तेह्रथुम । फेदाप गाउँपालिकाले ४५ करोडभन्दा बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सुनिता पाहिमले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४५ करोड ११ लाख ९३ हजार ७१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले बजेटमा गाउँबासीको सामाजिक आर्थिक जीवनस्तर उकास्ने कार्यक्रमसँगै भौतिक पुर्वाधार विकास र पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

बजेटमा गाउँपालिकाले कार्यालयको प्रशासनिक खर्चतर्फ ८ करोड ७० लाख ७४ हजार ७१० रुपैयाँ र विकास निर्माणका योजनातर्फ १० करोड २५ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उपाध्यक्ष लिम्बुले आगामी वर्षका लागि आन्तरिक आयबाट ३० लाख, संचित कोषबाट फिर्ता जाने रकम १ करोड ७९ लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ७० लाख, शशर्त अनुदान २१ करोड ११ लाख तथा विशेष अनुदान ८० लाख र समपुरक अनुदान १ करोड ५० लाख राजश्व वाँडफाँडतर्फ ७ करोड ६२ लाख ६ हजार रुपैयाँ आम्दानी हुने अनुमान प्रस्तुत गरिन् । त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५१ लाख १९ हजार, राजश्व बाँडफाँडतर्फ ४१ लाख २४ हजार र सशर्त अनुदान ३७ लाख ४४ हजार प्राप्त हुने अनुमान छ ।

गाउँपालिकाले वडा कार्यालयहरुको चालु खर्चतर्फ प्रत्येक वडालाई ७ लाख ५० हजारका दरले ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ प्रत्येक वडालाई २० लाखका दरले कुल एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

उपाध्यक्ष लिम्बुले प्रदेश सरकारको कानुनबमोजिम जनप्रतिनिधिको सुविधाका लागि ८२ लाख ५० हजार र आकस्मिक घटना तथा दीर्घरोगीको उपचार सहयोगकालागि १० लाख रुपैयाँ विनियोजन गरेको बताइन् ।

त्यस्तै, ह्यात्रुङ झरनाको सम्बर्धन तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि गाउँपालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । ह्यात्रुङ झरनालाई प्रदेश नं. १ कै नमुना पर्यटकीय गन्तव्यकोरुपमा विकास गर्नका लागि दीर्घकालिन योजनासहित झरनामा बाह्रै महिना पानीको स्रोत व्यवस्थापन, झरनासम्म पुग्ने सडकमार्ग मर्मतसम्भार लगायत पुर्वाधार निर्माणकालागि योजना निर्माण गरिएको उपाध्यक्ष लिम्बूले जानकारी दिइन् ।

त्यस्तै, गाउँपालिका भित्रका विद्यालयमा दिवाखाजा व्यवस्थापनकालागि ४८ लाख ५२ हजार रुपैयाँ र पाठ्यपुस्तकका लागि २० लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राहरुलाई निशुल्क स्यानिटरी प्याडको व्यवस्थापनका लागि ९ लाख १५ हजार रुपैयाँ छुट्याएको छ ।

त्यस्तै, गाउँपालिका क्षेत्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन गाउँपालिकाले २० लाख रुपैयाँ छुट्याएको छ भने स्वास्थ्य वीमाका लागि १० लाख रुपैयाँ र परिवार कल्याण कार्यक्रमका लागि ३९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

पुर्वाधारतर्फ सबैभन्दा धेरै बजेट औंशीडाँडा भ्यागुत्ते ढुंगा सडकमा छुट्याइएको छ ।

सो सडकका लागि गाउँपालिकाले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्रै भवन निर्माण गर्ने गरी बजेटको सुनिश्चतता गरिएको उपाध्यक्ष लिम्बूले बताइन् । त्यस्तै, गाउँपालिका क्षेत्रका गाउँ बस्तीलाई खरको छानोमुक्त बनाउन ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

पुर्ण पाठ पढ्नुहोस् ।

तपाईको प्रतिक्रिया