काठमाडौं । डेंगी संक्रमणबाट एक सातासम्म थलिएर उठेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निर्वाच्न क्षेत्रमा डेंगीको निःशुल्क परीक्षण र परामर्श सेवा थालेका छन् । थापा काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित सांसद हुन् ।

उनले डेंगी कोभिडभन्दा पनि भिन्न प्रकृतिको रोग पाएको भन्दै डेंगीले कोभिडभन्दा धेरै दुखाइ र पीडा भएको अनुभव सुनाए ।

‘मैले दुई पटकसम्म कोरोना संक्रमणको अनुभव गरेँ । तर डेंगी कोरोनाभन्दा भिन्न हुँदोरहेछ । औषधी पनि खासै केही नहुने, डेंगी भएपछि निश्चित समयसम्म कुर्नुको विकल्प नहुँदोरहेछ,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘त्यसैले हामीले कोभिडका बेला जस्तो खालको अभियान चलाएका थियौँ, यो डेंगी महामारीमा पनि त्यस्तै प्रकृतिको अभियान थालेका छौँ ।’

उनले काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा सुरु गरिएको बताए । थापाले काठमाडौं महानगरपालिका-३० मा आफ्नै अग्रसरतामा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रमार्फत् सेवा प्रदान गरिने बताए ।

‘जो बिरामी भएर घरमै उपचार गरिरहनुभएको छ वा संक्रमण भएर परीक्षण गर्ने सोचिरहनुभएको छ, तपाईहरूले काठमाडौं क्षेत्र नं. ४ को सचिवालयमा एउटा फोन गरेर नाममात्रै टिपाए पुग्छ,’ थापाले भनेका छन्, ‘हाम्रो विज्ञ टोलीले तपाईलाई सम्पर्क गरेर तपाईको घरमै पुगेर डेंगीको परीक्षण र परामर्श सेवा उपलब्ध गराउनेछ ।’

महामन्त्री थापाले आफ्नो सचिवालयको सम्पर्क नं. ९८६०३४०५८७ मा फोन गरेर सुविधा लिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया