काठमाडौं । आगामी निर्वाचनमा काठमाडौं-६ बाट प्रतिनिधिसभा सदस्यकालागि जिल्ला सभापति कृष्ण सबुज बानियाँले उम्मेदवारी दिने घोषणा गरेका छन् । दोस्रो पटक काठमाडौं सभापति बनेका बानियाँ यस क्षेत्रका लोकप्रिय नेता हुन् ।

सत्ता गठबन्धनमा काठमाडौं-६ कांग्रेसको भागमा पर्ने सहमति हुँदै गर्दा कांग्रेसबाट बानियाँ उम्मेदवार बन्ने चर्चा छ । पार्टीमा नेता बानियाँले आफुले प्रत्यक्षतर्फ उम्मेदवारी दिने दाबी पेश गरिसकेका छन् । उनले आफु जिल्ला सभापति भएपछि जिल्लामा सबै पक्षलाई मिलाएर पार्टीलाई मजबुद बनाउन सकेको दाबी गरेका छन् ।

‘उहाँ पार्टीको सभापति मात्रै होइन, अहिले पार्टीभित्र जिल्लाकै सबैभन्दा लोकप्रिय नेता हुनुहुन्छ,’ उनीनिकट एक नेताले भने, ‘यसपटक उहाँको पक्षमा राम्रो माहोल छ । उहाँलाई जिताउन सहज छ । पार्टीले उहाँलाई नै उम्मेदवार बनाउनु उपयुक्त हुन्छ ।’

बानियाँको कार्यसमितिका सदस्य रहेका नेता युवलाल विश्वकर्माले काठमाडौं-६ मा बानियाँलाई उम्मेदवार बनाउनु उपयुक्त हुने दाबी गरे । बानियाँ ०५४ मै यहाँको गाविस अध्यक्ष भएर जनप्रतिनिधिको रुपमा सेवा गरिसकेका छन् ।

उनले प्रकाशमान सिंह जिल्ला सभापति हुँदा नै पार्टीको जिल्ला कार्यसमिति सदस्य भएर काम गरेका थिए । ०७४ मा सांसदको दावी गरेका उनलाई भिमसेनदास प्रधानले अर्को पटक दिने सहमतिमा टिकट छाड्न लगाएको नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंह र पार्टीका महामन्त्री गगन कुमार थापासंग समेत राम्रो सम्बन्ध बनाएका बाँनीयालाई पार्टी सभापति शेर बहादुर देउवाले समेत विश्वास गर्छन् । यस पटकको टिकटमा आफ्नो बलियो दावेदारी रहेको उनीनिकटहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया