अहिलेको कारोबारमा किसानलाई प्रतिकेजी ११ रुपैयाँ घाटा,

तेह्रथुम । तेह्रथुमका चिया किसानले हरियो चिया पत्तीको मुल्य वृद्धि हुनुपर्ने माग गरेका छन् । आफुहरुले जिल्लाबाहिर निकासी गर्दै आएको हरियो चिया पत्ती अहिलेको बजार भाऊ अनुसार कारोबार गर्दा प्रति केजी ११ रुपैयाँ घाटा रहेको भन्दै उनीहरुले मुल्य वृद्धि हुनुपर्ने माग गरेका हुन् । किसानले हरियो चिया पत्तीको मुल्य वृद्धि गर्न माग गरेका चिया विस्तार योजना सोल्माका फिल्ड सहयोगी चन्द्रप्रसाद बाँस्तोलाले बताए ।

जिल्लामा अहिले पनि भरपर्दो र गुणस्तरीय चिया उद्योग स्थापना भएकोे छैन । यहाँ उत्पादित ९० प्रतिशत बढी हरियो चिया पत्ती जिल्लाबाहिर निकासी हुने गरेको छ । जिल्लामा उत्पादित हरियो पत्ती यसवर्ष प्रति केजी ५६ रुपैयाँका दरले विक्री गरेको सोल्माको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक शंकर खनालले बताए ।

उहाँका अनुसार यहाँ उत्पादित हरियो चिया पत्ती धनकुटाको गुराँसे टि–स्टेटले खरिद गरिदिने गरेको छ । तर उसले दिँदै आएको मुल्यमा अब हरियो चिया पत्ती विक्री गर्न नसकिने किसानले निष्कर्ष निकालेका छन् । आइतबार चिया विस्तार योजना सोल्मा आयोजना गरेको हरियो चिया पत्ती तथा तयारी चियाको लागत मुल्य अध्ययन सम्बन्धी गोष्ठीमा सहभागी किसान र व्यवसायीले हरियो चिया पत्तीको मुल्य बढाउन माग गरेका हुन् ।

उनीहरुले हरियो चिया पत्तीको लागत मुल्य प्रति केजी कम्तिमा ६७ रुपैयाँ पर्ने समेत तथ्यांक निकालेका छन् । यो भन्दा अगाडि लागत मुल्यबारे कहिल्यै नसोचेका किसानले बल्ल आफुहरु घाटामा रहेको थाहा पाएका हुन् । उनीहरुले आफुहरुको पारिश्रमिक समेत नराखी चिया विक्री गरिरहेको बल्ल थाहा पाएको बताए ।

हरियो चिया पत्तीको मुल्य लागत मुल्य अनुसार निर्धारण गरेर मात्रै कारोबार हुनुपर्ने किसानको माग छ । अब हरियो चिया पत्ती प्रति केजी ८० रुपैयाँका दरले कारोबार हुनुपर्ने फुलेकका किसान कमल खड्काले माग गरे । ‘अहिलेकै बजार भाउमा कारोबार गर्दा हामीलाई ११ रुपैयाँ घाटा रहेछ, अब हरियो पत्तीको मुल्य ८० रुपैयाँ पु¥याइनुपर्छ,’ उनले भने ।

कार्यक्रममा जिल्लाका विभिन्न नौ वटा चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधि तथा सोल्मा र सुङनामका किसान समेत गरी २५ जना सहभागी थिए । सो कार्यक्रम चिया विस्तार योजना सोल्माका प्रमुख विजयकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लामा सयौँ हेक्टर जमीनमा चिया खेती लगाइएपनि फष्टाउन सकेको छैन ।

जिल्लाको करिब १४ सय बढी रोपनी जमीनमा लगाइएको चिया बगान झाडीमा परिणत भएको छ । जिल्लामा कुल २ सय ६८ हेक्टर जमीनमा चिया खेती लगाइएको छ । तर प्रति वर्ष सरदर ५० मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया