तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मोराहाङमा रहेको गौखुरी महिला बहुउदेश्य सहकारी संस्थाको पुँजी ७० लाख नाघेकोे छ । महिलाहरु मात्र सम्मिलित यो सहकारीले आर्थिक वर्ष २०७३÷०७४ सम्म ७३ लाख ७४ हजार रुपैयाँ बढीको कारोबार गरेको सहकारीका अध्यक्ष पुष्पा गौतमले बताउनुभयो ।

महिलाहरुले सामुहिक रुपमा नेतृत्व बिकाससँगै सामुहिक सहकार्यमा जुट्ने उदेश्यका साथ स्थापना गरेको संस्थाका शेयर सदस्यहरुले स्थापना कालमा १० रुपैया बचत गर्दै आएका थिए । संस्थामा शेयर सदस्यहरुको संख्या बढेपछि सहकारी सञ्चालन सहजताका लागी बस्ती बस्तीहरुमा समुह बनाएर सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ ।

घरखर्च चलाउन साहुको हात माग्न पुग्ने गरेका यहाँका महिलाहरुको समस्या सहकारी मार्फत समाधान भएको छ । सहकारीले अहिले आफ्नै भवन समेत बनाएको छ । तत्कालिन जिल्ला विकास समितिको ३ लाख, महिला तथा बालबालिका कार्यालयको २ लाख र समाजसेवी राधिका पोखरेलबाट ५० हजार रुपैयाँ सहयोगमा २१ लाख रुपैयाँको भवन निर्माण गरिएको सहकारीका सचिव गीतादेवी गौतमले बताउनुभयो ।

२०६४ सालमा २५ जना महिलाहरुले सुरु गरेको सहकारीमा अहिले मोराहाङका १ सय १३ समुहका ६ सय १९ जना महिला सेयर सदस्यको रुपमा आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया