तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको ट्रयाक ओपन भएसँगै कोशी र मेची अन्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको ट्रयाक ओपन भएपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सन्जालमा जोडिएका हुन् ।

यही हप्तादेखि व्यवसायीले म्याङलुङ्गबाट फिदिमसम्म सीधा यातायात सेवा समेत थालेका छन् । म्याङलुङ्गबाट फिदिमसम्म र फिदिमबाट म्याङलुङ्गसम्म दैनिक एक–एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भएपनि सवारी सञ्चालन हुन थालेपछि म्याङलुङ्गबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

एक फन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ । लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्ला बासिन्दालाई सहज भएको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आउजाउ गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नेुपर्ने बाध्यता थियो भने कम्तिमा पनि दुई दिनको यात्रा तय गर्नुपर्थ्यो ।

म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडक खण्डबाट पाँच घन्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताउनुभयो । ‘सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्’, चालक लिम्बुले भन्नुभयो ।

तेह्रथुमबाट ताप्लेजुङ र इलाम जानेहरु यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन् । ‘यो बाटो भएर ताप्लेजुङ, इलाम जानेहरु पनि धेरै छन्, भाडापनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन,’ व्यवसायी सन्तोष निङलेकुले भन्नुभयो । अहिले सडकको ट्रयाक ओपन भएर सवारी सन्चालन भएपछि वर्षा लागेपछि यो सडक सन्चालन हुने सम्भावना देखिँदैन ।

तपाईको प्रतिक्रिया