तेह्रथुम । पुर्वी पहाडी जिल्लामा उत्पादित अलैंचीको बजार भाउमा सातायता केही सुधार आएको छ । अलैंचीको भाउ प्रतिमन १९ हजार रुपैयाँले वृद्धि भएसँगै व्यवसायी उत्साहित भएका छन् भने किसानलाई समेत राहत मिलेको छ । विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँ सम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुमा २५ हजारमा झरेको थियो ।

तर साता यता अलैँचीको मुल्य निरन्तर बढिरहेको र सन्तोषजनक अवस्थामा आइपुगेको अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । अलैँचीको मुख्य विक्रीस्थल मानिएको झापाको विर्तामोडमा आज उच्च गुणस्तरको अलैँची प्रतिमन ४४ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यस्तै मध्यमस्तरको अलैँची प्रतिमत ४२ हजार र चलनचल्तीको अलैँची ४१ हजार रुपैयाँ प्रतिमनका दरले कारोबार भइरहेको अलैँची व्यवसायी महासंघले जनाएको छ । पूर्वी जिल्लामा उत्पादित अलैंची झापाको विर्तामोडमा संकलन गरी भारतीय बजार हुँदै विभिन्न देशमा बिक्री गर्न पठाइने गरेको छ । अन्तराष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैंची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैंची व्यापारीहरु बताउँछन् ।

तर मागमा आधारित बजार भएकाले उत्पादन बढी, माग कम भए मुल्य घट्ने र उत्पादन कम भई माग बढी हुँदा मुल्य बढ्ने व्यापारको साधारण नीति अलैँचीमा समेत लागु हुने महासंघका अध्यक्ष भट्टराईले बताउनुभएको छ । यसअघि लगातार अलैंचीको मूल्यमा गिरावट आउँदा किसान मारमा परेका थिए भने कतिपय व्यवसायी र किसानले मुल्य बढ्ने आशाले अलैँची भण्डारण गरेर राखेका थिए ।

अलैँचीको ताजा बजारभाउ तपाइले आफ्नै मोवाइलमा पनि पाउनुहुन्छ । तपाइले आफ्नो एसएमएस बक्समा गई आइएफए, एसीएच टाइप गरी ३२००१ मा मेसेज पठाएर अलैँचीको ताजा बजारभाउ आफ्नै मोवाइलमा प्राप्त गर्नसक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया