काठमाडौं । एनसेलले आफ्नो फोरजी सेवालाई विस्तार गरेको छ । शनिबार देखि सिराहा र धनगढीका एनसेल प्रयोगकत्ताले फोरजी सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
सिरहा र धनगढीमा सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशका विभिन्न २१ शहरमा पुगेको छ भने एनसेल फोरजी सेवाको पहुँच १५.५ प्रतिशत जनसंख्यामा पुगेको एनसेलले जनाएको छ ।
जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा अहिले काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।
आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका एनसेलका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्ने एनसेलले जनाएको छ । प्रयोगकत्ताले आफ्नो सिम फोरजी हो वा होइन भनेर जाच गर्नका लागि अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई जानकारी प्राप्त गर्न सक्नेछन् ।