मोराहाङमा माघेनी मेला सुरु
तेह्रथुम । माघे सक्रान्ति पर्वको अवसरमा सोमबार मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुङ्गा खोला किनारमा रहेको गौखुरी भनिने गाईखुरी धाममा भक्तजन्को घुँइचो लागेको छ । खोरुंगा खोलामा मकर नुहाउने र गौखुरी माताको दर्शन गरी माघेनी मेलामा रमाउन जिल्लाका विभिन्न गाउँसँगै छिमेकी जिल्लाबाट समेत सयौँको संख्यामा भक्तजन्हरु आएका छन् । विहान साढे पाँच बजेबाटै लाइनमा बसिसकेका भक्तजन्हरुले साँझ पाँच बजेसम्म पनि लाइनमै बसेर दर्शन गरेका थिए ।
मोराहाङमा माघे सक्रान्तिकै अवसर पारेर माघेनी मेलापनि सुरु भएको छ । खोरुंगा खोलामा मकर नुहाएर गाईखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन साथै सांस्कृतिक, खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु सहित माघेनी मेला सुरु भएको हो ।
माघे सक्रान्तिका दिन तेह्रथुम सहित धनकुटा, संखुवासभा र पाँचथरबाट समेत भक्तजन्हरु आएर गाईखुरी माताको दर्शन गरेको पुजारी लोकनाथ पोखरेलले बताउनुभयो । सोमबार मात्रै पाँच हजार बढी भक्तजन्ले दर्शन गरेका उनले बताए । धामको बाहिरी भागबाट करिब ३५ मिटर लामो ओडारभित्र पसेर मात्र गौमाताको दर्शन पाइन्छ । मानिसहरु गाईखुरी माताको दर्शन गर्ने र माघे संक्रान्तिको मुख्य भोजन तरुल, सेलरोटी लगायत खाने र घर फर्कने गर्दछन् ।
अरु महिना खासै दर्शनार्थी नआउने धाममा माघे संक्रान्तिका दिन भने विशेष भीड लाग्ने गरेको छ । गाईमाताको दर्शन गरे चिताएको पुग्ने तथा मागेको कुरा प्राप्त गरिने किंवदन्ती छ । खोलाको किनारामा रहेको धामको दर्शनका लागि आउने दर्शनार्थीको सहजताकालागि माघेनी मेला व्यवस्थापन गर्दै आएको स्थानीय गौखुरी युवा क्लबले स्वयंसेवक परिचालन गरेको छ । भक्तजन्हरुको व्यवस्थापनका लागि स्थानीय प्रहरी चौकी समेतको सहकार्यमा स्वयम्सेवकहरु परिचालन गरिएको क्लबका अध्यक्ष खगेन्द्रमणी सम्बाहाम्फेले बताउनुभयो ।
धाम परिसरमा सोमबारै गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाले धार्मिक झाँकी प्रदर्शन तथा भजनकीर्तन कार्यक्रम गरेको छ । मेन्छ्यायेम गाउँपालिकाको सहयोगमा गरिएको कार्यक्रममा लोक संस्कृति झल्किने बालन, संगिनी सहित धार्मिक झाँकीहरु, भजन कीर्तन नृत्य तथा नाटक प्रदर्शनी गरिएको थियो । विभिन्न ३३ वटा समुहले सहभागी जनाएको कार्यक्रममा सबैलाई एक–एक हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिएको संस्थाकी व्यवस्थापक सविता भट्टराईले बताउनुभयो ।
कार्यक्रम गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाकी अध्यक्ष पुष्पा गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । मोराहाङमा मंगलबारबाट माघेनी मेला अन्तर्गत खेलकूद र मनोरन्जनात्मक कार्यक्रम हुँदैछन् । सम्पुर्ण तयारी पुरा गरिएको आयोजक क्लबका अध्यक्ष सम्बाहाम्फेले बताउनुभयो ।