वासिङ्टन । आक्रमणकारी किराहरूले विश्व अर्थतन्त्रमा कति नोक्सानी पुर्याउलान्? यसको जवाफ सहज छैन। तथापि, अहिले वैज्ञानिक संसारमा किराहरूको हमलाबाट हुने आर्थिक नोक्सानी आकलनमा जुटेका छन्।
वैज्ञानिकहरूको भनाइमा सरिसृपका दुई प्रजातिले अन्यभन्दा बढी नोक्सानी पुर्याइरहेका छन्। अमेरिकन बुलफ्रग र ‘ब्राउन ट्री स्नेक’ले सन् १९८६ देखि हालसम्म १६.३ अर्ब डलरको नोक्सानी गरिसकेको उनीहरूको भनाइ छ।
पारिस्थितिक नोक्सानीबाहेक यी आक्रमणकारी प्रजातिले कृषकले लगाएका बालीनाली बर्बाद बनाएका छन्। तिनको कारणबाट बिजुली अवरुद्ध भएको छ, जसबाट अझ ठूलो नोक्सानी पुगेको छ।
अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइमा यो अध्ययनबाट भविष्यमा बालीनालीमा आक्रमण गर्ने वन्यजीवका प्रजातिहरूलाई रोक्न ज्यादा लगानी गरिने सम्भावना छ। वैज्ञानिकहरूको भनाइमा ‘ब्राउन ट्री स्नेक’ले मात्र १०.३ अर्ब डलरबराबरको नोक्सानी पुर्याइसकेको अनुमान छ।
वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको नतिजा ‘साइन्टिफिक जर्नल’मा प्रकाशित गरेका छन्, जसमा प्यासिफिक आइल्यान्ड्समा यस्ता आक्रमणकारी प्रजातिहरू तीव्र गतिमा बढिरहेको उल्लेख छ।
गुआममा फैलियो बर्बादी
पश्चिमी प्रशान्त महासागरस्थित टापु गुआममा ‘ब्राउन ट्री स्नेक’ तीव्र गतिमा फैलिरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। अमेरिकी नौसेनाको गल्तीका कारण सर्पको उक्त प्रजाति गुआममा छाडिएको थियो। तर, अब ती ठूलो समस्या बनेका छन्।
पावर लाइनमा यो प्रजातिका सर्प घुसेका कारण धेरै समयसम्म बिजुली अवरुद्ध हुने गरेको छ। र, लामो समय विद्युत प्रणाली सञ्चालन गर्न सकिँदैन। त्यसबाट गुआमले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ।
यस्ता सर्प त्यहाँका वनस्पती र पर्यावरणका लागि ज्यादा खतरनाक बनेका छन्। जुनसुकै बेला यी प्रजातिका सर्पको आक्रमणमा पर्ने खतरा छ, गुआममा।
युरोपमा बुलफ्रगको कहर
यस्तै, युरोपेली मुलुकमा अमेरिकी बुलफ्रगको संख्या यति बढेको छ कि अब ती भ्यागुतामाथि नियन्त्रण पाउन ठूलो धनराशी खर्च हुने अवस्था छ। यस उभयचरको लम्बाइ एक फुटसम्म बढ्न सक्छ। र, तौल एक पाउन्डसम्म हुन सक्छ। यी भ्यागुताको समस्याबाट पार पाउन अब युरोपेली मुलुक सामु ठूलो धनराशी खर्च गर्नुको विकल्प छैन। खासगरी, बुलफ्रगका प्रजनन स्थलमा सरकारहरूले ज्यादा धन खन्याउनु परेको छ।
जर्मनीमा यी उभयचरलाई नियन्त्रण गर्न पाँचवटा तालमा प्रयोग गरिएको थियो, जसमा दुई लाख ७० हजार युरो खर्च भयो। बुलफ्रगले नखाने केही छैन। कहिलेकाहीं त अर्को बुलफ्रगलाई नै पनि खाइदिन्छ। र, भ्यागुताका अन्य प्रजाति संकटापन्न बन्नुमा वैज्ञानिकहरूले बुलफ्रगलाई दोषी ठहर्याउने गरेका छन्।
भ्यागुताको यो प्रजाति प्रजननको समयमा यति ठूलो आवाज निकाल्छ कि यसको प्रजननस्थल वरिपरि मानिसहरू घरजग्गा खरिद गर्न चाहँदैनन्। त्यसैले वैज्ञानिकहरूले यस्ता नोक्सानी पुर्याउने किरा, सर्प र भ्यागुताका प्रजातिलाई तत्काल नियन्त्रित अवस्थामा राख्न सरकारहरू लगानी बढाउनुपर्ने सुझाव दिएका छन्।