तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समुह गठन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधि सम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् ।
किसानले हरिप्रसाद डाँगीको अध्यक्षतामा ११ सदस्यीय समुह बनाएका छन् । समुहको उपाध्यक्षमा निर्मला ईङनाम, सचिवमा राजेन्द्र मिश्र, सहसचिवमा राजेन्द्र निरौला र कोषाध्यक्षमा यशोदा निरौला रहनुभएको छ । कफी खेतीको उच्च सम्भावना देखिएकाले किसानलाई प्रशिक्षण कार्यक्रमपछि आगामी दिनमा खेती प्रविधिको विकास र खेती विस्तारका लागि समुह गठन गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य भोजराज प्रधानले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा किसानलाई प्राङगारिक कफी खेती प्रविधि, कफी खेतीका लागि उपयुक्त हावापानी, माटो, रोग तथा तिनको निराकरणका बारेमा कृषि प्राविधिक दिपक चौधरीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले आठराई क्षेत्रमा कफि खेतीको सम्भावना उल्लेख्य रहेको भन्दै किसानको चाहलाई ध्यानमा राखेर कार्यक्रम बनाई अघि बढ्ने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा आठराई गाउँपालिकाका २६ जना किसानहरु सहभागी थिए । चिया तथा कफी विकास बोर्डकै आयोजनामा पुस २६ र २७ गते फेदाप गाउँपालिकामा समेत प्रशिक्षण कार्यक्रम राखिएको बोर्डका सदस्य प्रधानले बताउनुभयो ।