काठमाडौं । सरकारले आगामी चुनावलाई लक्षित गर्दै १ अर्ब बढीका गाडी खरिद गर्ने भएको छ। अर्थ मन्त्रालयले गाडी खरिदका लागि १ अर्ब १२ करोड ५० लाख रुपैयाँ स्वीकृति दिएको हो।

अर्थमन्त्रालय स्रोतका अनुसार ५० लाख रुपैयाँका दरले गाडी खरिद गर्न मागभन्दा निक्कै कम बजेट स्वीकृत भएको छ।

उक्त बजेटबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयका लागि गाडी खरिद गरिने छ।

यी निकायका लागि गाडी खरिद गर्न गृह मन्त्रालयले ५ अर्ब ८४ करोड ७ लाख रुपैयाँ माग गरेको थियो। गाडी खरिदका लागि ३ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ माग गरेको नेपाल प्रहरीले ७५ करोड रुपैयाँ मात्रै पाउने भएको छ।

यो रकमले डेढ सय वटा गाडी खरिद गर्न सकिने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए।

गाडी किन्न आवश्यक बजेट नपाएसँगै प्रहरीले निर्वाचनमा भाडाका गाडी प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए।

‘प्रहरीलाई आवश्यक ड्युटीका लागि गाडी पुग्दैन, यसअघि स्थानीय तहको निर्वाचनमा पनि भाडाका गाडी प्रयोग गरेका थियौँ आगामी चुनावमा पनि भाडामा लिएर काम चलाउनु पर्ने हुन्छ’, डीआईजी राईले नेपालखबरसँग भने।

सशस्त्र प्रहरीले पनि १ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ गाडी किन्न माग गरेको थियो। गृह मन्त्रालय, जिल्ला प्रशासन र इलाका प्रशासनका लागि ५४ करोड मागिएको थियो।

तपाईको प्रतिक्रिया