काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरु चुनाव केन्द्रीत गतिविधितर्फ अग्रसर हुन थालेका छन् । प्रतिनिधिसभाको चुनाव करिब साढे दुई महिना बाँकी छ ।

चुनावी माहोल गर्माएसँगै महिला नेतृहरु पनि आ–आफ्नो चुनावी क्षेत्र रोज्न जुर्मुराएका छन् । धेरैले आफूले चुनावमा उठ्न लागेको क्षेत्र घोषणा गरिसकेका छन् । तर, केही कुन क्षेत्रबाट चुनाव उठ्दा उचित होला भनेर विश्लेषणात्मक दृष्टिबाट नियालिरहेका छन् ।

अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा पहिलोपटक ०७४ मा समानुपातिक कोटाबाट सांसद भइन् । स्वतन्त्र विद्यार्थी युनियनदेखि अन्य सबै चुनाव प्रत्यक्ष लडेर जितेकी उनी प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न चाहन्छिन् ।

२०७४ मा वाम गठबन्धनबाट काभ्रे १ माओवादीको भागमा परेकाले उनी उम्मेदवार बन्न पाइनन् । यसपटक उनी प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छिन् । पार्टीले जिम्मेवारी दिए आफू चुनावी मैदानमा गबठन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताउँछिन्, उनी ।

२०५४ सालमा एमाले विभाजन भएर माले गठन हुँदा रामकुमारी झाँक्री सक्रिय विद्यार्थी राजनीतिमा थिइन् । त्यसबेला उनी राजनीतिका आयामहरूलाई बुझ्दै थिइन् । त्यसैले आफ्नैभन्दा पनि निकट व्यक्तिहरूले राख्ने विचारका आधारमा उनी विभाजित भएर बनेको तत्कालीन मालेमा संलग्न भएकी थिइन् ।

मन्त्री बनिसकेकी झाँक्री अहिले एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको मूल नेतृका रुपमा छिन् । गत संघीय निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी यसपटक गुल्मीबाटै चुनाव लड्ने बताउँदै आएकी छन्।

सत्ता गठबन्धनसँग तालमेल गरेको नेकपा एसबाट उम्मेदवार बन्न पाउँदा उनले आफ्नै पूर्वसहकर्मी एमालेका नेतालाई पराजित गर्नुपर्नेछ।

यस्तै, प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने मनसाय गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु यसअघिको निर्वाचनमा पराजित भएकी थिइन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको कांग्रेस निकट स्रोतको भनाइ छ ।

२०७४ को चुनावमा एमाले नेता नारदमुनि रानासँग पराजित भएकी उनका लागि योपटकको चुनाव जित्न त्यति सजिलो छैन । राजनीतिक समीकरण ०७४ को जस्तो नभए पनि उनी कठिन मोडमा छन् । उनलाई पराजित गर्न कांग्रेसभित्रै ठूलो योजना बन्दै आएको छ । अघिल्लोपटक वाम गठबन्धन गरी एमाले र माओवादीले मिलेर चुनाव लड्दा कांग्रेस एक्लो थियो । अहिले ठीक विपरीत पाँच दलीय गठबन्धन भएपछि एमाले एक्लिएको छ ।

पाँच दलीय गठबन्धनका कारण यसपटक आरजुलाई चुनाव जित्न सजिलो हुने अनुमान गरिए पनि धनगढीमा पार्टीभित्रकै अन्तरकलहका कारण कांग्रेसको कमजोर प्रदर्शन देखिएको छ । जसको फाइदा एमालेलाई पुग्ने देखिन्छ ।

विद्यार्थी जीवनदेखि राजनीति गर्दै आएका कांग्रेस नेता पुष्करनाथ ओझाको स्थानमा आरजुलाई टिकट दिइएपछि ०७४ सालको चुनावमा ओझा मौन बसे । त्यसपछि चुनावमा आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्‍यो ।

उक्त कारवाही पाँच वर्षका लागि गरिएको थियो, जुन अहिले पनि फुकुवा भएको छैन । कारवाहीमा परेका ओझा अहिले आफैं स्वतन्त्र रुपमा निर्वाचन लड्ने तयारीमा छन् ।

विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफू काठमाडौं ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने आधिकारिक रुपमा जानकारी गराएकी हुन् । यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पनि हो । यसअघि उनी यही क्षेत्रबाट विजयी भएका थिए ।

पोखरेल वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दा २३ हजार २९ मत आएको थियो भने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । पोखरेल पुनः सोही निर्वाचन क्षेत्रबाट दोहारिने पक्का छ । डा. महत नुवाकोट १ जाने सम्भावना बढेको भए पनि डा. महतले ठाउँ खाली गर्दा कांग्रेसका युवा नेता प्रदीप पौडेल यही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्ने सम्भावना पनि उत्तिकै छ । यस्तो अवस्थामा रोचक चुनावी भिडन्त हुने पक्का छ ।

यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरीसमेत रहेकी मानुषीले पनि काठमाडौं ७ बाट संघीय संसद्को निर्वाचनमा उम्मेदवार बन्ने बताएकी छन् । पार्टी र युवाहरूबाट उम्मेदवार बन्न प्रस्ताव आएपछि आफू तयार उनको भनाइ छ ।

मानुषीले जनप्रतिनिधिका रूपमा आफूलाई चुनावमा जाँचेकी छैनन् । तर, लामो समय विद्यार्थी राजनीतिमा बिताएकी थिइन् । राजनीतिक परिवारमा हुर्केकी तथा चिनिएकै उम्मेदवार भएकाले उनको सम्भावना संघको चुनावमा बलियो उम्मेदवार बन्ने देखिन्छ । रञ्जु र मानुषी राजनीतिका उदाउँदा लिडर हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीतिमा स्थापित प्रतिमा गौतम पनि चुनाव लड्ने सोचमा छिन् । तर, पाँच दलीय गठबन्धनका कारण अन्योल रहेको उनी बताउँछिन् । भन्छिन्, ‘गठबन्धनको कुरा स्पष्ट नभएकाले कुरा अल्झिरहेको छ, गठबन्धन १–२ दुई दिनमा टुंगिन्छ, अनि के कसरी अगाडि बढ्ने भन्ने थाहा हुन्छ ।’

उनी काठमाडौं २ बाट स्वाभाविक उम्मेदवार हुन्। गठबन्धनले सल्लाह गरेर उनलाई टिकट दिएमा चुनावी मैदानमा उत्रिने छिन्। यसका साथै टिकट पक्का भइसकेपछि चुनावका एजेन्डा पनि सार्वजनिक गरिने गौतमले जानकारी दिइन् ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी उनी ०४९ सालमा पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियू सदस्य हुँदै नेविसंघको केन्द्रीय महामन्त्री भइसकेकी छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र ०७० सालमा काठमाडौं २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइसकेकी उनी यसपटकको चुनावमा पनि पुनः दोहोरिन आकांक्षी देखिन्छिन् ।

निरुदेवी पालले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने आकांक्षा व्यक्त गरिरहेकी छन् । भन्छिन्, ‘समानुपातिक सांसदलाई प्रत्यक्ष चुनाव लड्न सहज नहुन सक्छ तर म चुनाव लड्ने योजनामा छु । पार्टीले टिकट दिने, नदिने टुंगो लागिसकेको छैन । तर, टिकट पाउँछु भन्नेमा आशावादी छु ।’

कञ्चनपुर–३ मा कांग्रेसबाट रमेश लेखकले टिकट पाउने सम्भावना बलियो छ । ०५६ देखि क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका लेखकले ०५६ र ०७० मा चुनाव जितिसकेका छन् । योपटकको चुनावमा पनि उनी यस क्षेत्रबाट उठ्ने पक्कापक्की भएको कञ्चनपुरका कांग्रेस नेताहरूको भनाइ छ । यसअघिको चुनावमा लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा. दीपकप्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २६ हजार १०६ मत पाएका थिए ।

तपाईको प्रतिक्रिया