काठमाडौं । काठमाडौं उपत्यकाका १० ठाउँमा हैजाका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं र ललितपुरका १२ जनामा हैजा देखिएको छ। जसमध्ये आठ जना निको भइसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।

शुरुआतमा काठमाडौंको बागबजारमा हैजाका बिरामी भेटिएका थिए। त्यसपछि बागबजारसँगै डिल्लीबजार, नैकाप, थानकोट, कपन, बूढानिलकण्ठ, बालाजु, बोहराटार र बल्खुमा हैजाका जीवाणु फेला परेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, ललितपुरको सानेपामा पनि हैजाको जीवाणु भेटिएको छ। त्यहाँको पानी परीक्षण गर्दा हैजाका जीवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खानेपानीमा हैजाका जीवाणु भेटिएपछि काठमाडौं र ललितपुर महानगरपालिकाले सडक पेटीमा बिक्री हुने खानेकुरामा कडाइ गर्ने भएको छ। ललितपुरले सडक पेटीमा बिक्री हुने पानीपुरी र चटपटेमा रोक लगाएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले पनि सडक पेटीमा बिक्री हुने खानेकुरामा रोक लगाउने भएको छ। यसका लागि सचतेनामुलक कार्यक्रम पनि सञ्चालन गर्ने महानगरको तयारी छ।

शुरुआतमा बागबजार क्षेत्रका दुई जनामा हैजा देखिएको थियो। अहिले बढ्दै गएको छ। हैजाका बिरामीको संख्या १२ पुगेको छ।

खानपिनमा ध्यान दिन र पानी उमालेर खान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया