तेह्रथुम । फेदाप गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँसभामा अध्यक्ष केशवप्रसाद भेटुवालले गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अध्यक्ष भेटुवालले ‘सुशासन पारदर्शिता र जवाफदेहीता, फेदाप सरकारको प्रतिवद्धता’ भन्ने नारासहित गाउँपालिकाको अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजनाहरु तय गरिएको बताए ।

गाउँपालिकाले गरिबी न्युनिकरण गर्न अध्यक्ष रोजगार कार्यक्रम सन्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले स्थानिय स्तरमा कृषि तथा वनजन्य लघु उद्योगहरुको स्थापना र विकास गरी रोजगारी सिर्जना मार्फत गरिबी न्युनीकरण गर्न अध्यक्ष रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउने अध्यक्ष भेटुवालले बताए ।

गाउँपालिकाले कृषि तथा पशुपालनलाई परम्परागत र निर्वाहमुखी प्रणालीबाट रुपान्तरण गरि आधुनिक व्यवसायिक र निर्यातमुखि बनाउन प्रोत्साहित गर्ने नीति लिएको छ । गाउँपालिकाले ‘विषादीमुक्त फेदाप’ नीति अवलम्बन गरेको छ भने जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गरि रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने जनाएको छ । त्यस्तै, जग्गा बाँझा राख्न नपाइने र जग्गाधनी आफैंले खेती गर्न नसके कृषि फर्म वा सहकारीहरुलाई न्यूनतम भाडामा दिनुपर्ने गाउँपालिकाको सर्त छ ।

गाउँपालिकाले तरकारी खेतीको लागि विशेष पकेट क्षेत्र निर्धारण गर्ने, वायोचार पद्धति भित्र्याउन अगुवा कृषक, कृषि फर्म का सञ्चालक तथा सहकारीहरुलाई तालिम दिने, अति विपन्न परिवारका महिलाहरुलाई बाख्रापालन र बंगुरपालन कार्यमा प्रोत्साहन गर्ने नीति लिएको छ ।

त्यस्तै, एक गाउँ एक उत्पादन साथै एक वडा एक रिचार्ज पोखरीको नीति मार्फत कृषि स्मार्ट गाउँ विकसित गर्ने नीति लिएको छ ।

गाउँपालिकाले आफ्नो विद्यालय आफै बनाउँ बालबालिकासंग हामी रमाउँ भन्ने नाराका साथ सामुदायिक विद्यालय शिक्षाको पहुँच वृद्दिकालागि काम गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका मा.वि.हरुमध्ये ५ वटा मा.वि.हरुलाई ई-हाजिरि सहितको नमुना विद्यालयको रुपमा अघि बढाउने, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकहरुलाई शिक्षा सुधारका लागि जिम्मेवार र जवाफदेही बनाउने नीति लिएको छ ।

गाउँपालिकाभित्र कम्तिमा एउटा प्राविधिक धारको शिक्षालय स्थापना र सन्चालन गर्ने, स्थानीय पाठ्यक्रम बनाई लागू गर्ने, सबै विद्यालयमा विद्युतीय पहुँच, शौचालय र सफा पिउने पानीको व्यवस्था मिलाउने नीति अघि सारेको छ ।

त्यस्तै गाउँपालिकाले “स्वास्थ्य विमामा सबैको सहभागीता निःशुल्क औषधी उपचारमा प्राथमिकता” भन्ने नारासहित विपन्न तथा गरिव समुदायमानिशुल्क स्वास्थ्य विमा कार्यक्रमको थालनी गर्ने अध्यक्ष भेटुवालले बताए ।

गाउँपालिका केन्द्रमा रहेको अस्पतालमा प्राथमिक आँखा उपचार केन्द्रसमेत स्थापना गर्ने भएको छ भने त्यहाँको सेवालाई २४ सैं घण्टा इमरजेन्सी सेवामा विस्तार गर्ने नीति छ । साथै डिजिटल एक्सरे, भिडियो एक्सरे र रेडियोलोजि सहितको सेवा संचालन गर्ने योजना रहेको अध्यक्ष भेटुवालले बताए ।

गाउँपालिकाले एक घर एक धाराको नीति अवलम्बन गरेको छ । सुख्खा क्षेत्र रहेको गाउँपालिकाका कतिपय वडामा खानेपानीको चरम समस्या छ । गाउँपालिकाले खानेपानीको मूल र श्रोतको खोज संरक्षण तथा व्यवस्थापन गरेर एक घर एक धारा अभियान चलाउने अध्यक्ष भेटुवालले बताए । गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने भएको छ भने प्रत्येक वडामा कम्तिमा ५ किमि सडक स्तरोन्नतीको कार्य प्राथमिकताका साथ अगाडी बढाउने भएको छ ।

यस्तो छ गाउँपालिकाको नीति तथा कार्यक्रम । 

तपाईको प्रतिक्रिया