काठमाडौं । राज्यका सबै निकायमा मधेशी दलित समुदायको प्रतिनिधित्व शुन्य रहेकोले सञ्चार क्षेत्रले प्राथमिकता साथ मुद्धा उठान गर्नुपर्ने सहभागीले बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्था मधेशी दलित समुदायको उचित तरिकाबाट प्रतिनिधित्व हुन नसकेको सहभागीले बताएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभामा मधेशी दलित समुदायको प्रतिनिधित्व न्यून रहेको छ । प्रतिनिधिसभा १६ दलित मध्ये १ जना मात्र मधेशी दलितको सहभागिता रहेको छ भने राष्टियसभामा ७ जना मध्ये ५ जना पहाडी दलित रहेका छन् ।

त्यसैगरी प्रदेशसभामा समानुपातिकतर्फ जम्मा २ सय २० जना रहेका छन् । जसमध्ये ३३ जना दलित समुदायको प्रतिनिधित्व रहेकोमा ७ जना मात्र मधेशी दलितको सहभागिता रहेको छ ।

जागरण मिडिया सेन्टरको आयोजनामा मधेशी दलित र समानुपातिक प्रतिनिधित्व विषयक अन्तरक्रिया कार्यक्रममा अधिवक्ता अधिवक्ता रक्षाराम हरिजनले जिल्ला, उच्च तथा सर्वोच्च अदालतमा न्यायधिश सिफारिसमा दलितको प्रतिनिधित्व शुन्य रहेको बताए ।

राजदुत नियुक्ति देखि दलित आयोगमा समेत मधेशी दलितको सहभागिता शुन्य हुनुलाई सरकार सम्वेदनशिल हुन नसकेको उनको दावी थियो । प्रतिनिधि, प्रदेशसभा र राष्ट्रियसभामा मधेशी दलितको सहभागीता न्यून हुनु दल र निर्वाचन आयोगको गैरजिम्मेवारीपूर्ण व्यवहार रहेको अधिवक्ता हरिजनले बताए ।

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले मधेशी दलित समुदायको प्रतिनिधिसभामा प्रतिनिधित्व न्यून रहेकोले बढाउनु नीतिगत व्यवस्था गर्न खाचो रहेको बताए । उनले मधेशी दलितको समुदायको राज्यका हरेक तहतप्कामा नेतृत्व सहितको प्रतिनिधित्व आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले कुल जनसंख्याको करिब १४ प्रतिशत जनसँख्या रहेपनि ९ प्रतिशत मात्र दलितलाई आरक्षण व्यवस्था हुँदा खसआर्यलाई फाइदा भएको बताए । उनले सूचनाको पहुँच र शिक्षामा कमजोर हुँदा राज्यको हरेक तहमा सहभागिता प्राप्तिमा समस्या देखिएको बताए ।

त्यसैगरी दलित पत्रकार संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले दलित समुदायका राजनैतिक प्रतिनिधित्वका लागि निरन्तर दबाबका कार्यक्रम आवश्यक रहेको बताए । पछिल्ला वर्षमा समावेशीकरणका सवालमा राजनैतिक दलहरु सम्वेदनशील नभएको उनको टिप्पणी थियो ।

जागरण मिडिया सेन्टरका महासचिव भीम बहादुर घिमिरले दलित तथा सीमान्तकृत समुदायका मुद्धा पछिल्ला वर्षहरुमा ओझेलमा परिहेकोले खबरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा पत्रकार राजकरण महतो, केशव भूल, शुशिल दर्नाल र धना विश्वकर्मा लगायतले समानुपातिक समावेशीकरणमाथि सबै क्षेत्रबाट आक्रमण भइरहेकोले सजग हुनुपर्ने बताए । कार्यक्रमको अध्यक्षता जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा र मिडिया अधिकृत कृष्ण दर्नालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया