भीम माबुहाङ, 

कुरा २०५२ सालको हो ।

गाउँघरको अलार्म घन्टी, भाले बास्यो ! ए माक्चंगे गाई दोएर ल्या ! कुमारी एकमाने भाँडामा भात राख। ए सान्ते बाहिर घर लिप-पोत गर ! आमाले एकै चोटि श्रृंखलावद्ध रुपमा घरका सहयोगीहरुलाई आदेश दिनुहुन्छ।

आमाको आवाजले म पनि निन्द्राबाट ब्यूझिएँ, आँखा खोल्ने बित्तिकै दिमागमा एकैपटक झट्का लाग्छ, ओ.. हो.. आज त लाहुरे लाग्नु पर्ने ! तिल्कु गाईको दुध र एकमाना अट्टे चामलको भात खाएर म लाहुर जानको लागि तमतयार भएँ । आमा मेरो सामु उभिएर आँखाको डिलमा आएका आँसुका दानाहरु पन्छाउँदै, प्याजका पत्रा झैँ पत्रै-पत्रा भएको बाघमुखे थैलीबाट बेरिएको पाँच सयको नोट निकालेर आँसुले भिजेको हातले मलाई थमाई दिनुहुन्छ।

टाँडमाथिबाट विदाई गर्न बाबा खोक्दै ओर्लिनुहुन्छ। कमिजबाट तीन हजार रुपैयाँ झिकेर मेरो पाइन्टको भित्री गोजीमा घुसारि दिंदै भन्नुहुन्छ.. हिजो छिप्रे बहर गोरु वरबुंगे कान्छालाई बेचेर ल्याएको पैसा हो यो। होसियार गर्नु । बाटोमा खस्ला । गाडीमा पकेटमाराहरुले चोर्लान्। सचेत रहुनु। संगै सजग, सतर्क र चनाखो रहनु। पैसा हरायो भने विजोग हुन्छस्। घर माथिको कालिका देवी छ्याप्छ्याप्ती छ । कालो पाठी भाकल गरेर जानु ।

बाबाको अमृतमय अर्ती-उपदेशहरु हृदयको कुनामा सुरक्षित राख्दै , गाउँघरको हरियालीपुर्ण प्रकृति आफु जन्मेको माटोको सुगन्धबाट मन मोडी, दायाँबायाँ साथीस‌ङ्गी छरछिमेकहरुलाई हात हल्लाउँदै, आँखाबाट बग्न खोजेका आँसुलाई गलबन्दीले पुछ्दै लाहुरे हुने ठुलो आकांक्षाको झोला बोकेर बाटो लाग्छु ।

त्यो वेलाको मुसाङ्खेल गाउँको विकट उकालो काटेर बसन्तपुर बजारबाट धरान जाने गाडी पकड्नु छ, म हुईंकिन्छु बेतोडले। उकालो लाग्दै गर्दा आफू जन्मेको घर, खेलेको आँगन, सल्लाघारी, पाखाभित्ताहरु, विस्तारै ओझेल पर्दै जान्छन् ।

पढेको स्कुल । खेलेका मैदान। डुलेका पाखा पंधेरा। घुमेको वन-वुट्यानहरु । वर – पिपलका शितल छाहारीहरु। पसिना पुछेर आराम गर्ने चौतारीहरु। एकपछि अर्को गर्दै छोडिन्दै जान्छन्। देउराली र भन्ज्यांङहरु। गल्लीका मोडहरु । बाटाका घुम्तीहरु। नेटा र कुईनेटाहरु। मेरा चिन्तन मनन् गर्ने चुचेढुंगा बिसौनी सवै सवै नाघिन्दै जान्छन् ।

हातमा छैन घडी । आकाशमा घाम हेर्छु। चामचिङ डाँडामाथि दुई जुवा चडिसकेछ । म निरन्तर उकालो बतिन्छु। बहर गोरुको जस्तो जोश। पहाडको पोसिलो हावापानीले बनेको शरीर। पृथ्वी बोक्छु भन्ने वल र बैंस। पहाड फाल्छु भन्ने आंट । ठाडो उकालो छिचोल्न कुनै भारी त हुँदैन मलाई। गाउँ सिरानको अग्ला डाँडाको भूईकुहिरोसँग केहीछिन लुकामारी खेलेपछि पुग्छु वसन्तपुर वजार।

टेंडे.. टेंडे गाडीको हर्न लाग्छ। ५५ रुपैयाँको टिकट काटेर बसभित्र छिरेपछि शुरु हुन्छ बसमा धरान हुंदै …भर्ती केन्द्र पोखराको यात्रा । त्यो समयको कच्ची बाटो । दुई अढाई घण्टा बस भित्र रोटेपिंग खेल्दै चित्रे , सिधुवा र जोरपाटी हिलेबजार पुगियो । यो बजार बाट कालो पत्रे बाटो सुरु हुने भएकोले गर्दा बस यात्रा भने केही सहज हुने आशा थियो । बसको झ्याल बाट छिरेका शितल हावाका झोक्काहरु मेरा कलिला गालामा ठोकिन्न थाल्छन्। साढे सत्र वर्षको उमेर ।

धरान देखि उताको संसार कस्तो छ, त्यो बेलासम्म थाहा थिएन । ईटहरीबाट पोखराको बस पकड्नु पर्छ भन्ने ज्ञानबाहेक अरु केही कुराको अत्तोपत्तो छैन। हुरीले उढाएको पत्कर झैँ एककिसिमले गन्तव्यविहिन ढंगले बसमा हुँइकिरहेको थिएँ ।

मन-मष्तिस्क भरि आठ कक्षाको भूगोलमा पढेका पोखराको फेवाताल, रुपाताल, वेगनासताल, ती नेपालका सुमन्द्रहरु कस्ता होलान् भन्ने हुटहुटी थियो। महेन्द्र गुफा, सेती नदी । माछापुच्छ्रे हिमाल कस्तो होलान् ? मेरो मन कल्पनाको सागरमा भाँसिन्दै गर्दा थाहै नपाई धरानको भानुचोकमा गाडीको ब्रेक लाग्छ।

बेलुकी पख ईटहरीबाट पोखरा जाने अन्तिम गाडी फेला पार्छु। सिट सबै बुक भईसकेकोले मलाई एउटा मुडा खलासीले उपलव्ध गराइदिए। त्यही मुडामा बसेर म हानिन्छु पोखरातिर। तराईको तेर्सो फाँट । त्यो जमना, यातातातको चाप थोरै । खाली सडक। दौडिन्छ गाडी दुर्त गतिमा ।

पुन एकपटक म कल्पनाको महासागरमा डुबुल्कि मार्न थाल्छु । पोखराबाट छनोट भएर राजधानी काठमाडौं लैजान्छ । काठमाडौं कस्तो होला ? त्यहाँ भन्दा उताको संसार, आ.. हा सिंगापुर, वेलायत झनै कस्तो होला। लाहुरे भए पश्चात पैसाको बिटा हातमा पेरका कल्पना गर्छु। गलामा सिक्री। हातमा औठी । खुट्टामा मंहगा स्पोर्ट जुत्ता। काँधमा लामो क्यासेट । आमालाई सुन कति तोला दिने ।

सिंगापुर पुगे लगत्तै सुरु हुन्छ हाम्रो नौ महिने आधारभूत प्रशिक्षण। नियतिले थमाई दिन्छ, हातमा राईफल। प्रशिक्षकहरु भन्थे, ‘ल केटा हो, यो तिमीहरुको कान्छी स्वास्नी। के अरे .. कान्छी स्वास्नी ।’ विवाह नगरी स्वास्नी पाउँदा आफैँ हेरा-हेर गेरर छक्क परेका थियौँ हामी।

दिदी बहिनीलाई कति ? सुँगुर धोया ल्याउनेलाई कति ? यस्तै, त्यस्तै कल्पनाको नदी डुब्दै, बग्दै र तैरिन्दै गर्दा भुसुक्कै निदाएर एकै पटक पोखरा बसपार्क गाडीले फाल्दा मात्र म झसंग भएँ ।

मंसिरको महिना जाडोले लग-लग काँम्दै ज्यान तताउन वरपर चिया पसल खोज्छु। यतिनै खेर सुनको गजुर जस्तै बिहानीको घाममा टल्किएको माछापुच्छ्रे हिमालसँग म आमुने-सामुने हुन पुग्छु। केहीवेर चकित हुन्छु।

हिमालतिर टोलाएर मन्त्रमुग्द बन्छु। अलिकपर पसलमा आगोको ताप माथि सानो भाँडामा उडिरहेको चियाको वाफ र छेउमा भुटेर रातो-रातो बनाएर थालमा सजायर राखेको अण्डाले मेरो ध्यानाकर्षण गर्छ। वसन्तपुर वजारमा एक रुपैयाँ गोटा अण्डा खाएको बानी पोखरामा तिन रुपैयाँ तिर्नु परेको थियो ।

बिहानीको घामका किरणहरु सुन्दर नगरी पोखरामा पोखिन थाल्छन्। विस्तारै दिन छिपिन्दै जान्छ। म निर्धारित समयमा पुग्छु व्रिटिस क्याम्पको पोखराको गेटमा। ए. आर. ओ ले दिएको पहेँलो गेटपासको कागज देखाएपछि, मलाई भित्र भर्ती क्याम्प जाने आदेश मिल्छ।

भर्ती केन्द्रमा पुर्व मेची देखि पश्चिम महाकालीसम्मका लक्का जवानहरु चुपचाप बगैँचाको रुख झैँ मिलेर उभिएका हुन्छन् । एक अर्कामा चिनजान छैन । बोलचाल छैन। साईनो सम्बन्ध के हो केही थाहा छैन। शिकारीले तर्साएर आमा बिनाका मृगका सावकहरु जस्तै कान ठाडो-ठाडो पारेर तर्सिएर उभिएका थियौँ हामी ।

एउटा ठुलो नम्वर भएको भोटो, स्टिलको थाल, हरियो लावरको मग, कालो कम्वल र एउटा सुत्ने किट म्याट जनही बाँडिन्छ। मैले नम्वर पाउँछु नम्वर ‘एक सय चवन्न’।

यी समानहरु हातमा पर्नु सँग-सँगै सुरु हुन्छ कठोर फलामे अनुशासन। हाम्रो उपनाम हुन्छ ‘आधा लाहुरे’। कहिले कवाज र दौड। कहिले नलेज टेस्ट र आई क्यू टेस्ट। कहिले खेलकुद कहिले त कमाण्ड टाक्स। यस्तै उस्तै गर्दै परिक्षाका दिनहरु वित्दै जान्छन्। काली खोलादेखि उकालो, हरिहर गुफा हुँदै भलाम डाँडा सम्मका डोकोमा भारी बोकेर उकालो कुद्ने दौडको अन्तिम परिक्षा सकेको केहीदिन पछि आउंछ छनोटको परिणाम।

झण्डै डेढ महिना भर्ती केन्द्रमा बसे पश्चात् छनोटका लागि आएका युवाहरु सवैलाई गेट देखि बाहिर निकालिन्छ। भित्रबाट गोरा साहेवले बोलाउन थाल्छ नम्वर माईक बाट। आफ्नो छातीको नम्वर आएका जवानहरु उफ्रेर जोसका साथ गेटबाट भित्र फुत्त-फुत्त छिर्छन्। उनीहरु अव घोषितरुपमा लाहुरे हुन्छन्। वेलायत जाने नम्वर बोलाइ सकियो । मेरो भने नम्वर आएन । सुरु हुन्छ सिंगापुर भर्ती जानेको नम्वर । एकसय जनाको नम्वर आईसक्यो ।

मेरो दाँया बाँया बसेकाहरु संगैका साथीहरु झोला र ब्यागहरु मेरो छेउमा फाल्दै भित्र छिरिसके। म भने आत्तिएको थिएँ, नामै नआउने पो हो कि भनेर ! ओठ तालु सुकिसकेको थियो । भएजत्ति सबै देवीदेवताहरु मनमा पुकार्दै थिएँ । बल्ल गोराले मेरो पनि नाम बोलाए, ११९ नम्वरमा ।

साथीभाईले छोडेका पोकापुन्तुरा अर्कालाई पास गरेर गोजीमा भएको दुई हजार रुपैयाँ पैसा पनि छोडिएका मित्रलाई छोडेर भित्र छिर्छु । म पनि अब आधिकारिक रुपमा सिंगापुरे लाहुरे। निकै उत्साहित भएको थिएँ । सन् १८१६ सुगौली सन्धिलाई निरन्तरता दिने एक पात्र बन्छु ।

नयाँ भुगोल । भू-मध्यरेखीय हावापानी। धर्ती डढाउँला जस्तो घाम । चर्को गर्मी । कठिन तालिमले छालाको गोरोपन हराएको थियो, हाम्रो ज्यान मरिसकेको अवस्था थियो । संवेदनाको सबै ग्रन्थीहरु लोतो भएर न रिस, न त हाँसो । त्यहिमाथि प्रशिक्षकहरुको खस्रो बोली। अमानवीय व्यवहार । असजिलो र अनिँदो रातहरु। स्वीच थिचेर यन्त्र चल्न थालेझैँ आदेशमा चल्ने स्वचालित मेसिन झैँ भएका थियौँ ।

मेरो नाम आएर भित्र जाँदै गर्दा एक उदयपुरको साथी उच्च ओहदाको डी.आर. ओ. गोरा साहेवको अन्तर्वार्ता दिन जाँदा शिशाको ढोकालाई खुल्ला जस्तो देखेर टाउको ठोकाएर रगताम्मे भएर ढोका नै फोरिदिने पनि भर्ती भईसकेको देख्छु। सबै साथीहरुले यो त फेल हु्न्छ भने आंकलन गर्ने गर्थे उही नै पो पहिला भर्ती भएछ। अर्को ताप्लेजुंङको मित्र ट्वाईलेट भित्र गएर ढोका खोलेर बाहिर आउन नजानेर पर्खालमाथि बाट चढेर निस्कँदा घाईते भएको मान्छे पनि भर्ती भई भित्र पसिसकेको रहेछ।

गोराहरुले यस्तैबाट चिन्दा रहेछन् सोझा गाउँका निखर यूवा भनेर। अझ रोचक कुरा एक पश्चिमको मित्र व्लट प्रेसर हाई भएको कुरालाई मेडिकल जाँचमा छल्नको लागि चेकमा जानु भन्दा केहीवेर अगाडि हस्तमैथुन गर्दा झन् प्रेसर बढेर दोहोर जाँचमा परेर पास भएको मित्र पनि भर्ती भईसकेको रहेछ।

अब हाम्रो कपाल काट्ने पालो थियो, लाहुरे कट। हामीलाई इाइटेक जुत्ता दिइयो । युनिफर्म, पेटी, टोपी, ब्याग सबै बन्दोवस्त र लत्ताकपडाहरु पुर्ण रुपमा उपलव्ध गराईन्छ। केहीदिन भर्ती केन्द्रमा आधारभुत कवाजका तालिम पश्चात हाम्रो जत्थालाई काठमाडौँ स्थान्नतरण गरिन्छ। पोखरालाई बाई-बाई गर्दै गर्दा एक जना नचिनेको चेलीले टिका लगाई दिन्छे। हामीसँग स-साना नोट हुँदैन सबैले एक-एक हजार दिन्छौँ । को हुन् ती अन्जान चेली थाहा छैन। तर तिनले केही क्षणमा १ लाख पैतीस हजार कमाइन्। कसैलाई पैसा कमाउन कति सजिलो। केही क्षण मेरो मस्तिष्क जिज्ञासाले भरिन्छ।

त्यो समयको प्रचलित गीत ‘लाहुरे दाईको रेलि मै फेसनै राम्रो रातो रुमाल .. ‘ भन्ने गीत घन्क्याउँदै हरियो किट म्याटमा हाम्रो समानहरु खाँदेर लागियो राजधानी तिर। केहीदिन काठमाडौं बसेपछि परराष्ट्र मन्त्रालयमा हाम्रो पासपोर्ट बन्यो । त्यसपछि तय भयो हाम्रो सिंगापुर यात्रा।

हावाईजहाजको पांग्राले भुई छोड्दै गर्दा मनमा अमिलो, मुटु गह्रौँ भएता पनि जहाज भित्रका आकाशे सुन्दरीहरु देखेर हामी सबै रनभुल्ल हुन्छौँ। बैंस विष्फोट होला जस्तो जवानी भएका ती सुन्दरीहरु, मुसु्क्क हाँस्दा हामी सबैको धड्कन बढ्थ्यो।। ओठमा गुलावी मुस्कान । मुहारमा चाँदनी चमक। गालामा स्याउरंगी सुन्दरता। छिनेको लचकदार कम्मर ! हेर्दै हामी सबै लल्याक-लुलुक हुन्थ्यौँ। घरि-घरि हामीलाई गाईड गर्ने गुरुजीहरुले ओ .. ए.. केटा हो ज्यान छाड्लास् ! भनेर सतर्क गराउँथे। हामी झस्किन्थ्यौ !

सिंगापुर पुगे लगत्तै सुरु हुन्छ हाम्रो नौ महिने आधारभूत प्रशिक्षण। नियतिले थमाई दिन्छ, हातमा राईफल। प्रशिक्षकहरु भन्थे, ‘ल केटा हो, यो तिमीहरुको कान्छी स्वास्नी। के अरे .. कान्छी स्वास्नी ।’ विवाह नगरी स्वास्नी पाउँदा आफैँ हेरा-हेर गेरर छक्क परेका थियौँ हामी। राईफललाई हेरक क्षण हेरक ठाउँ जहाँ गएपनि स्वास्नीलाई झैँ च्यापेर माया गरेर हिंडनु पर्ने भएकोले यसो भनेको रहेछ भन्ने कुरा पछि मात्र हामीलाई थाहा हुन्छ।

दौड, कवाज, हातहतियार, गोली बारुद चलाउने सीपहरु। पौडी खेल्ने कला। आफु कसरी बच्ने र दुश्मनलाई सिध्याउने कार्यनीति रणनीतिहरु सम्बन्धी प्रशिक्षण चल्छ निरन्तर ।

नयाँ भुगोल । भू-मध्यरेखीय हावापानी। धर्ती डढाउँला जस्तो घाम । चर्को गर्मी । कठिन तालिमले छालाको गोरोपन हराएको थियो, हाम्रो ज्यान मरिसकेको अवस्था थियो । संवेदनाको सबै ग्रन्थीहरु लोतो भएर न रिस, न त हाँसो । त्यहिमाथि प्रशिक्षकहरुको खस्रो बोली। अमानवीय व्यवहार । असजिलो र अनिँदो रातहरु। स्वीच थिचेर यन्त्र चल्न थालेझैँ आदेशमा चल्ने स्वचालित पुर्जा झैँ भएका थियौँ ।

वेलुकी पख तालिमको केही ब्रेकमा घरको सम्झनाले निथ्रुक्क हुन्थ्यौँ । ज्यान सिंगापुरमा भएपनि आत्मा गाउँमा नै डुलिरहको हुन्थ्यो। केही क्षण भएपनि मातृभूमिको मन डुलाउन पाउँदा मन फुरुङ्ग हुन्थ्यो। बाल्यकालका दिनहरु आँखामा नाच्दथे। गोठाला जाँदा, गोरुको पुच्छर समाति गोरुले आफुलाई माथि तान्दा बिघ्न मज़ा आएका ती क्षणहरु।

चराको गुँड पत्ता लगाएर बचेरा पाएमा भाग्यमानी ठानी खुसी भएका समयहरु। हिउँदमा कसले दाउरा चाँङ धेरै थुपार्ने भन्ने विषयको प्रतिस्पर्धा गरेका अनेक यस्ता-उस्ता सम्झनाहरु मनमस्तिष्क भरि ठेलमठेल भएर आउँथे।

नौ महिनाको कठोर तालिम पश्चात हामी विभिन्न कम्पनीहरु जोडिन पु्ग्छौँ। अब भने हामीलाई केही हदको स्वतन्त्रता मिल्छ । आफैँ बैंकबाट पैसा निकाल्न सक्छौँ। खुसीले दायाँबायाँ भ्रमणमा निस्कन सक्ने। आफुले चाहेको अनुसारको खाने । रुचाएको कपडा किनेर लगाउने आदि कामहरु गर्ने स्वतन्त्रता हामीलाई मिल्छ।
अब हाम्रो दैनिक क्रियाकलाप डिउटी आउने जाने, घरि-घरि तालिम, यसै-उसै गर्दा गर्दै तीन वर्ष पनि पूरा हुन्छ। पहिलो छु्ट्टीको सपिङ सुरु हुन्छ। सुनको १० तोलाको ढ्याक किन्छौँ। तीन वर्षमा बल्ल-बल्ल पाएको विदा उपयोग गर्न हामी लत्ता कपडा सुटकेस बोकेर मातृभुमि फर्कने यात्रा तय हुन्छ।

मातृभुमि पितृभूमि काखमा फर्कने तिव्रता र उत्सुकता साथ सिंगापुरबाट काठमाडौंको लागि हामी प्रस्थान हुन्छौँ। जहाजको पांग्राले भूई छोड्दै उचाई लिन थाल्छ। विमानको झ्यालबाट देखिने बादलपारिका नीलो संसार। अनन्त आकाश। आफुलाई लिएर उडारहेको विमान घरिघरि बाक्लो बादल भित्र झ्वाम्मै पसेर हराउँदा मनमा उत्पन्न हुने भय विस्मातका तरङ्गहरु। तल देखिने भु-खण्डहरु । यस्तै उस्तै दृष्यहरु हेर्दा-हेर्दै मनमा अनकौँ तर्कनाहरु गर्दा-गर्दै विमान भारतको विहार प्रान्त कटेर नेपालको सिमाना प्रवेश गर्छ ।

३ वर्ष पश्चात अकस्मात् म लाहुरे सुट-बुटका साथ आफ्नै गाउँमा उदाउँछु । गाउँका बुढ़ा-पाका, तरुना-तन्नेरी मेरो वरिपरि चाकामा मौरी झुम्मिए झैँ झुम्मिन्छन्। मैले लगाएको लुगाफाटा जुत्ता, क्यासेट, सुटकेसहरु हेरेर सबै आश्चर्य चकित हुन्छन्। म लाहुरे भ्यागुत्त फुले झैँ फुलेर बस्छु।

विमानको झ्यालबाट उत्तरका हिमशृंखलाहरु चाँदनी मुस्कानमा लामबद्द भएर स्वागतमा उभिएका हुन्छन्। आ..हा हिमाल मुनिको मेरो देश । अलि तल पहाड, र त्यसपछि समतल मैदान। प्रकृतिको यस्तो अद्भुत सौन्दर्यता बोकेको मेरो दैश ! ज्यान भरि हर्षका तरंङ्गहरु पोइतलादेखि टुप्पीसम्म दौडिदै खुशीको थोपा भएर आँखाबाट अनायसै झर्छन्।

विमान त्रिभुवन एयरपोर्टको जमीन लम्कन्दै गर्दा काठमाडौं उपत्यका वरपरका डाँडा पाखाहरु पाखुरा फैलाएर अँगालो हाल्न तयारी भएर बसे झैँ देखिन्छन्, ३ वर्ष पश्चात् मातृभूमिको काखमा फर्कन्दा । आफ्नो माटोमा टेक्न पाउँदा । आफ्नै माटोको सुगन्ध बोकेर दौडिने हावाको सास लिन पाउँदा । हिउँको सुगन्ध मिसिएको ताजा बतासको स्पर्सले मेरो शरीरमा छोएर भाग्दा केहीवेर मेरो मन मुटुबाट आनन्दको बाढीपहिरो उर्लिएर आयो।

राजधानी काठामाडौंमा ओर्लेपछि आफ्नै थातथलो पुग्ने हुटहुटी खप्न नसकेपछि म हुइकिन्छु वसन्तपुर वजार मुसाङ्खेल गाउँ। आफ्नै धर्तीको टुक्रा। टुसाउँदै, लहराउँदै, झ्याम्मिएको ठाउँ । वर्षातले पखालेर चम्किलो पारेको भव्य तीनजुरे पहाड र मकालु हिमालबाट चलेका शीतल वायुहरु हतारिन्दै मेरो शरीर छोएर खुशीका सन्देश दिन्छन् । म बुझ्दछु प्रकृतिको भाषा । गाउँघरमा हुर्कि देश-विदेश चाहारेर फेरि आफ्नै माटोसंग जोडिन पुग्छु। पुर्खाको रगत र पसिनाले खडा गरेको मेरो घर आँगनमा पुन एक पटक मेरा पाईला पर्दछन्।

३ वर्ष पश्चात अकस्मात् म लाहुरे सुट-बुटका साथ आफ्नै गाउँमा उदाउँछु । गाउँका बुढ़ा-पाका, तरुना-तन्नेरी मेरो वरिपरि चाकामा मौरी झुम्मिए झैँ झुम्मिन्छन्। मैले लगाएको लुगाफाटा जुत्ता, क्यासेट, सुटकेसहरु हेरेर सबै आश्चर्य चकित हुन्छन्। म लाहुरे भ्यागुत्त फुले झैँ फुलेर बस्छु। मेरा अगाडि क्यासेट र संगीत कर्कश ध्वनि गुन्जिईरहन्छ। त्यतिकैमा मारवोरो सिग्रेट झिकेर चुरोट बुढापाकाहरुलाई बाँड्छु ।

खोस्टामा सुर्ती बेरेर खाने पखेरे कान्छा दाईको ओठबाट हाँसोको फोहोराहरु छुट्छन्। गोल्डेन खैनी च्याप्ने भिन्नारसिहं तुम्वाको चौरी परेको अनुहारमा पनि हर्षका ईन्द्रेणी झल्किन्छन्। शेरबहादुर तुम्बाले हुस्की चुस्की तानी जीब्रो पड्काउंदै भाग्यमानी हुनु भनेर आशिर्वाद दिन्छन्। भर्खर जुँगाका रेखी बसेका तन्नेरीहरु मेरो सरसमानहरु डराई डराई सुमसुम्याउँछन्।

म तोंवा तान्दै विदेशका कुरा सुनाउँछु उनीहरु मन्त्र मुग्ध भएर सुनिरहन्छन्। स्वर्गमा उडे जस्ता ती विगतका क्षणहरु मानसपटलमा घरी घरी जाग्छन्। वेला-वेला यी स्मृतिका जुलुसहरु भएर निस्कन्छन् । र, आनन्दको पोखरीमा डुवाईदिन्छन्।

तपाईको प्रतिक्रिया