संखुवासभा प्राकृतिक स्रोतका लागि उर्बर जिल्ला हो। तर, ती स्रोतहरू दोहन अर्थात उपयोग हुन सकेका छैनन्। त्यसैले हो, बेरोजगारी समस्यामाथि हामीले विजय पाउन नसकेको पनि। त्यसैले त अहिले युवा पुस्तालाई आयआर्जनसँग जोड्न ‘गरिखाने अभियान’मा आबद्ध गराइरहेका छौं। ता कि एक दिन यस्तो आओस्, अब कोही बेरोजगार छैन भन्‍न सकिने होस्। हाम्रो लक्ष्‍य त्यही मार्गमा हुनुपर्छ अब।

संखुवासभाको मुख्य सम्भावना भनेकै यहाँको प्राकृतिक स्रोत हो। त्यसमा पनि जलस्रोतमा धनी छ, संखुवासभा। जलविद्युत आयोजना निर्माणमा सहुलियत दिएको छ। र, त्यसको अधिकतम उपयोग गरेरै संखुवासभालाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने प्रचुरता छ। अहिले नै पनि अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुलीबाट प्राप्त हुने दुई सय मेगावाटबाट २५ प्रतिशत आम्दानी सीधा संखुवासभामा आउनुपर्छ भनेर हामी लागिपरेका छौं।

 

अब बन्‍ने आयोजनाहरू जसले बनाए पनि संखुवासभाका बासिन्दाले २० लाख कित्ता इक्विटी सेयर प्राप्त गर्न पाउनुपर्‍यो। ५, ७, १० लाख कित्ता जति भए पनि संखुवासभाका बासिन्दाले जलविद्युतको मालिक बन्‍न पाउनुपर्‍यो।

 

अब बन्‍ने आयोजनाहरू जसले बनाए पनि संखुवासभाका बासिन्दाले २० लाख कित्ता इक्विटी सेयर प्राप्त गर्न पाउनुपर्‍यो। ५, ७, १० लाख कित्ता जति भए पनि संखुवासभाका बासिन्दाले जलविद्युतको मालिक बन्‍न पाउनुपर्‍यो। पैसा हुनेले त पैसा नै हाल्छन् तर नहुनेले पनि त्यो सेयरमा सहभागी हुन पाउनुपर्‍यो। राज्यले पैसा नहुने नागरिकलाई त्यसबराबरको ऋण दिनुपर्‍यो। त्यो ऋण त्यही परियोजनाको आम्दानीबाट उसले तिर्न सकोस्। एउटा सामान्य गिटी कुट्ने मानिसले पनि प्रोजेक्ट मालिक बन्‍न पाउनुपर्छ।

सरकारले प्रमाणपत्र धरौटी राखेर नागरिकलाई ऋण दिन खोजिरहेको छ भने यति राम्रो परियोजनाका लागि नागरिकलाई कर्जा नदिने भन्‍ने हुँदैन। त्यसबाट संखुवासभाका बासिन्दा गरिबीबाट माथि उठ्न पाउने छन्।

अप्पर अरुण, अरुण-५, लोअर अरुणलगायत जलविद्युत आयोजनाहरू निर्माण शुरु हुने क्रममा छन्। ती सबै आयोजनामा संखुवासभाका बासिन्दाको पनि लगानी रहनुपर्छ। र, उनीहरूले पनि त्यसबाट लाभ हासिल गर्ने छन्। जिल्लावासीको सेयरमा यी आयोजनाहरू निर्माण हुन जरुरी छ।

तिनै आयोजनाहरूमा प्रशस्त रोजगारीका अवसर सिर्जना हुने छन्। गिटी कुट्नेदेखि मजदुरी गर्नेसम्मका रोजगारी सिर्जना हुने छन्। संखुवासभामा ४-५ वटा ठूला जलविद्युत आयोजनाहरू निर्माण हुने क्रममा छन्। ढिलोमा १० वर्षभित्र ती आयोजनाहरूले विद्युत उत्पादन थाल्ने आकलन गर्न सकिन्छ।

तिनै आयोजनाहरूबाट जिल्लामा भित्रिने आम्दानीमार्फत संखुवासभाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा हामी फड्को मार्नेछौं। स्पष्‍ट योजनाका साथ तयार पारिएको यस्तो विकासको खाकाले गरिबी र बेरोजगारीमाथि विजय प्राप्त हुनेछ।

संखुवासभाले कुल पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ। यसलाई परिचालन गर्न पाउनुपर्छ। पाँचदेखि १० मेगावाटका साना आयोजनाहरू उत्पादनको चरणमा छन्। सय मेगावाटभन्दा माथिका ‘अपर अरुण’जस्ता आयोजना पनि निर्माणको योजनामा छन्। यस्तै, निजीक्षेत्रको लगानीमा करिब सय वटा जलविद्युत आयोजना निर्माणको क्रममा छन्।

संखुवासभाको अर्को सम्भावना हो, किमाथाङ्‍का सडक। भारत सीमाको जोगवनीबाट सीधा चीन सीमाको किमाथाङ्‍का जोड्ने यो सडकको ट्र्याक लगभग जोडिने क्रममा छ। बीचमा पुगेर यसको काम अड्किएको छ। भीरमा सडक तयार पार्न नेपाली सेनालाई जिम्मा दिइएको छ। माथिबाट चीनको सीमादेखि १३ किलोमिटरजति ट्र्याक तयार भइसकेको छ। तल्लो भेगबाट पनि ट्र्याक तयार भएको छ। र, अब भीरबाट सडक तयार हुनासाथ किमाथाङ्‍का सडक स्तरोन्‍नतीको चरणमा प्रवेश गर्नेछ।

 

संखुवासभाको अर्को सम्भावना हो, किमाथाङ्‍का सडक। भारत सीमाको जोगवनीबाट सीधा चीन सीमाको किमाथाङ्‍का जोड्ने यो सडकको ट्र्याक लगभग जोडिने क्रममा छ। बीचमा पुगेर यसको काम अड्किएको छ। भीरमा सडक तयार पार्न नेपाली सेनालाई जिम्मा दिइएको छ।

 

यसलाई दुई वर्षभित्र जोडिसक्ने लक्ष्‍यका साथ काम भइरहेको छ। र, त्यसपछि स्तरोन्‍नती गर्दै भारत र चीनसँगको छोटो दूरीको व्यापार गर्न संखुवासभा तयार हुनेछ। भारत र चीनलाई जोड्ने यो सबैभन्दा द्रुत गतिको सडक पनि हुनेछ। यसमार्फत प्रचुर मात्रामा आम्दानी र रोजगारी सिर्जना हुनेछ। समुद्री मार्गबाट २२-२३ दिन लाग्ने आयात-निर्यात त्यसपछि तीन दिनमै सीमित हुनेछ। भारत र चीनले पनि यस मार्गबाट व्यापार गर्दै लाभ उठाउन पाउने छन्। संखुवासभाका हरेक उत्पादनले भारत र चीनको बजार पाउने छन्।

व्यापारिक हिसाबले संखुवासभाले चीन र भारत दुवैतिर व्यापार गर्न सक्ने प्रचुरता छ। अब जिल्लाका स्थानीय सरकारहरूले भविष्‍यमा अन्तर्राष्‍ट्रिय व्यापारका लागि आ-आफ्ना इलाकामा कस्ता वस्तु उत्पादन गर्ने भनेर योजना बनाउनुपर्छ। अहिले नै पनि मझौला खालका उद्योगहरू संखुवासभामा आउन सक्छन्। विस्तारै ठूला उद्योगहरू पनि स्थापना गर्न सकिने सम्भावना नभएको होइन। भूगोलको हिसाबले पनि संखुवासभा लगानीका लागि उपयुक्त छ। हाम्रो जमिन नै यति उर्बर छ कि जे पनि उत्पादन गर्न सकिन्छ। तर, योजना बनाउन अब ढिलो गर्नु हुँदैन।

सँगसँगै पर्यटनका हिसाबबाट पनि ‘भर्जिन ल्यान्ड’ हो संखुवासभा। विश्‍वकै दुई ठूला जनसंख्या रहेका चीन र भारतका पर्यटकहरूलाई मात्र पनि संखुवासभामा ल्याउन सकियो भने हाम्रो समृद्धिको ढोका खुल्नेछ। पर्यटकको चहलपहलसँगै होटलहरूमा लगानी बढ्नेछ। ती होटलले जिल्लाकै कृषि उपज आगन्तुकलाई पस्किने छन्। अनि, त्यसबाट प्राप्त हुने आम्दानी सीधा किसानको घरदैलोमा पुग्नेछ।

विकासका निम्ति आतुर संखुवासभा एकदमै महत्वपूर्ण जिल्ला हो। यसले नेपाल, भारत र चीनलाई जोड्छ। आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले पनि एकदमै सम्भावना भएको जिल्ला हो यो। किमाथांका नाका हुँदै बाह्रैमास व्यापार गर्न सकिन्छ, त्यो पनि चीन, नेपाल र भारतबीच। चीनसँग जोडिएका अधिकांश नाकामा जाडोयाममा हिउँ जम्ने गर्छ, यातायातका साधन चलाउन सकिँदैन।

त्यति धेरै सम्भावनाका बावजुद ०७४ सालमा तत्कालीन एमालेका साथीले वाम सहकार्यका साथ चुनाव जित्‍नु भयो। तर, त्यसबाट लाभ होइन, संखुवासभाका बासिन्दाले ठूलो नोक्सानी बेहोर्नु परेको छ। यो पाँच वर्ष जिल्लामा विकास ठप्प रह्यो।

तत्कालीन प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा चक्रपथ निर्माणाधीन थियो। चक्रपथ तामाफोकसम्म पुगिसकेको थियो। ११० किलोमिटरको चक्रपथ निर्वाचन क्षेत्र ‘प्रदेश ख’को विकासको मेरुदण्ड बन्थ्यो। नेकपा सत्तामा आएपछि यो योजना रद्द गराइयो। अहिलेका सांसदले चक्रपथ निर्माणमा ध्यान दिनुभएन। शायद, उहाँहरूको क्षमताले भ्याएन होला, यति ठूलो र महत्त्वपूर्ण आयोजना।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ का अधिकांश ठाउँमा म हिँडेरै पुगेको थिएँ। र, मेरो प्रतिबद्धता विकास निर्माण नै थियो। संखुवासभा, मेरो आफ्नो जन्मस्थानमै राजनीतिमार्फत केही गर्नुपर्छ भन्‍ने सोच थियो।

२०७० सालपछिको चारवर्षे कार्यकालमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ का हरेक घरमा बिजुली पुर्‍याइयो, सडक निर्माण भयो। ०७४ सालमा पनि निर्वाचित हुन पाएको भए जिल्लाका सबै पालिकामा गाडी पुर्‍याउने लक्ष्‍य थियो। तर, अवरोध सिर्जना भयो।

मैले सभासद छँदा तत्कालीन भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र सचिव देवेन्द्र कार्कीलाई निजी खर्चमा हेलिकप्टरमा लिएर गई एकैदिनमा दुईवटा सडक शिलान्यास गराएको थिएँ, दुवै कालोपत्रे हुने थिए। एउटा सभाखोलाबाट लेगुवा जोड्ने सडक थियो। र, अर्को केवाँखोलाबाट माम्लिङ जोड्ने सडक थियो। दुवैमा क्रमशः ९४ र ६६ करोड बजेट थियो। अर्थ मन्त्रालयबाट बजेट स्वीकृत पनि भएको थियो। निर्वाचन आचारसंहिता लागू हुनु अघिल्लो दिन सभाखोला-लेगुवा सडकको टेन्डर स्वीकृत भयो। केवाँ-माम्लिङ सडकमा भोलिपल्टदेखि आचारसंहिता लागू भएकाले टेन्डर हुन सकेको थिए। त्यसपछि आएको सरकारले केवाँ-माम्लिङ सडक कालोपत्रे योजना रद्द गरिदियो। नोक्सानी बेहोर्नुपर्‍यो संखुवासभाले।

यस्तै, स्वास्थ्यक्षेत्रमै पनि हरेक पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्ने निर्णय भएको थियो। नेकपाको सरकारका पालामा १५ को साटो पाँच शय्या कायम गरियो। विकासमा पनि विभेद देखियो। नेकपाका साथीहरूले जितेका पालिकामा १५ शय्या नै कायम गरियो। कांग्रेसले जितेका पालिकामा पाँच शय्या मात्र दिइयो।

मैले ०७० सालपछि दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा रिङरोड निर्माण थालेको थिएँ। तर, तत्कालीन नेकपा सरकारले यी दुवै परियोजना खारेज गरिदियो। एउटा केवाँ बगरबाट आँखिभुईं, माम्लिङ, तामाफोक, मादी मुलखर्क र मादी राम्बेनी हुँदै चैनपुर निस्किन्छ। चैनपुरबाट पाँचखपन जान्छ र त्यहाँबाट सभाखोलाको पुलमा टुंगिन्छ। ११० किलोमिटर लामो छ, यो सडक। यो सडक पूरा गर्नुछ। सर्वेको काम सकिएको छ, अब लिंक रोड पूरा गर्नुछ। त्यसबाट प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का सबै वडाले लाभ उठाउन पाउने छन्।

 

हालको सिलिचोङ गाउँपालिका टापुजस्तो अवस्थामा छ अझै। सुदूर उत्तरका साविक सिसुवाखोला, बाला, माङ्तेवा, ताम्कु र याफु गाविस समेटिएको यो गाउँपालिका पुग्न अरुण नदीमा पुल नभएकाले विकासमा पिछडिएको छ। यो गाउँपालिकालाई जोड्न पुल निर्माण अगाडि बढाउनु छ।

 

यस्तै, हालको सिलिचोङ गाउँपालिका टापुजस्तो अवस्थामा छ अझै। सुदूर उत्तरका साविक सिसुवाखोला, बाला, माङ्तेवा, ताम्कु र याफु गाविस समेटिएको यो गाउँपालिका पुग्न अरुण नदीमा पुल नभएकाले विकासमा पिछडिएको छ। यो गाउँपालिकालाई जोड्न पुल निर्माण अगाडि बढाउनु छ। उत्तरी क्षेत्र जोड्न अर्को रिङरोडको अवधारणामा पनि काम भइरहेको छ।

संखुवासभामा योगमाया आयुर्वेदिक विश्‍वविद्यालय निर्माणको प्रक्रिया शुरु भएको छ। यसमा योग तथा आयुर्वेद विषयमा पढाइ हुनेछ। यसलाई स्थापित गर्नुछ।

अर्को भूमि बैंकको अवधारणामा पनि काम भइरहेको छ। निर्वाहमुखी कृषिलाई व्यावसायीकरण गर्नुछ। हामीसँग प्रशस्त उर्बर जमिन छन्। तिनमा नगदे बालीमा जोड दिएर कृषकको आय आर्जन बढाउने दिशामा काम गर्ने छौं। त्यसो गर्न सक्दा संखुवासभा नमूना जिल्लाको रूपमा स्थापित हुन सक्नेछ।

अहिले तुम्लिङटारमा मात्र विमानस्थल छ। मौसमका कारण उडान रद्द भइरहने समस्या छ। त्यसको विकल्पमा चैनपुर र सिद्धकालीको बीचमा अर्को विमानस्थल निर्माणको योजना छ। त्यहाँ मौसमका कारण उडान रद्द हुने समस्या हुने छैन।

शुद्ध खानेपानी घर-घरमा पुर्‍याउन काम भइरहेको छ। लिफ्ट प्रविधिमार्फत धमाधम खानेपानी पुर्‍याउँदै छौं। चैनपुरमा काम अगाडि बढेको छ। धर्मदेवी नगरपालिकामा काम सकिने चरणमा छ। खाँदबारीमा पनि काम भइरहेको छ। सिलिचोङ गाउँपालिकामा पनि खानेपानी पुर्‍याउने योजनामा छौं।

जडीबुटी उत्पादनको असीमित सम्भावना छ, संखुवासभामा। योगमाया विश्‍वविद्यालय स्थापना भएपछि अन्तर्राष्‍ट्रिय विद्यार्थीहरू अध्ययनका लागि आउन सक्छन्, चीन, भारतलगायत देशका। पाँच वर्षमा समृद्ध संखुवासभा बनाउने अभियानमा छौ। एक दिन यस्तो दिन आउने छ, मानिस संखुवासभाको नागरिकता बोक्न लालायित हुनेछन्।

तपाईको प्रतिक्रिया