काठमाडौं । अभिनेता पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।
पल शाहविरुद्ध एक नाबालिगको जाहेरीपछि गत चैत ३ गते जिल्ला अदालतमा जबरजस्ती करणको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको फैसला सुनाउँदै पल शाहलाई जबरजस्ती करणीको कसुरमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैदको फैसला भएको छ। यस्तै नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ।
“अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नु पर्दछ,“ आदेशमा भनिएको छ। फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ। तर प्रमाणका रूपमा प्राप्त भएका अडियो र मेसेजहरूलाई हेर्दा पल शाहले नाबालिकासँग प्रेमको सम्बन्ध कायम गरी, यौनजन्य अस्वाभाविक व्यवहार देखाएको अदालतको निष्कर्ष छ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ (२) बमोजिम बालयौन दुरुपयोगको कसुर गरेको ठहर्याइएको छ। जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ आएसँगै अब यसविरुद्ध उच्च अदालतमा पुनरावेदनको तयारी गर्ने पल शाहका अधिवक्ता कमलामोहन वाग्लेले बताए। ‘दसैँअघि नै त भ्याइँदैन। तर दसैँपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्छौँ’, अधिवक्ता वाग्लेले भने, ‘यो फैसला चित्त बुझ्दो छैन।’
यस्तै जिल्ला अदालत तनहुँमा पनि तिनै नाबालिगका तर्फबाट मुद्दा दायर भएको छ। तनहुँमा असोज २६ गतेलाई पेशी तोकिएको छ। दसैँ लागेका कारण आइतबारदेखि अदालतमा नियमित मुद्दाको सुनुवाइ नहुने भएकाले पेशी पछि सरेको हो। तनहुँमा पनि मुद्दा फैसलाको तयारीमा पुगेको छ।
यस्तो छ पूर्णपाठ :