तेह्रथुम । तेह्रथुममा पाँच दलीय गठबन्धनबीच स्थानीय तह निर्वाचनकै ताका भएको सहमति बाहिरिएको छ । गठबन्धन दलका जिल्लाका शीर्ष नेताहरूबीच त्यसबेला भएको सहमति बाहिरिएको हो ।

‘लिखितरुपमा सहमति भएको छैन, मौखिकमात्रै हो । तर, राजनीतिमा अधिकांश सहमतिहरू मौखिक नै हुन्छन्,’ सहमतिको छलफलमा सहभागी एक नेताले भने, ‘तर तेह्रथुमको हकमा एउटा सहमति भइसकेको अवस्था हो ।’

तेह्रथुममा एउटामात्रै प्रतिनिधिसभा क्षेत्र छ । ती नेताका अनुसार तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसले उम्मेदवारी दिने सहमति छ । अघिल्ला निर्वाचनमा निरन्तर दुई पटक विजयी भएर हाल स्वास्थ्यमन्त्री रहेका भवानीप्रसाद खापुङले जिल्लाबाट प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

प्रदेशसभातर्फका दुई क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रले एक-एक क्षेत्रबाट उम्मेदवारी दिने सहमति छ । प्रदेशसभा (क) मा कांग्रेस र प्रदेशसभा (ख)मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति रहेको ती नेताले बताए ।

जिल्लामा छ स्थानीय तह छन् । लालीगुराँस नगरपालिकाबाहेकमा गठबन्धन दलले तालमेल गरेर उम्मेदवारी दिएका थिए । कांग्रेसले लालीगुराँस नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत जितेको छ भने गठबन्धनकै कारण फेदाप र आठराई गाउँपालिकामा अध्यक्ष जितेको छ । कांग्रेसबाट मेन्छ्यायेम गाउँपालिकाको उपाध्यक्षमा गीतादेवी गौतम दोहोरिएकी छिन् ।

जिल्लाभर एउटा वडा सदस्यमात्रै जितेको नेकपा एकीकृत समाजवादीले भने गठबन्धनमा सहमति गर्दा जिल्ला समन्वय समितिको प्रमुख नै पाएको थियो । ‘त्यो बेला समन्वय समितिको प्रमुख नेकपा एसलाई दिने निणर्य भयो,’ ती नेताले भने, ‘त्यसको कारण भनेको संघमा कांग्रेस र प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारी दिने गरी भएको सहमति हो ।’

तर, हालै भने जिल्लामा नेकपा एसले प्रदेशसभातर्फ एउटा क्षेत्र पाउनुपर्ने दाबी गरिरहेको छ । स्वास्थ्यमन्त्री खापुङले आफूले चुनाव नलड्ने, तर कार्यकर्ताको संरक्षण हुने गरी एउटा क्षेत्र पाउनुपर्ने दाबी गर्न थालेका छन् ।

गठबन्धनका अन्य नेताहरूले भने जिल्लाको सहमति विपरीत हुने भन्दै त्यस्तो गर्न नमिल्ने अडान लिएका छन् ।

सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा अहिले छलफल चलिरहेको छ । प्रतिनिधिसभा सदस्यतर्फको एक सिट कांग्रेसले लिने सहमति भइसकेको छ भने प्रदेशसभातर्फका दुई सिटमध्ये प्रदेशसभा (क)मा कांग्रेस र नेकपा एसको दाबी छ । प्रदेशसभा (ख)मा भने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई (सचिन) उम्मेदवार बन्ने लगभग पक्का जस्तै भएको छ ।

प्रतिनिधिसभा सदस्यकालागि कांग्रेसबाट नेता तुलसी सुब्बा र सीता गुरुङ टिकटकालागि लबिङ गरिरहेका छन् । २७ वर्षमै सहायकमन्त्री भइसकेका सुब्बा ०६४ को संविधानसभामा सदस्य थिए । उनी आफ्नो अन्तिम अवसर भएकाले आफूले टिकट पाउनुपर्ने दाबी गरिरहेका छन् ।

पार्टीको केन्द्रीय सदस्य रहेकी गुरुङ भने आफू अघिल्लो निर्वाचनमा पराजित भएको घाइते भएका कारण टिकटको स्वभाविक दाबेदार भएको बताउँदै आएकी छिन् । ०६४ र ०७० मा समानुपातिकबाट सांसद बनेकी गुरुङ ०७४ मा भने प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन् ।

०६४ मा सुब्बासँग पराजित भएका तत्कालिन नेकपा एमालेमा रहेका स्वास्थ्यमन्त्री खापुङले ०७० र ०७४ मा जिल्लाबाट चुनाव जितेका थिए । ०७० मा उनले सुब्बालाई जितेका थिए भने ०७४ मा गुरुङ खापुङसँग पराजित भएकी थिइन् ।

एमाले विभाजित हुँदा खापुङ हाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।

कांग्रेसबाट उम्मेदवार बन्ने आकांक्षी रहेका सुब्बा नेता शेखर कोइराला समूहका हुन् भने गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन् ।

नेताहरूकाअनुसार यहाँबाट प्रतिनिधिसभा सदस्यको सिट नेपाली कांग्रेसले पाउने निश्चित जस्तै भएपनि सुब्बा वा गुरुङ कसले टिकट पाउने भन्ने निश्चित छैन । कांग्रेसभित्रको भागबण्डामा तेह्रथुम देउवा आफैँले राखे गुरुङले टिकट पाउनेछिन् भने कोइरालाको भागमा परे सुब्बाले टिकट पाउनेछन् ।

जिल्लाकै कांग्रेस नेताहरू भने सुब्बा र गुरुङमध्ये एक जना समानुपातिकतर्फ र एक जना प्रत्यक्षतर्फ उम्मेदवार बनेको अवस्थामा जिल्लाबाट चुनावी परिणाम हात पार्न सहज हुने बताउँदै आएका छन् ।

प्रदेशसभातर्फ भने (क) क्षेत्रमा कांग्रेसबाट पूर्वसचिव सन्तोष सुब्बा र नेता कमल ढुंगाना टिकटका दाबेदार छन् । संघ र प्रदेश क्षेत्रमा कांग्रेसभित्रको शक्ति समीकरण मिलाएर टिकट वितरण हुने नेताहरूको अनुमान छ । ‘संघ संस्थापनले पाए प्रदेश कोइराला समूहले पाउने हो । संघ कोइराला समूहले लिए प्रदेश संस्थापन पक्षबाट उम्मेदवार हुने सम्भावना छ,’ एक नेताले भने ।

जिल्लाका वडाध्यक्षको मतको आधारमा गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । जिल्लामा एमालेका वडाध्यक्षले ल्याएको मत २२३१२ छ भने कांग्रेस उम्मेदवारले पाएको मत २२४६५ छ । माओवादी केन्द्रले ६९५, राप्रपाले ६२, जसपाले २८, लिम्बुवानले ३६५ र स्वतन्त्रले ६४१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया