काठमाडौं । नेपाल प्रहरीले ड्युटीको समयमा मोबाइल बोक्न रोक लगाएको छ । प्रहरी मोवाइलमा भुल्दा प्रहरीबाट गल्तीहरु भएको भन्दै प्रहरी प्रधान कार्यालयले मोबाइल प्रयोगमा रोक लगाइएको हो ।

उपत्यकाका कारागार कार्यालयहरुमा ड्युटीको समयमा कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको कारागारक सुरक्षा हेर्ने अनाश्रित गुल्मका डिएसपी कुमारविक्रम थापाले बताए। मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको उनको भनाइ छ ।

‘ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ,’ नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन्, ‘यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन्।’ खासगरी लामो समय सडकमा खटिने ट्राफिक प्रहरीमाथि मोबाइल प्रयोगको आरोपमा धेरै छानबिन भएको छ।

प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीलाई ड्युटीको समयमा मोबाइल प्रयोग नगर्न परिपत्र गर्दै आएको छ । ‘सबैलाई जस्तै प्रहरीलाई पनि फेसबुक, टिकटक र युट्युबले भुलाउने भएकाले ड्युटीमा मोबाइल प्रयोग रोकेका हौँ,’ प्रहरी प्रवक्ता राईले भने, ‘कसैले प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ।’

उनका अनुसार ड्युटीमा मोबाइल प्रयोग गर्नेलाई पहिलोपटक सचेत गराउने र दोस्रोपटक नसिहत दिने गरिएको छ । अहिले पनि यस्तो घटनामा छानबिन चलिरहेको उनले बताए। सामाजिक सञ्जाल प्रयोगदेखि मोबाइलमा व्यस्त हुँदा पुलिसिङमा त्रुटि हुने गरेको छ।

तपाईको प्रतिक्रिया