खोटाङ । रक्षामन्त्री भिमसेनदास प्रधानले खोटाङको हलेसीका आगलागीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्दै हुनुहुन्छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीका पुस १८ गते राती भएको आगलागीमा पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएपछि रक्षामन्त्री निरीक्षणका क्रममा शनिबार साँझ हलेसी आइपुग्नु भएको हो ।

हलेसीको दर्शन गरेर केहीबेरमा रक्षामन्त्री प्रधानले प्रभावित क्षेत्र निरिक्षण एवं टहरामा दिन बिताइरहेका पीडितलाई भेट्ने कार्यक्रम रहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

आगलागीमा घर सहित सर्वस्व गुमाएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पीडित अस्थायी टहरामा कष्टपूर्ण दिन विताइरहेका छन् ।

बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले स्वयं मगमको दुईवटा सहित चार व्यवसायीका पाँच घर नष्ट भएको थियो । बिस्थापित भएपछि अस्थायी टहरामा कष्टकर दिन बिताइरहेका पीडितको सहयोगार्थ विभिन्न सहयोग संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया