काठमाडौं । देश कोरोनाले थलिएको थियो । कोरोनाकै कारण संसद् ठप्प भयो । संसदीय समितिका बैठक र राजनीतिक भेटघाट सबै बन्द भए । बन्दाबन्दीले काठमाडौं त सुनसान बन्यो तर महामारीले जनताको मनमा कोलाहल मच्चाएको थियो । तेह्रथुमबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ बन्दाबन्दीकै बीच गाउँ पुगे ।

नतासँग महामारीको सुखदु:ख बाँडे । जनतासँगै खेती किसानीमा लागे । उनले हलो जोत्दै गरेको तस्बिर कसैले खिच्यो, र सामाजिक सञ्जालमा राखिदियो । उनको त्यो तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यो बेलामात्रै होइन, उनी अरुबेला पनि गाउँ फर्किंदा आफैँले हलो जोत्छन् ।

करिब दुई दशकदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी कृषिलाई नै मुल पेसा मान्छन् । ‘म त गाउँघरको मान्छे । खेती किसान गरिरहेको छु, यसो दिन काट्ने मेलो,’ आफूले जोत्दै गरेको फोटो भाइरल भएपछि खापुङलेसँग भनेका थिए, ‘सांसद भएर पनि जोतेको भनेर अनौठो मानियो होला । म त किसान नै परेँ । नौलो कुरा भएन, पहिलेदेखि गरिल्याएकै काम हो ।’

तेह्रथुममै जन्मिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहमन्त्री र एमाले अध्यक्ष केपी ओली त प्रधानमन्त्री नै बने । तर, ०४८ सालपछि तेह्रथुमकै जनताले जिताएका जनप्रतिनिधिमध्ये मुलुकको कार्यकारी भूमिका पाउने खापुङ नै पहिलो व्यक्ति हुन् ।

स्वच्छ छवि, असल व्यवहार । कसैलाई नदुखाउने र नबिझाउने स्वभाव, साधारण जीवनशैली । त्यही स्वभाव र लगाबले जागिर छाडेर राजनीतिमा लागेका खापुङलाई ६० वर्षको उमेरमा सिंहदरबार प्रवेश गराएको छ ।

नौ महिना अघि स्वास्थ्यराज्यमन्त्री बनेका खापुङ आइतबार स्वास्थ्यमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका हुन् ।

खापुङले आफ्नो जीवनका ८ वर्ष गाउँकै विद्यालयमा शिक्षण गरे । त्यही कारण उनलाई अहिले पनि गाउँलेले ‘भवानी सर’ भनेर बोलाउँछन् । शिक्षण छाडेर ०५६ को स्थानीय चुनावमा मोराहाङ गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएका खापुङ राज्यमन्त्री हुँदै मन्त्रीका रुपमा सिंहदरबार छिरेका हुन् ।

०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ ०७० मा तेह्रथुमबाटै निर्वाचित भएका थिए ।

०७४ मा उनी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै तेह्रथुमवासीको जनप्रतिनिधिको रुपमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए । खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए ।

गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन् ।

 

तेह्रथुमबाट निर्वाचितमध्ये नै पहिलो मन्त्री

बहुदल स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट राज्यको कार्यकारी पदमा पुग्ने खापुङ एक्ला व्यक्ति हुन् । काठमाडौंले तेह्रथुमतिर हेरेर भन्छ–तेह्रथुम एमालेको गढ हो । बहुदल स्थापनापछि ६ वटा आमचुनाव भए ।

तेह्रथुमवासीले एमालेका विजय सुब्बालाई २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बालाई १–१ पटक र एमालेकै भवानी खापुङलाई २ पटक चुनेर पठाए । ५ पटक चुनाव जित्दा पनि एमालेले तेह्रथुमलाई कार्यकारी भूमिका दिएनँ ।

त्यसो त, तेह्रथुमको प्रतिनिधित्व गरेर दर्जनौं व्यक्ति मन्त्री बने । तेह्रथुममै जन्मिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहमन्त्री र एमाले अध्यक्ष केपी ओली त प्रधानमन्त्री नै बने । तर, ०४८ सालपछि तेह्रथुमकै जनताले जिताएका जनप्रतिनिधिमध्ये मुलुकको कार्यकारी भूमिका पाउने खापुङ नै पहिलो व्यक्ति हुन् । यसअघि कांग्रेसबाट समानुपातिकतर्फ निर्वार्चित सांसद सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।

५ वटा चुनाव जितेको एमालेले तेह्रथुमबाट निर्वाचित कसैलाई पनि मन्त्री बनाएको छैन । खापुङले पनि मुलुकको कार्यकारी पदमा पुग्न एमाले परित्याग नै गर्नुपरेको छ ।

०४८ मा एमालेबाट विजय सुब्बाले चुनाव जितेका थिए । तर, सुब्बा अहिलेसम्म पनि मन्त्री बन्न सकेका छैनन् । एमालेबाटै ०५१ मा विजयी सुरेन्द्र फोम्बो अहिले नेपाली राजनीतिमै छैनन् । ०५४ पनि तेह्रथुमबाट एमालेले सुब्बालाई नै उठायो । उनी निर्वाचित पनि भए, तर राज्यको कार्यकारी भूमिका पाएनन् ।

सुब्बाले ०६४ र ०७० मा टिकट पाएनन् । त्यसबीचमा उनी अशोक राईले पार्टी फुटाउँदा उनीसँगै गए । पछि एमालेमा फर्किएका सुब्बा अहिले समानुपातिकतर्फ सांसद छन्, तर उनी एकपटक पनि मन्त्री भएका छैनन् ।

सुब्बापछि एमाले महासचिव माधवकुमार नेपालले तेह्रथुममा खापुङलाई अघि बढाए । विद्यार्थीकालबाटै राजनीतिमा आएका खापुङ शिक्षण छाडेर एमालेबाट गाविस अध्यक्ष जितेपछि सक्रिय राजनीतिमा आए । उनी पटक–पटक जिल्ला कमिटी सचिवमा सर्वसम्मत निर्वाचित भएर काम गरे ।

०६६ को जिल्ला अधिवेशनबाट उनी एमालेको जिल्ला अध्यक्ष भए । ०६९ मा केन्द्रीय अनुशासन आयोगको सदस्य भएर काम गरे । एमालेमा माधवकुमार नेपालको पक्षमा खुलेर संगठन गरेका खापुङ अहिले एमाले विभाजित हुँदा पनि नेपालसँगै नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।

५ वटा चुनाव जितेको एमालेले तेह्रथुमबाट निर्वाचित कसैलाई पनि मन्त्री बनाएको छैन । खापुङले पनि मुलुकको कार्यकारी पदमा पुग्न एमाले परित्याग नै गर्नुपरेको छ ।

पूर्वप्रधानमन्त्री ओली तेह्रथुमकै इवामा जन्मिएका हुन् भने पूर्वगृहमन्त्री सिटौला संक्रान्तिबजारमा । तेह्रथुममै जन्मिए पनि अन्यत्रबाट निर्वाचित भएका भानुभक्त ढकाल, शिवमाया तुम्बाहाङ्फेलगायत यसअघि पनि मन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया