काठमाडौं । निर्वाचन आयाेगले दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न पाउने जनाएकाे छ।

आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेका दलहरूले एउटै निर्वाचन चिन्हबाट चुनाव लड्नसक्ने सुविधा दिएको हो।

तर हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन्। ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ। त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन्। उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन्।

अायाेगका अनुसार संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ। यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ। जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ। त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ।

तपाईको प्रतिक्रिया