तेह्रथुम । नेपाल विद्युत प्राधिकरणले तेह्रथुममा पनि अनलाइनमार्फत विद्युत महसुल बुझाउन सकिने सुविधा लागु गरेको छ । अनलाइनबाटै घरैमा बसी बसी विद्युत महसुल बुझाउन सकिने भएपछि उपभोक्तालाई समेत सहज भएको छ । प्राधिकरणले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाइनबाटै विद्युत महसुल तिर्न पाउने सुविधा यही साताबाट लागु गरेको तेह्रथुम वितरण केन्द्र प्रमुख प्रेम भण्डारीले बताउनुभयो ।
समय र पैसाको सदुपयोग गर्न उपभोक्तालाई सहज होस् भन्दै प्राधिकरणले अनलाइनबाटै महसुल तिर्न पाउने सुविधा थालेको उहाँले बताउनुभयो । प्राधिकरणले अनलाइन मार्फत इसेवा, प्रभु बैंक, हिमालय बैंक, सिटी एक्सप्रेस, सीएफएस रेमिट, नेपाल इनभेष्टमेण्ट बैंक र महालक्ष्मी विकास बैंकबाट तिर्न सकिने भएको हो । दुई नगरपालिका र चार वटा गाउँपालिका रहेको तेह्रथुमका १२ हजार ६ सय घरधुरीमा विद्युतीकरण भइसकेको प्राधिकरणले जनाएको छ ।