तेह्रथुम । चिसो बढेसँगै जिल्ला अस्पताल तेह्रथुममा विरामीको संख्या बढेको छ । अहिले दैनिक ६०–७० जना विरामी अस्पताल आउने गरेका छन् । अस्पतालका अनुसार रुघाखोकी, ज्वरो, श्वास प्रश्वास र हाडजोर्नीका विरामी निकै बढेका छन् । दुधे बालकदेखि वृद्ध वृद्धा सम्म चिसोको प्रकोपबाट पीडित भएका छन् ।

चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्ने र खान पानमा ध्यान दिनुपर्ने सुझाव स्वास्थ्यकर्मीेले दिएका छन् । एक महिना यता एक हजारभन्दा बढी बिरामी अस्पतालमा उपचारका लागि आएको जिल्ला अस्पतालका प्रमुख डा.मुक्तिनारायण शाहले बताउनुभयो । ‘चिसोले विरामीको संख्यामा वृद्धि भएको छ, तर यो खासै ठुलो समस्या हैन,’ डा. शाहले भन्नुभयो, ‘रुघाखोकी, निमोनिया जस्ता भाइरलका विरामी बढी छन् ।’ उनका अनुसार अस्पतालमा मंसिरमा सात सय ७२ विरामी आए ।

पुस १५ गतेसम्म पाँच सय ९५ विरामीले उपचार लिएका छन् । विरामीमध्ये सबैभन्दा धेरै बच्चा, वृद्धवृद्धा र महिलाहरु रहेका छन् । सदरमुकाम बाहिरका स्वास्थ्य केन्द्रमा पनि चिसोका विरामीको संख्यामा वृद्धि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । जिल्लामा हाल एक जिल्ला अस्पताल, दुई सामुदायिक स्वास्थ्य केन्द्र, एक सहरी स्वास्थ्य केन्द्र, २९ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया