न एनजीओ बनाउन माने, न सरकारी सहयोग खोजे, निरन्तर सित्तैमा पढाइरहे

  • प्रमिला राई

उनी खोला किनारमा बालबालिकालाई दिनहुँ पढाउँछन् । कुनै शुल्क लिँदैनन् । कुनै एनजीओ आइएनजीओले सहयोग गरेको होइन र यस्तो सहयोग लिन मान्दैनन् पनि । २२ वर्षदेखि चन्द्र भण्डारी यसरी नै पढाइरहेका छन् ।

उनले पढाउने थलो हो सुनसरी इटहरीको टेङग्रा खोला किनार । अरुले ट्यूशन पढाएरै मालामाल कमाएका छन् तर चन्द्रकोमा विद्यार्थीको धुईरो हुन्छ, पैसा लिँदैनन् । जे पढाउँछन् निशुल्क पढाउँछन् ।

चन्द्र सम्झन्छन्, ‘०५१ साल माघ २८ गतेको दिन । जाडो थियो । त्यो दिन मैले पहिलो पटक यो ठाउँमा विद्यार्थी पढाएँ । त्यसपछि धेरै विद्यार्थी आए, धेरैलाई पढाएँ ।’

चन्द्रले जसलाई पढाए, तीमध्ये कतिपयका छोराछोरीलाई पनि पढाए । अर्थात्, दुई पुस्तालाई पढाए ।

ट्युशन पढाएर मालामाल बनिने बाटो छाडेर चन्द्रले किन निशुल्क पढाए ? पढाए मात्र होइन, निशुल्क ट्युशनमा जीवन नै समर्पित गरेका छन् । उनको पहिचान नै निशुल्क पढाउने भनेर बनिसकेको छ ।

यो निशुल्क ट्युशनको कथा सुरु हुन्छ धनकुटा जिल्लाबाट ।

गरिबीको पीडा

चन्द्र २०२४ मा धनकुटाको कागतेमा जन्मिए । धनकुटाबाटै एसएलसी पास गरे । धनकुटा क्याम्पसमा आईए पढ्न थाले तर गरिबीका कारण सम्भव भएन ।

उनी काम खोज्दै इटहरी आए । सेलर मील बनाउने वर्कशपमा काम गर्न थाले । मुस्किलले जीवन अगाडि बढिरहेको थियो । आर्थिक अभावको पीडा थियो, त्योभन्दा धेरै पीडा पढ्न नपाएकोले हुन्थ्यो ।

०५१ मा सावित्रा भण्डारीसँग बिहे गरे । हरेक मानिसको जीवनमा विवाह टर्निङ प्वाइन्ट हुन्छ, चन्द्रको जीवनमा पनि त्यही भयो । उनले सेलर मील वर्कसपको काम छाडे । हाट लाग्ने ठाउँहरुमा गएर कपडा बेच्न थाले । संयुक्त व्यापार थियो, ६ महिना कपडा बेच्दा २० हजार रुपैयाँ डुब्यो ।

त्यसपछि बाँसको व्यापार थाले । धनकुटा र ‘मोरङको गाउँगाउँमा पुगेर बाँस ल्याउँथे र इटहरीमा बेच्थे । राम्रो कमाइ हुन थाल्यो ।

त्यसबेला उनले निशुल्क पढाउन थालिसकेका थिए ।

किन निशुल्क ?

किनभने त्यसबेला गाउँमा गरिबका छोराछोरीको पढाईको स्तर राम्रो थिएन, कोही पनि राम्रोसँग पढ्दैनथे । स्कूलमा राम्रो पढाई हुँदैनथ्यो, कतिपयले चाहिँ आर्थिक अभावले पढ्न पाइरहेका थिएनन् ।

आर्थिक अभावले पढाई छाडेको आफैलाई हेरे चन्द्रले । छटपटि भयो, मन बेचैन भयो । अनि, निशुल्क पढाउँछु भन्ने अठोट गरे ।

तर, कहाँ पढाउने ? त्यसबेला उनको इटहरीमा घर थिएन । टेङग्रा खोलाको किनारमा पिपलको फेदमा बसेर पढाउन थाले । विद्यार्थी आउन थाले । कतिपयले शुल्क दिन्छौं भने तर लिन मानेनन् । गरिबका छोराछोरीलाई पढाएर के पैसा लिनु ? यस्तो भाव आयो ।

त्यसपछि पढाईरहे, पढाईरहे, पढाईरहे । २२ वर्षदेखि निरन्तर पढाईरहेका छन् ।

एनजीओका आँखा

यो २२ वर्षमा चन्द्रका दुई छोरा भए, इटहरीमा घर बनाए । छोराहरुलाई पढाउनै पर्यो, सबैभन्दा मुख्य कुरा, उनले श्रीमतीलाई पढाए ।

बिहे गर्दा सावित्राले १२ पास गरेकी थिइन् । आफू कमाई गर्न लागे, निशुल्क ट्युशन पढाउन लागे, श्रीमतीलाई चाहिँ कलेज पढाए ।

कतिपय साथीहरु भन्थे, ‘श्रीमतीलाई यसरी पढाउँदा पछि तँलाई पछुतो हुन्छ ।’

भयो त पछुतो ? जवाफमा चन्द्र भन्छन्, ‘पछुतो होइन हाम्रो रथको दुईटा पांग्रा झन बलियो चाहिँ भयो ।’

सावित्राले एमए पास गरिन्, उनी शिक्षिका छिन् ।

चन्द्र सम्झन्छन्, पढाउन सुरु गरेको पहिलो दिन १० जना बालबालिका थिए। पछि थपिए । घटबढ भइरहे ।

खुला आकाशमुनी पिपलको फेदमा पढाई हुने चन्द्रको निशुल्क ट्युशन सेन्टर चर्चित हुन थाल्यो ।

निशुल्क पढ्न पाइने ठाउँमा विद्यार्थी आकर्षित हुने नै भए। एनजीओको पनि आँखा पर्यो । केही एनजीओकर्मीहरुले यो ठाउँमा टहरा बनाएर पढाऔं, हामी सहयोग गर्छाैं भने ।

तर, एनजीओको विदेशी सहयोगको रमझमा लागेर ट्युशन पढाउनु गरिबका बच्चा बेच्नु जस्तै लाग्यो उनलाई । भन्छन्, ‘निशुल्क ट्युशन पढाउने नाममा एनजीओका लागि काम गर्नु या एनजीओको नाममा पढाउनु गरिबका बच्चा बेच्नुजस्तो लाग्यो। त्यसैले एनजीओको सहयोग लिइनँ।’

एनजीओ नै बनाउँ भन्दै पनि आए धेरैजना । तर, अहँ चन्द्रले मानेनन् ।

त्यसो भए चन्द्रले सरकारी सहयोग लिए त ? त्यो पनि लिएनन् । बरु, सरकारी असहयोग चाहिँ भोगे ।

एउटा प्रलय

०६४ सालको कुरा हो । बाँसको खट र त्रिपालको छानो बनाएर विद्यार्थीलाई पढाउँथे । इटहरी नगरपालिका र टोल विकास संस्थाले खोला सफा गर्ने भन्दै त्रिपाल र खट भत्काइदियो ।

पढाउने ठाउँ भत्काइदिएपछि चन्द्र धेरै रोए । विक्षिप्त जस्तै बने । पढाउन छाडिदिने विचार गरे । ‘मेरा लागि प्रलय जस्तै थियो त्यो घटना,’ अहिले पनि भावुक हुँदै चन्द्र भन्छन् ।

त्यसपछि नपढाउने भए चन्द्रले ।

तर, चन्द्रलाई आँशुले रोक्यो । आफ्नो आँशु त बग्यो नै, कलिला बालबालिका पनि निशुल्क पढ्न पाइने ठाउँ भत्काइएको देखेर रोए । बालबालिकाको आँशु देख्न सकेनन् चन्द्रले ।

बालबालिका भन्न थाले, ‘सर, घरबाट बोरा ल्याउँछौं, त्यहि बोरामा बसेर पढ्छौं ।’ अभिभावक पनि भन्न थाले, ‘हाम्रा बच्चालाई पढाइदिन पर्यो सर ।’

चन्द्रको आत्माले मानेन । पढाउन थाले ।

अहिले

अहिले जनता मावि इटहरी, कचना महादेव मावि इटहरी , वुढीगंगा प्रावि इटहरी र नोवेल एकेडेमीका गरी ३५ जना पढिरहेका छन् ।

शनिबार बाहेक सधैं बिहान पढाउँछन् ।

के पाए निशुल्क पढाएर चन्द्रले ?

एकदिन वजारमा हिँड्दै थिए । ‘सर नमस्कार’ भन्दै एक युवक आयो । उसले आफ्नो परिचय दियो र भन्यो, ‘तपाईंले नपढाइदिनुभएको भए म आज कुल्ली काम गरिरहेको हुन्थें।’

यही पाए ।

यही अर्थात्, आत्मसन्तुष्टि पाए । धेरै विद्यार्थी भेटिरहन्छन्, उनीहरु कृतज्ञ बन्छन् । निशुल्क पढाईले उनको शशक्त परिचय बनेको छ । तर, जतिबेला पढाउन थाले, यसरी परिचय बन्ला भन्ने कल्पना पनि गरेका थिएनन् ।

अनेक संघसंस्थाले चन्द्रलाई सम्मान गरेका छन् तर सम्मानको आश पनि थिएन । पाउँदा पनि ठिकै छ, नपाएको भए पनि पढाइरहन्थें भन्छन् ।

चन्द्रले कसैको सहयोग लिएनन्, पढाए वापत कसैबाट एक पैसा लिएनन् । छोराछोरी पढाइदिए वापत चियाखाजा खुवाउँछु भन्ने अभिभावक पनि आए । तर, चिया समेत खाएनन् ।

तर, चन्द्रले यो निशुल्क सडक ट्युशन पढाउन एकजनाको चाहिँ ठूलो सहयोग लिएका छन् । उनी हुन्, सावित्रा ।

उनी प्रत्येक दिन फरक विषय पढाउँछन्:
-आइतबार र सोमबार – गणित
-मंगलबार – अंग्रेजी
-बुधबार – विज्ञान
-बिहिबार – नेपाली
-शुक्रबार – अन्य विषय

अनि, शनिबार विदा ।

साभार : हाम्रो कथाबाट ।

तपाईको प्रतिक्रिया