ओखलढुंगाको रुम्जाटारका गुरुङ समुदायको पुख्र्याैली पेशा राडीपाखी उद्योग संकटमा परेको छ । आधुनिक उत्पादन, महंगो लगानी र अहिलेको युवापुस्ताले वास्ता नगर्दा राडीपाखी उद्योग संकटमा परेको हो । भेडा पालन व्यवसाय विस्तार लोप हुन थालेपछि राडीपाखी बन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थालेको छ ।

राडीपाखी बुन्नका लागि धेरै मिहिनेत गर्नुपर्ने हुँदा यसतर्फ युवाहरु अग्रसर छैनन् । राडीपाखी अहिले कहिँकतै वृद्धवृद्धाले मात्र बुन्न लागेको भेटिन्छ । रुम्जाटारको पहिचान बनेको राडीपाखी उद्योगलाई प्रवर्द्धन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । भेडा विकास समिति नै बनाएर काम गरे पनि प्रभावकारी देखिएको छैन । स्थानीय तह कार्यान्वयनमा आएपछि उद्योगले प्रोत्साहन पाउनेमा आशावादी रहेको समितिकी अध्यक्ष पदमकुमारी गुरुङले बताउनुभयो । तर पछिल्लो पुस्तामाझ यो पेसा दुःखदायी र झन्झटिलो पेशाका रुपमा मानिन थालेपछि लोप हुने अवस्थामा पुगेको छ ।

‘युवाहरु त झन्झट मानेर यस्तो काम नै गर्दैनन्, बुढाहरुले कति दिन धान्नु र !’ भेडा विकास समितिकी अध्यक्ष पदमकुमारी गुरुङले भन्नुभयो । स्थानीय बासिन्दाका अनुसार यहाँका राडीपाखी भारत, चिन, अमेरिकालगायतका युरोपका थुप्रै देशहरुमा जाने गर्दथ्यो ।

जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिने राडीपाखी स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । पहिला रुम्जाटारका सबै गुरुङको पेशा अहिले भने एक दुईजनाले मात्र गर्दै आएका छन् । बुनिसकेको तयारी राडी ३ हाजरदेखि १० हजार रुपौयाँसम्म पर्ने गर्छ ।

स्थानीय बासिन्दाको मागलाई आफूले चासोको साथ हेरकाले अब आउने दिनमा रुम्जाटारको पहिचान लोप हुन नदिने गरी काम गर्ने सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले बताउनुभयो । राडीपाखी उद्योग सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेका छन् ।

तपाईको प्रतिक्रिया