तेह्रथुम । प्रथम राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत पाँच र दश किलोमिटर दौड प्रतियोगितामा पुर्वाञ्चलको तर्फबाट तेह्रथुमका धावक उमेश कन्दङवा छनौट हुनुभएको छ । आठराई गाउँपालिका–५, छातेढुंगाका धावक कन्दङवा तेह्रथुमको प्रतिनिधित्व गर्दै पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी बन्न लाग्नुभएको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिपका लागि भएको पुर्व क्षेत्रीय छनौट प्रतियोगितामा पाँच हजार र दश हजार मिटर दौडतर्फ तेह्रथुमका उमेश कन्दङवा च्याम्पियन बन्नुभएको हो । च्याम्पियन बनेसँगै उहाँ अब राष्ट्रिय प्रतियोगितामा पुर्वान्चलको तर्फबाट दौडिनु हुनेछ ।

जिल्ला खेलकुद विकास समिति तेह्रथुमबाट प्रतिनिधित्वि गर्दै छनौट प्रतियोगितामा सहभागी कन्दङवाले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने निश्चित भएको अध्यक्ष केशवकुमार भट्टराईले गुराँस न्युजसँग भन्नुभयो । यसवर्षको राखेप च्याम्पियनसिपमा विभिन्न २९ खेल प्रतियोगिताहरु भइरहेका छन् । जसअन्तर्गत गएको पुस ९ गतेबाट देशैभरि विभिन्न स्थानमा खेलहरु भइरहेको राखेपले जनाएको छ । २९ मध्ये एक दर्जन बढी खेल प्रतियोगिताहरु मोफसलमै सन्चालन भएका छन् ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा २ हजार २ सय ४९ जना पुरुष र १ हजार ७ सय ९१ जना महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा ६ सय १५ स्वर्ण र रजत तथा ८ सय ९७ कांस्य गरी जम्मा २ हजार १ सय २७ पदकको व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया