाग्ने देखिन्छ । यस कारण किसानले उखु खेतीलाई बाँझो पनि मेटाउने र आम्दानी पनि देखाउने सरल खेतीका रूपमा अपनाउन थालेका पाइएको छ ।

तपाईको प्रतिक्रिया