काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन्। तालमेलका लागि सिट बाँडफाँटलगायत विषयमा छलफल गर्न उनीहरू कार्यदल पनि बनाएका छन्।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव हुने १६५ निर्वाचन क्षेत्रमा कुन दलले कति ठाउँमा उम्मेदवारी दिने विषय टुंगाउनु सत्ता गठबन्धनका लागि निकै चुनौतीपूर्ण छ। तीमध्ये पनि केही निर्वाचन क्षेत्र यस्ता छन् जहाँ एकभन्दा बढी पार्टीको बलियो प्रभाव छ र त्यही क्षेत्रबाट प्रभावशाली केन्द्रीय नेताहरू पनि छन्। यस्ता निर्वाचन क्षेत्रमा कसले कसलाई छोड्ने विषय मनोनयन दर्ताको दिन नजिकिँदै गर्दा गठबन्धनमा झन् पेचिलो बन्दै जानेछ।

गठबन्धनलाई सिट बाँडफाँट गर्न सकस पर्ने केही निर्वाचन क्षेत्रबारे हामीले यहाँ चर्चा गरेका छौं।

सिन्धुपाल्चोक-१

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पाँच वर्षअघि भएको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतलाई हराएर नेकपा माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटा निर्वाचित भए।

२०७४ सालमा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी तालमेल थियो, सापकोटा वामगठबन्धनबाट उम्मेदवार थिए।

यो पाँच वर्षमा राजनीतिक परिस्थिति बदलिएको छ। यसपटकको निर्वाचनमा कांग्रेस र माओवादीसहित सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन्।

त्यस्तो अवस्थामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा कुन पार्टीको उम्मेदवार बन्ने भन्नेमा रस्साकस्सी पर्ने निश्चित छ।

बस्नेत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन्। देउवासँग उनको राजनीतिक सम्बन्ध मात्र होइन, पारिवारिक साइनो पनि छ।

उनले कांग्रेस केन्द्रीय समिति बैठकमै आफूले सभामुख सापकोटाका लागि सिन्धुपाल्चोक-१ छोड्न नसक्ने बताएका थिए।

‘चुनावमा गठबन्धन गर्नुस्, मेरो भन्नु केही छैन। तर मेरो गृहजिल्लामा खेल्ने प्रयास नगर्नुस्,’ बस्नेतले केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘यदी सिन्धुपाल्चोकमा खेल्ने प्रयास भयो भने म बिद्रोह गर्छु। अग्नि सापकोटालाई छाडियो भने बिद्रोह हुन्छ।’

गएको चुनाव यही क्षेत्रबाट जितेका सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र हुन्। सापकोटालाई रोक्न पार्टीभित्रकै युवा नेताहरूले प्रयास गरिरहेका छन्।

गत वैशाख ३० मा भएको स्थानीय चुनावमा सिन्धुपाल्चोक-१ मा पर्ने स्थानीय तहका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधारमा कांग्रेस अगाडि छ। उसले ३४ हजार ७ सय ६१ मत पाएको छ। एमालेले २७ हजार ५९ मत पाएको छ। माओवादी केन्द्रले १९ हजार ३ सय ४४ मत ल्याएको छ। नेकपा एकीकृत समाजवादीले २ हजार ३ सय ११ मत पाएको छ।

नुवाकोट-१

सत्ता गठबन्धनलाई यसपालि सिट बाँडफाँट गर्न सकस पर्ने अर्को ठाउँ नुवाकोट क्षेत्र नम्बर १ पनि ‍हो। यो क्षेत्रबाट २०७४ को चुनावमा नेपाली कांग्रेसका रामशरण महतलाई हराएर माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए। उनलाई एमालेले समर्थन गरेको थियो।

यसपालि नुवाकोट-१ रामशरण चुनाव उठ्ने छैनन्। उनका भाइ प्रकाशशरण महत यो क्षेत्रमा उम्मेदवार हुने तयारी गरिरहेका छन्। महत कांग्रेस प्रवक्ता हुन्, उनी देउवानिकट छन्। महत २०७४ मा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेलसँग हारेका थिए।

स्थानीय चुनावमा नुवाकोट-१ मा पर्ने स्थानीय तहका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले २८ हजार ९ सय ६२ मत ल्याएको छ भने माओवादी केन्द्रले २३ हजार २ सय मत पाएको छ। यो क्षेत्रमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले १८ हजार २ सय ६७ मत पाएका थिए।

तनहुँ-१

तनहुँ क्षेत्र नम्बर १ पनि भागबण्डा गर्दा कठिन हुने ठाउँ हो। यो क्षेत्रमा तत्कालीन एमालेका तर्फबाट किसान श्रेष्ठले जितेका थिए। उनी अहिले नेकपा (एकीकृत समाजवादी) मा छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको निकटताले पनि उनको यो क्षेत्रमा स्वभाविक दाबी छ। अर्कोतिर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यही क्षेत्रका हुन्।

२०७४ मा उनले पहिलो पटक निर्वाचन हारेका थिए। पौडेल चितवन जाने पनि चर्चा छ। तर उनी पछिल्लो समय तनहुँ क्षेत्र नम्बर १ मा सक्रिय भइरहेका छन्। पौडेल चितवनबाट उम्मेदवार बने पनि यो क्षेत्रमा कांग्रेसकै नेताहरूबीच हानथाप पर्ने निश्चित छ।

दुई क्षेत्र रहेको तनहुँमा कांग्रेसको केन्द्रीय स्तरका नेताहरूसमेत धेरै छन्। शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले, गोविन्द भट्टराई लगायतका नेताहरुले समेत दाबी गर्दा यो क्षेत्र भागबण्डाका लागि अप्ठ्यारो छ।

स्थानीय तहमा कांग्रेसले पाएको मतलाई आधार मान्ने हो भने पनि कांग्रेसलाई यो क्षेत्र नछोड्न दबाब पर्छ। उसले यो क्षेत्रको वडाध्यक्षमा ३३ हजार १ सय ६ मत पाएको छ।

एमालेले २२ हजार २ सय १० मत पाएको छ भने माओवादीले ८ हजार ४ सय ७४ मत ल्याएको छ।

क्षेत्र नम्बर १ का सांसद रहेका किसान श्रेष्ठको पार्टी एकीकृत समाजवादीले ८ सय ९२ मत मात्रै पाएको थियो।

गोरखा १ र २

पछिल्ला चुनावमा गोरखा पनि चर्चामा रहने गरेको छ। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको उम्मेदवारीले गोरखा क्षेत्र नम्बर २ चर्चामै रहन्छ।

२०७४ सालमा वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुन नपाएपछि तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई नेपाली कांग्रेससँग गठबन्धन गरी उम्मेदवार बनेका थिए।

भट्टराईले त्यसबेला वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई सात हजार भन्दा बढी मतान्तरले हराएका थिए।

२०७४ मा गोरखा क्षेत्र नम्बर १ मा नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाएको थियो। चीनकाजी श्रेष्ठ उम्मेदवार थिए तर उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिराज अधिकारीसँग पराजित भएका थिए।

यसपालि कांग्रेससहित सत्ता गठबन्धनका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन्। गोरखामा कुन क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन सकस पर्ने देखिन्छ।

माओवादीले वैशाखमा भएको स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तह प्रमुख जितेको छ भने कांग्रेस २ स्थानीय तह प्रमुखमा खुम्चिएको छ। तर लोकप्रिय मतमा क्षेत्र नम्बर १ मा कांग्रेस नै अघि देखिन्छ।

बाबुराम भट्टराईले हालै नयाँ पार्टी गठन गरेका छन्। नेपाल समाजवादी पार्टीबाट उनी गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्। सत्ता गठबन्धनमै रहेर गोरखा २ मा चुनाव उठ्ने तयारी उनको छ।

बाबुराम पनि सत्ता गठबन्धनमै आए गोरखा २ मा उम्मेदवार तय गर्न दलहरूलाई झन् सकस पर्नेछ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदबाट राजीनामा दिएर गोरखा-२ मा उम्मेदवार हुने पक्षमा छन्।

क्षेत्र नम्बर २ मा पर्ने पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकामध्ये सिरानचोकबाहेक सबैमा माओवादीले स्थानीय चुनाव जितेको छ।

क्षेत्र नम्बर २ मा पर्ने पालिकाभित्रका वडाहरूमा स्थानीय चुनावमा आएको मत हेर्दा माओवादी अगाडि देखिन्छ। यो क्षेत्रमा माओवादीका वडाध्यक्ष उम्मेदवारहरूले २२ हजार दुई सय ५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवारले २१ हजार एक सय ३६ मत पाएका छन्। यहाँ एमालेलाई ७ हजार ९ सय २६ र जसपाले ७ हजार ५ सय ४ मत मिलेको छ। यहाँ जति मत जसपालाई आएको छ, त्यो बाबुरामनिकटको मत हो।

क्षेत्र नम्बर २ यसपालि नेपाली कांग्रेसले पनि दाबी गर्दैछ। सधैँ क्षेत्र नम्बर २ अरू पार्टीलाई छाडेको भन्दै कार्यकर्तामा असन्तुष्टि देखिएको कांग्रेस नेताहरू बताउँछन्। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी क्षेत्र नम्बर २ मा उठ्ने तयारीमा छन्।

क्षेत्र नम्बर २ मा माओवादीका नेताहरू हितराज पाण्डे, चुडामणि खड्का, अमर तमुलगायत पनि उम्मेदवार हुने तयारीमा छन्।

गोरखा क्षेत्र नम्बर १ मा पनि सिट बाँडफाँट गर्न सजिलो छैन। गोरखा १ मा गत स्थानीय चुनावमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवारले पाएको मत माओवादीको भन्दा करिब दुई हजार बढी छ।

यहाँ कांग्रेसले २७ हजार ८४ मत ल्याएको छ भने माओवादीले २५ हजार चार सय ७२ मत ल्याएको छ।

क्षेत्र नम्बर १ का माओवादी नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यही क्षेत्रमा उठ्न आग्रह गरेका छन्। केही दिनअघि सांसद हरिराज अधिकारी र गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले प्रचण्डलाई गोरख-१ मा उम्मेदवार हुन आग्रह गरेका थिए। प्रचण्डले उनीहरूका कुरा सुने तर कुनै जवाफ दिएनन्।

प्रचण्ड यहाँ उठेनन् भने माओवादीबाट अधिकारी नै दोहोरिने सम्भावना छ। यस्तै कृष्ण धिताल, सुशीला सिंखडा, परशुराम रम्तेललगायत पनि उम्मेदवार हुन इच्छुक देखिन्छन्।

कांग्रेसबाट क्षेत्र नम्बर १ मा अर्थशास्त्री स्वर्णिम वाग्ले चुनाव लड्न इच्छुक छन्। उनी अहिले युएनडिपीमा कार्यरत छन्। चुनाव घोषणा भइसक्दा पनि नेपाल नआएका वाग्लेलाई कांग्रेसले टिकट दिने सम्भावना भने न्यून छ। यो क्षेत्रमा कांग्रेसबाट फेरि एक पटक चीनकाजी श्रेष्ठ उम्मेदवार हुने तयारीमा छन्। उनी समानुपातिक तर्फ बस्न पनि पार्टीभित्र केही नेताको माग छ।

कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपाने पनि क्षेत्र नम्बर १ मा उठ्न इच्छुक छन्। उनी कांग्रेसको १४ औं महाधिवेशनका बेला जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका थिए। क्षेत्र नम्बर १ मा न्यौपानेको बलियो प्रभाव छ।

२०७४ को चुनावमा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा उठेर वामगठबन्धनबाट एमालेका उम्मेदवार रामशरण बस्नेतसँग पराजित भएका कांग्रेसका राजेन्द्र बजगाईं यसपालि प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवार हुने तयारीमा छन्।

बजगाईंले सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्टै आफू मंसिरको चुनावमा उम्मेदवार हुने घोषणा गरेका छन्। पर्यटन, होटल व्यवसायीसमेत रहेका बजगाईंले उत्तरी गोरखाका मानिसलाई दु:ख पर्दा हेलिकप्टरबाट उद्धार लगायतका काममा समन्वय पनि गर्दै आएका छन्।

बाबुराम सत्ता गठबन्धनमा आएनन् भने माओवादी र कांग्रेसले गोरखामा एकेक क्षेत्र बाँड्नेजस्तो देखिन्छ। स्थानीय चुनावमा आएको मतले गोरखा १ कांग्रेस र गोरखा २ माओवादीले लिनेजस्तो देखिन्छ।

डोटी

सुदूरपश्चिम प्रदेशको डोटीमा पनि चुनावी तालमेल पेचिलो छ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट तत्कालीन एमाले उम्मेदवार प्रेमबहादुर आलेले कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई हराएका थिए।

अहिले आले एमाले छाडेर एकीकृत समाजवादीमा लागेका छन्। बलायर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बनेका छन्। बलायरले हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले गठबन्धनका नाममा कसैलाई नछाड्ने बताएका थिए।

गत स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने पनि यहाँ बलायरको दाबी स्वभाविक देखिन्छ।

डोटीमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३४ हजार ४७ मत पाएका थिए भने आलेको पार्टी एकीकृत समाजवादीका उम्मेदवारहरूले ३ हजार २ सय ५ मत मात्र पाएका थिए। यहाँ एमाले दोस्रो र माओवादी केन्द्रले तेस्रो बढी मत पाएका छन्।

डोटीमा एकीकृत समाजवादीको मत कम भए पनि व्यक्तिगत सम्बन्धका आधारमा कांग्रेस सभापति देउवाले सांसद आलेलाई चित्त बुझाउनु पर्ने छ।

एमालेबाट विद्रोह गरी देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेकाले आलेलाई पनि समेटेर जानुपर्ने दबाबमा देउवा छन्।

सेतोपाटीबाट साभार ।

तपाईको प्रतिक्रिया