काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँड कार्यदलको संयोजकको भूमिकामा सक्रिय सिटौलालाई मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अपरान्ह बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका थिए  । त्यसअघि गठबन्धनमा सिट बाँडफाँडमा सक्रिय बनेका सिटौला कहिले कार्यदल र कहिले शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त थिए ।

मंगलबार साँझ ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको उनीनिकट विद्यार्थी नेता सुशील भट्टले बताए । सिटौला अहिले घरमै आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । चिकित्सकको सल्लाहअनुसार नेता सिटौलालाई बुधबार दिउँसो अस्पताल भर्ना गर्ने तयारी रहेको छ ।

संयोजक सिटौला विरामी परेपछि मंगलबारको गठबन्धन बैठकमा सिट बाँडफाँडबारे निष्कर्षउन्मुख छलफल हुन सकेको थिएन । उनलाई कोभिडकै संक्रमण देखिएपछि अब गठबन्धनको सिट बाँडफाँडको काम समेत प्रभावित हुने भएको छ ।

गठबन्धनमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैको विश्वासपात्रकोरुपमा कार्यदलको संयोजक बनेका सिटौला १५ दिनदेखि भेटघाटमा व्यस्त थिए ।

तपाईको प्रतिक्रिया