काठमाडौं । कल्याण गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिए। तर, जम्मा ७२ भोट ल्याएर पहिलो चरणबाटै बाहिरिए। यसपालि आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट गठबन्धनको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। र, उक्त क्षेत्रमा आन्तरिक विवादले माओवादी कमजोर बनेका कारण गिरिराजमणि पोखरेल पनि कमजोर बनेको अवस्थामा गुरुङको पोजिसन बलियो देखिएको छ।

महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकाका १२, बर्दिवास नगरपालिकाका १४ र भंगाहा नगरपालिकाका ४ वटा वडा पर्छन्। गत पालिका चुनावमा यस क्षेत्रमा कांग्रेसले ७ वडामा जितेको छ भने ६ वटा माओवादीले जितेको छ। बर्दिवासमा प्रमुखसहित केही वडा स्वतन्त्रले जितेका छन्। केहीमा जसपाले जितेको छ।

गौशालाको मेयर र उपमेयर जसपाले जितेको छ। जसपाले त्यहाँ जित्नुको कारण पार्टीगत मत थिएन, स्थानीय स्तरको जातीय मत त्यसमा निर्णायक बनेको थियो। त्यो मत ‘फ्लेक्जिबल’ भएकाले उम्मेदवारअनुसार बग्ने सम्भावना छ। त्यो मत गुरुङलाई नै प्राप्त हुने प्रबल सम्भावना छ। त्यस्तै, भंगाहामा मेयर लोसपाले जितेको छ भने उपमेयर कांग्रेसले जितेको छ। स्थानीय चुनावको अंकगणित हेर्दा यो क्षेत्रमा कांग्रेस बलियो पार्टी देखिएको छ। गौशाला नगरपालिकामा पनि कांग्रेसको पकड राम्रो छ।

बर्दिवास नगरपालिकामा कांग्रेसका दुईवटा धार छन्। यहाँ कांग्रेसका केही व्यक्तिहरू पार्टीसँग रुष्ट भएर स्वतन्त्र उम्मेदवार बने। र, जिते पनि। त्यसरी स्वतन्त्र बनेर चुनाव जितेकाहरूको पनि भोट गणना गर्दा यहाँ पनि कांग्रेस नै बलियो देखिन्छ। र, माओवादीसँग तुलना गर्दा कांग्रेसको राम्रो पकड छ।

भंगाहा नगरपालिकामा कांग्रेस कमजोर छैन, माओवादीको भन्दा राम्रो पकड छ। मेयरमा स्थानीय अन्तर्घातका कारणले जसपाले जितेको थियो। नत्र यहाँ दुवै पदमा कांग्रेसले जित्थ्यो।

भंगाहा नगरपालिकामा ४ वटा वडामध्ये दुइटामा कांग्रेसले जितेको छ। एउटा माओवादी र अर्को वडामा लोसपाले जितेका छन्।

आन्तरिक विवादका कारण पराजय बेहोर्नु परेको महशुस कांग्रेसका नेता-कार्यकर्तामाझ पाइन्छ। र, ती स्थानीयस्तरका समस्या रहेको स्थानीय एक कांग्रेस नेता बताउँछन्। प्रतिनिधिसभा निर्वाचनमा त्यो आन्तरिक विवाद नआउने उनको बुझाइ छ।

यो क्षेत्रमा माओवादीभित्र भने अहिले पनि एकअर्कालाई आरोप–प्रत्यारोप लगाउने क्रम जारी छ। आन्तरिक समस्याका कारण नै बर्दिवासको मेयर माओवादीले गुमाएको थियो। यहाँ गिरिराजमणि पोखरेल, राजु खड्का, भरत शाह, रामकुमार शर्मा र विदुर कार्कीका आ-आफ्नै समूह छन्। यी समूह एकअर्कासँग मिल्दैनन्।

स्थानीय तहको चुनावमा एकले अर्कोलाई हराएको आरोप उनीहरू अहिले पनि खुलेआम लगाइरहेका छन्। बर्दिवास र गौशालामा माओवादी हार्नुको कारण पनि त्यही आन्तरिक विवाद थियो। विवादकै बीच माओवादीले महोत्तरीका कुनै पालिकामा मेयर, उपमेयर जित्न सकेन।

स्थानीय कांग्रेस नेता–कार्यकर्ताहरूका अनुसार महोत्तरी क्षेत्र नम्बर १ माओवादीको भागमा पर्दा एक जनाले टिकट पाए भने बाँकी ४ जना उनीविरुद्धमा जाने अवस्था छ।

यसअघिका तीनवटा चुनावमा यो क्षेत्रमा माओवादीले निरन्तर जितेको थियो। प्रदेशतर्फ ०७४ को निर्वाचनमा एउटामा माओवादी र अर्कोमा एमालेले जितेका थिए।

यसपटक यस क्षेत्रका मतदाताले परिवर्तन चाहेको कांग्रेस नेता–कार्यकर्ताहरूको बुझाइ छ। र, पार्टीगत हिसाबबाट बलियो रहेका कारण कांग्रेसले टिकट पाउनुपर्ने उनीहरू दाबी गर्छन्।

केहीगरी माओवादीकै भागमा यो क्षेत्र पर्‍यो भने गठबन्धन र माओवादी दुवैलाई एक सिट नोक्सानी हुने कांग्रेस नेता–कार्यकर्ता बताउँछन्। गठबन्धनका लागि एउटा सिट गुम्न नदिन कांग्रेसले टिकट पाउनुपर्ने उनीहरूको धारणा छ।

तर, कांग्रेसले टिकट पायो भने कांग्रेसले जित्ने त्यसले गठबन्धनलाई पनि फाइदा पुग्ने उनीहरू बताउँछन्। र, त्यसबाट राष्ट्रिय राजनीतिमा फाइदा पुग्ने उनीहरूको धारणा छ।

पालिका चुनावको अंकगणितका आधारमा यस क्षेत्रमा जसपाको भोट करिब ८ हजार छ। र, त्यो भोट गौशाला नगरपालिकामा केन्द्रित छ। बर्दिवास नगरपालिका र भंगाहा नगरपालिकामा जसपाको कमजोर छ। कमजोर भएकै कारण गत पालिका चुनावमा जसपाले बर्दिवास नगरपालिकामा उम्मेदवारी नै दिएन। भंगाहामा एउटा वडा पनि जितेको छैन। ‘तीनै नगरपालिकामा संगठित भएको कांग्रेस मात्रै हो,’ एक कांग्रेस नेता भन्छन्।

यो क्षेत्रमा कांग्रेसको भोट करिब १४ हजार छ। आन्तरिक विवाद नहुने हो भने माओवादीको भोट माओवादीको भोट करिब १६ हजार छ। एकीकृत समाजवादी पनि यो क्षेत्रमा कमजोर छ। यो क्षेत्रमा कांग्रेस, माओवादी, जसपा, लोसपा र एमालेसँग भोट एमालेको भोट करिब ९ हजार छ।

एमालेका उम्मेदवारसँग कांग्रेस, माओवादी र जसपाको भोट काफी रहेको ती कांग्रेस नेताको भनाइ छ। लोसपालाई पनि मिलाउन सक्दा एमालेका उम्मेदवारलाई ठूलो मतान्तरमा हराउन सकिने बुझाइ कांग्रेस नेता–कार्यकर्ताको छ।

महोत्तरी क्षेत्र नम्बर १ मा कांग्रेसलाई जिम्मा लगाएर माओवादीले सर्लाही क्षेत्र नम्बर १ मा कांग्रेससँग मिलेर चुनाव जित्दा सहजै विजय हासिल हुने बुझाइ पनि पाइन्छ। दुवै सिटमा जित हासिल गर्नका लागि यो नै उपयुक्त विकल्प भएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ता बताउँछन्। यसो गर्दा महोत्तरी–१ को प्रदेशतर्फ एउटा सिट माओवादी र अर्कोमा कांग्रेसलाई भाग लगाउन सकिने उनीहरू बताउँछन्।

यही बुझाइ माओवादीभित्र पनि पाइन्छ। अहिलेकै अवस्थामा निर्वाचनमा जाँदा हार बेहोर्नुपर्ने अवस्थाका कारण कांग्रेसलाई महोत्तरी क्षेत्र नम्बर १ जिम्मा लगाएर सर्लाही–३ तर्फ केन्द्रित हुनु उपयुक्त हुने एक स्थानीय माओवादी नेता बताउँछन्। ‘तर, गिरिराजमणि पोखरेल माओवादीको केन्द्रीय नेता भएकाले सीधा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका शीर्ष नेताहरूसँग पकड राख्नु हुन्छ। कल्याण गुरुङका हकमा पनि त्यसरी नै केन्द्रीयस्तरबाट प्रयास गरियो भने यो क्षेत्र गठबन्धनको हातबाट फुत्किने सम्भावना हुने छैन,’ उनी भन्छन्।

तपाईको प्रतिक्रिया