काठमाडौं । राजनीतिक जीवनकै आखिरीतिर पुगेका कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने घोषणा गरिसकेका छन्।

उनले आसन्न संसदीय चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम प्रतिस्पर्धा भनेर सार्वजनिक घोषणासमेत गरिसकेका छन् । ०७४ को निर्वाचनमा पराजित बनेका पौडेलले भदौ ३ मा गृहनगर दमौलीमा स्थानीय सञ्चारकर्मीसँग भनेका थिए, ‘म एक पटक चुनाव जितेर मर्न चाहन्छु।’

पार्टीको चौधौं महाधिवेशनबाट पौडेलको राजनीतिक मैदान साँघुरिँदै गएको छ। तर उनी संसदीय निर्वाचन जितेपछि प्रधानमन्त्रीको सम्भावित अवसर छोप्न सकिने आशामा छन्। पार्टीको महाधिवेशनका बखत भने उनले सक्रिय राजनीतिबाट अलग हुन चाहेको सन्देश दिएका थिए। सभापति बन्ने लक्ष्यमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह तगारो बनेको भन्दै उनी नेतृत्वको प्रतिस्पर्धामा कतै खुलेनन्। भोटसमेत हालेनन्। जसको लाभ आफैंले नेतृत्व लिएको समूहलाई नभएर शेरबहादुर देउवालाई मिल्यो।

महाधिवेशनका बेला बोहोराटार नै पुगेर देउवाले ‘मुलुकलाई तपाईंको योगदान अझै आवश्यक छ, स्वास्थ्य ठीक पारेर राख्नुहोस्’ भनेका थिए। त्यसलाई पौडेलले प्रधानमन्त्री पदसँग जोडेर हेर्ने गरेका छन्। प्रधानमन्त्री भएर सिंहदरबारमा फोटो टाँस्ने उनको रहरमा भने आफ्नै राजनीतिक दौंतरी देउवा नै बाधक बन्ने देखिन्छ।

‘प्रधानमन्त्रीमा आफूबाहेक विकल्प शेरबहादुर दाइले अरू कसैलाई देखेजस्तो लाग्दैन,’ देउवानिकट एक नेता भन्छन्, ‘यसैका निम्ति त गठबन्धन जोगाउने महाकसरत चलिरहेको हो।’ उनका अनुसार पौडेललाई राष्ट्रपतिका लागि अघि सार्ने सम्भावना भने छ। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिन कांग्रेस निर्वाचनबाट पहिलो दल भएर मात्रै पुग्दैन, संसद्मा बलियो उपस्थिति देखिनुपर्छ।

राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न संसदीय चुनाव जितिरहनु पर्दैन। कतिपय नेताले पौडेललाई समानुपातिकमा बसेर पार्टीको निर्वाचन रणनीति परिचालन गर्न र राष्ट्रपतिमा अघि सर्न सुझाउने गरेका छन्। तर, पौडेल त्यस्तो सुझाव मान्न तयार छैनन्। ‘म एक पटक हारेकै निर्वाचन क्षेत्रबाट चुनाव लडेर मर्न चाहन्छु,’ उनी भन्ने गर्छन्।

तनहुँमा संविधान जारी गर्नुअघिसम्म तीन निर्वाचन क्षेत्र थिए। पौडेलले ०४८ सालमा १ र त्यसपछि ०७० सम्म २ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए। संविधान जारीपछि निर्वाचन क्षेत्र २ वटामा सीमित भयो। पौडेलले तनहुँ–१ रोजे । उनीसँग प्रतिस्पर्धा गर्न एमालेले व्यापारिक पृष्ठभूमिका कृष्णकुमार (किसान) श्रेष्ठलाई अघि बढायो। ०४८ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आएका पौडेलको संसद्को यात्रा उनैले ब्रेक लगाइदिए। श्रेष्ठले पौडेललाई ६ हजार ८ सय २ को मतान्तरले हराए। श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन्।

गठबन्धनका अन्य दलले ०७४ मा जितेका सिट सुरक्षित राख्न खोजेका छन् तर पौडेलले उम्मेदवार बन्ने घोषणा गरेपछि त्यहाँ गठबन्धनका अन्य दलको दाबी रहने देखिँदैन। श्रेष्ठलाई तनहुँबाहेक अन्य जिल्लामा उम्मेदवार बनाउने सम्भावना छ। पौडेलका लागि चुनौती गठबन्धनको भन्दा कांग्रेसभित्रकै हुने देखिन्छ। तनहुँ–१ यसअघि गोविन्दराज जोशीले चुनाव लड्दै आएको क्षेत्र हो।

०४८ सालदेखि नै सत्ता र पार्टी राजनीतिको प्रतिस्पर्धामा एकले अर्कालाई ‘सिध्याउने’ बाटोमा हिँडेका यी दुई नेताबीच अहिले पनि पानी बाराबार छ। पौडेललाई हराउन ०७४ मा जोशी आफैं स्वतन्त्र उम्मेदवार बनेका थिए।

अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारण देखाएर पौडेल आफैंले उजुरी दिएपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदियो। त्यसपछि पनि जोशी पौडेललाई हराउन र एमाले उम्मेदवारलाई जिताउन लागेको आरोप छ। त्यही आरोपमा उनले कारबाहीसमेत भोगिरहेका छन्।

गत स्थानीय चुनावमा जोशीले छोरा दीर्घराज जोशीलाई व्यास नगर प्रमुखमा कांग्रेसविरुद्ध उतारेका थिए। कांग्रेसका वैकुण्ठ न्यौपानेले थोरै मतान्तरले मात्र जिते। जोशी पुत्रलाई एमालेले समर्थन गरेको थियो। आगामी संसदीय चुनावमा पनि पौडेलविरुद्ध जोशी र एमालेबीच तालमेलको चर्चा सुरु भइसकेको छ।

अबको चुनावमा पनि जोशीको भूमिका पौडेलका लागि भारी पर्ने देखिन्छ। जोशीले केही दिनअघि आफैं उम्मेदवारी हुने घोषणा गरिसकेका छन्। पुराना नजिर कायम राखेर उनको उम्मेदवारी खारेजी गरिदिए पनि विकल्पमा उनले अर्को उम्मेदवार खडा गर्न सक्ने जिल्लाका कांग्रेस नेताहरू बताउँछन्।

पौडेलले भने यस पटक एमालेभित्रको विभाजन र गठबन्धनको बलबाट सहजै चुनाव जित्ने विश्वास गरेका छन्। स्थानीय तहको चुनावी परिणामले पनि पौडेलको विश्वासलाई बल त दिन्छ तर जोशीको भूमिका र कांग्रेसभित्रै हुन सक्ने अन्तरघातका कारण जोखिम आउन सक्ने स्थानीय कांग्रेसजन बताउँछन्।

तपाईको प्रतिक्रिया