तेह्रथुम । छथर गाउँपालिकाले पालिका भित्र सन्चालनमा रहेका सहकारी संस्थाहरूलाई नियमानुसार संचालित हुन कडाईका साथ निर्देशन गरेको छ ।

पालिकामा रहेका ४६ वटा सहकारी संस्थाहरू नियमित साधारणसभा नभएको, नियमित लेखापरिक्षण नगरेको, बिधान अनुसार संचालन नभएको, नियमित बैठक नबसेको, वचत तथा ऋण परिचालनमा अनियमितता देखिएकाले सहकारीहरूलाई कडाई गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको बैठकले निर्णय गर्दै गाउँपालिकाको सहकारी ऐन बमोजिम सहकारी तत्काल नियमित हुन अनुरोध गरेको हो । अनुरोध गर्दा समेत नियमित नहुने सहकारीहरूलाई कारवाहीको दायरामा ल्याउने पनि बैठकले निर्यण गरेको छ ।

साथै सहकारीमा ऋण लिएर वर्षैसम्म नियमित नहुने, सहकारीको रकम हिनामिना गर्ने सहकारी सदस्यहरूलाई छथर पालिका भित्र कुनै पनि सामाजिक संघ संस्थाहरूमा आवद्धता नगराउने कार्यपालिकाको निर्णय रहेको गाउँपालिका पालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

सहकारीमा गरिव परिवारका सदस्यहरुको सामुहिक पुँजी रहेकाले कुनै २/४ जनाले हिसाव हिनामिना गर्न नहुने नियमानुसार संस्था संचालन हुनु पर्ने भएकाले यस्तो निर्णय लिएको अध्यक्ष तिगेलाले बताए ।

आ.व. ०७९/०८० को निति तथा कार्यक्रममा समेत सहकारीलाई नियमित अनुगमन, नियमन, क्षमताविकास लगायतका कार्यक्रम गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया