लक्षिमा योन्जन, पाँचथर ।

एउटा टोपीको मूल्य २५ हजार रुपैयाँ । लरतरो होइन, सक्कली हातबुना ढाका टोपी । हो, बजारमा सय डेढसय रुपैयाँमा पनि ढाका टोपी पाइन्छ, २५ हजार रुपैयाँ पर्ने पनि पाइन्छ । तपाईं कति मूल्यको टोपी लगाउने ?

व्यवसायीहरु भन्छन्, मानिसले महंगो टोपी खल्तीमा पैसा भएर मात्र किन्दैनन्, नेपाली पहिचानको सम्मान गर्न पनि किन्छन् । अर्काे कुरा, ढाका टोपी लगाउने बानी परेकाहरु उत्कृष्ट टोपी लगाउन चाहन्छन् ।

महंगो टोपी सबैले चिन्दैनन्, पारखीले मात्र चिन्ने बताउँछन् व्यवसायीहरु ।

र, बजारमा सजिलै पाइने ढाका टोपी तयार पार्न सजिलो छैन ।

हातले होइन ह्रदयले बुनिन्छ टोपी

एउटा टोपी तयार पार्न ३२ सेन्टिमिटर कपडा चाहिन्छ । ३२ सेन्टिमिटर कपडा कुनै ठूलो चिज लाग्दैन ।

तर, यो कपडा ढाका टोपीको हो । सजिलो छैन ३२ सेन्टिमिटर कपडा तयार पार्न ।

ह्रदय ओछ्याएर बुनिएको ढाकाटोपीले ह्रदय जित्छ, अनि, ढाकाटोपी देख्नासाथ नेपालीहरुको ह्रदय गर्वले भरिन्छ, छाति ढक्क फूल्छ र हामी नेपाली हौं भन्न मन लाग्छ ।

मुख्य कुरा, ढाका कपडा बुन्ने सिल्पकार धेरै छन् तर ढाकाटोपीको कपडा बुन्ने थोरै मात्र छन् । ढाका बुनाईमा लागेका सीमित सिल्पकारहरुले मात्र टोपीका लागि कपडा बुन्छन् ।

सबैभन्दा पहिले कपडा बुन्न तान तयार पारिन्छ, तयार पार्न सिंगै एक दिन लाग्छ । तान तयार भएपछि कपडा बुन्न सुरु हुन्छ । टोपीको कपडामा धेरै ससाना बुट्टा भरिन्छ । एउटा बुट्टा बनाउन दुईतीन घन्टा लाग्छ ।

कपडामा प्रयोग हुने विभिन्न रंगका बुट्टाका लागि फरकफरक रंगकै धागो प्रयोग गरिन्छ ।

बुनाई यति ढिलो गतिमा र मिहिन ढंगले हुन्छ कि ३० सेन्टिमिटर कपडा बुन्न धेरै दिन लाग्छ । उत्कृष्ट बुट्टा र बुनाईको कपडा तयार पार्न एक महिनासम्म लाग्छ ।

ज्यालाकै कारणले महंगो हुने हो ढाका टोपी ।

मिहिन बुट्टा, मिहिन सिलाई, अत्यन्त झन्झटिलो हुन्छ । हातले मात्र बुन्छु भनेर टोपीका लागि उत्कृष्ट कपडा बुन्न सकिन्न । ढाका उद्योगी प्रतिमा पौडेल (राना) भन्छिन्, हातले मात्र बुनेर हुँदैन, उत्कृष्ट टोपीको कपडा बुन्न ह्रदय पनि चाहिन्छ ।

र, ह्रदय ओछ्याएर बुनिएको ढाकाटोपीले ह्रदय जित्छ, अनि, ढाकाटोपी देख्नासाथ नेपालीहरुको ह्रदय गर्वले भरिन्छ, छाति ढक्क फूल्छ र हामी नेपाली हौं भन्न मन लाग्छ ।

सिलाउन लाग्दैन समय

कपडा तयार भएपछि सिलाउन भने धेरै समय लाग्दैन । आधा घन्टामै एउटा टोपी सिलाउन सकिन्छ ।

पाँचथर सदरमुकाम फिदिममा टोपी सिलाउने राजेन्द्र डाँगीका अनुसार टोपीको कपडा विशेष तरिकाले काटिन्छ, अलिकति मात्र गल्ती भयो भने टोपीको आकार बिग्रन्छ । कपडा काटेर आफूले आधा घन्टामै सिलाउने बताउँछन् ।

टोपी सिलाउँदा भित्री हालिन्छ । बाहिर ढाकाको सुन्दर कपडा हुन्छ, भित्रपट्टि सुतिको कपडा हालिन्छ । भित्री हाल्ने कपडा पनि विभिन्न गुणस्तरको हुन्छ । महंगो टोपीमा महंगै कपडा हालिने राजेन्द्र बताउँछन् ।

थरिथरिका धागो

ढाका टोपीको कपडा तयार पार्न विभिन्न किसिमका धागो प्रयोग गरिन्छ । सबैभन्दा महंगो हुन्छ एंकर धागो । यो धागो प्रयोग गरिएको टोपीमा विभिन्न कीरा, पुतली, भ्यागुता र फूलको चित्र बनाइन्छ । सुतिको धागो भन्दा डोली धागो महंगो हुन्छ । सुति धागोको टोपीमा सामान्य चित्र बनाइएको हुन्छ ।

मूल्य कति ?

अहिले नेपालमा पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, झापा लगायतका जिल्लामा ढाका बुनाई हुन्छ । त्यसैगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा लगायतका जिल्लामा पनि ढाका बुनाई भइरहेको छ । पश्चिम नेपालको पाल्पालाई ढाकाको अग्रणी जिल्ला मानिन्छ । त्यसैगरी पाल्पालाई टक्कर दिने जिल्ला हो तेह्रथुम ।

तेह्रथुममा आफूले १५ हजार रुपैयाँसम्मको ढाकाटोपी तयार पारेको उज्वलता ढाका उधोगकी सञ्चालिका उज्वलता लिम्बु बताउँछिन् । ताप्लेजुङकी व्यवसायी मात्रिका देवी प्रसाईं तीन हजार रुपैयाँसम्मको टोपी उत्पादन गरिरहेको बताउँछिन् । प्रतिमा पौडेल सात हजार रुपैयाँसम्मको टोपी तयार पारेको बताउँछिन् ।

यी उद्योगीहरुले तयार पारेको टोपी राजधानी सहित स्वदेश तथा विदेशका पसलले थप मुनाफा लिएर बेच्दा झन महंगो हुन जान्छ ।
उद्योगीहरुले उत्पादन गरेका महंगो टोपी स्वदेश तथा विदेशमा दोब्बर मूल्यसम्ममा विक्री हुने गरेको छ । टोपीको व्यापार गर्ने राजेन्द्र खड्का आफूले एउटा टोपी १५ हजारमा किनेर दुई वर्षपछि २५ हजार रुपैयाँमा बेचेको बताउँछन् । दुई वर्ष राखेपछि दोब्बर मूल्यमा बेच्नैपर्ने हुन्छ, किनभने त्यो टोपी अरु पाँच वर्ष पनि नबिक्न सक्छ ।
राजेन्द्रका अनुसार बीस पच्चीस हजार रुपैयाँ पर्ने ढाकाटोपी सर्वत्र पाइन्छ । उनका अनुसार राजधानीमा भन्दा पूर्वाञ्चलमा महंगो टोपी धेरै विक्री हुने गरेको छ ।

महंगो होइन

व्यवसायीहरु एउटा टोपीको हजारौं रुपैयाँ मूल्यलाई महंगो मान्दैनन् । कसैले महंगो मूल्यको टोपी किन्छ भने उसले पैसा खर्च गरेको होइन, स्वदेशी सीपको सम्मान गरेको र राष्ट्रिय भावना जगाएको मान्नुपर्छ भन्छिन् राधिका राई । उनी भन्छिन्, जीवनमा विभिन्न चिजमा ठूलो रकम खर्च गर्छाैं, टोपी जस्तो नेपाली पहिचानको वस्तुको मूल्यलाई महंगो मान्न सकिन्न ।

राधिकाले गत तिहारमा दुईजना भाईलाई टोपी उपहार दिएकी थिइन्, एउटा टोपीको मूल्य १५ हजार पर्यो । अरु महंगो सामान उपहार दिन परेको भए आफूलाई लोभ लाग्थ्यो तर टोपी उपहार दिँदा लोभ नलागेको बताउँछिन् ।

टोपी महंगो होस् या सस्तो, त्यो नेपाली हुनुपर्छ, हातैले बुनेको हुनुपर्छ । यस्तो टोपी शीरमा टक्क लगाउँदा ह्रदयमा नैपाली भएकौमा गर्वकौ भावना जाग्नुपर्छ । कि कसौ ?

तपाईको प्रतिक्रिया