भीमकुमार बाँस्कोटा,

पाँचथर । पाँचथरको कुम्मायक गाँउपालिका ५ र तेह्रथुमको म्याङलुङ नगरपालिकाको बीचमा पर्ने तमोर नदीको लुमुघाटमा पक्की पुल निर्माणको काम अलपत्र अवस्थामा छ ।

काम सुरु भएको ११ बर्षमा जम्मा चार वटा पीलर मात्र निर्माण भएका छन् । काम गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी ‘स्वच्छन्द निर्माण सेवा’को लापरबाहीले तीन बर्षमा सम्पन्न गर्नुपर्ने काम दशक बितिसक्दा आधा मात्र भएको हो ।

२०६८ असार २६ गते सडक विभाग मातहतको पुल सेक्टरसँग १७ करोड लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

एक सय १७ मिटर लम्बाई, तीन मिटर चौडाई र आठ वटा पिलर रहने उक्त पुलको काम दशक बितिसक्दा आधा मात्र भएको हो । अहिले पुल निर्माणको काम रोकिएको छ ।

पाँचथर सदरमुकाम फिदिमदेखि लुमुघाटसम्मको४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङदेखि लुमुघाटसम्मको १९ किलोमिटर सडक पाँच बर्ष पहिले नै सम्पन्न भईसकेको छ ।

पाँचथर र तेह्रथुमलाई दु्रत सडकमार्गबाट जोड्ने उद्धेस्यले पुल निर्माणको काम सुरु भएको थियो । निर्धारित समयमै पुल निर्माण हुन नसक्दा सवारी साधानहरु वारपार गुड्न पाएका छैनन् ।

निर्माण कम्पनीको चरम लापरबाहीमा सरकार मुकदर्शक बनेको स्थानीयको गुनासो छ । सरकारकै आडमा ठेक्केदारले काम गर्न अटेर गरेको हुनसक्ने स्थानीयहरुले शंका गर्न थालेका छन् ।

‘यतिका बर्षसम्म काम नगर्ने ठेक्केदार कम्पनीसँग सरकारले ठेक्का तोड्नुपर्ने हो,’ स्थानीय याम बुढाथोकीले भने ‘न हुन्छ काम, न तोडिन्छ ठेक्का ! ठेक्केदारलाई कारबाही समेत नभएको देख्दा सरकारकै संरक्षणमा काम नगरेजस्तो लाग्छ ।’ सरकारले सात पटकसम्म पुल निर्माणका लागि म्याद थप गरेको छ ।

तीन बर्षभित्रमा काम सक्नेगरी २०६८ सालमा सम्झौता गरेको ठेक्केदार कम्पनीले निर्धारित समयमा काम सुरुनै गरेको थिएन ।

पहिलोपटक म्याद थप गरेर काम सुरु गरेको कम्पनी लामो समयसम्म सम्पर्क बिहिन भएको थियो । ‘११ बर्षमा चार वटा पिलर मात्र निर्माण गरेर ठेक्केदारले काम गरेको छैन,’ स्थानीय गजेन्द्र थापाले भने ‘कहिलेकाँही आएर काम गरेजस्तो गर्छन्, फेरी हराउँछन् ।’

कोरोना महामारी र बाढिपहिरोको समस्या देखाउँदै निर्माण कम्पनी कामबाट पन्छिरहेको छ । ‘प्राकृतिक बिपत्तिका कारण समयमै काम गर्न नसकिएको हो,’ ठेक्केदार कम्पनीका प्रबन्धक निर्देशक जयराम लामिछानेले भने ‘बाहिर हल्ला भएजस्तो काम नै नभएको हैन ।

कामले गति लिएको छ । अब काम पुरा गर्छौँ ।’ मुख्य मुख्य काम सकिएकाले अब चाँडै सम्पन्न हुने ठेक्केदार कम्पनीको दावी छ ।

‘निर्माण कम्पनीको व्यापक लापरबाही छ,’ स्थानीय कुमार खड्काले भने ‘समयमै पुल निर्माण सम्पन्न नगरिदा पाँचथर र तेह्रथुमका सर्बसाधारण समस्यामा परेका छन् ।’ छिटो काम सम्पन्न गर्न ठेक्केदार कम्पनीलाई आफूले पटक पटक आग्रह गरेको कुम्मायक गाँउपालिकाका अध्यक्ष बम लावतीले बताए ।

‘अब चाडै सम्पन्न गर्ने भनेर बाचा गरेको छ,’ लावतीले भने ‘तर कामलाई गति भने दिएको देखिदैन ।’ निर्माण कम्पनीले आगामी असार सम्ममा काम सक्ने बचन दिएको लावतीको भनाई छ ।

तपाईको प्रतिक्रिया