काठमाडौं । महानगरपालिकाले ५२ अर्ब ५२ करोड ६२ लाख रूपैयाँ बराबरको बजेट ल्याएका छन् । देशका ६ महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदा महानगरहरुले सो बराबरको बजेट ल्याएका हुन् ।

कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक बर्षको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार नै आज बजेट प्रस्तुत गरेका छन् ।

बजेट प्रस्तुत भएका ५ महानगरमध्ये सबैभन्दा बढी काठमाडौैँ नगरपालिकाको बजेट रहेको छ । काठमाडौंको बजेट अरु ५ महानगरको भन्दा पनि बढी अर्थात् २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

योमध्ये २२ अर्ब ३६ करोड ९५ लाख २१ हजार रुपैयाँ स्रोतबाट र बाँकी ३ अर्ब ५ करोड १ लाख ४१ हजार रुपैयाँ सामाजिक सुरक्षा, प्रदेश र संघीय सरकारबाट प्राप्त हुन रकम र जग्गा एकीकरण आयोजना लगायतबाट बजेट विनियोजन गरेको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । यसअघि बजेट प्रस्तुत हुनअगाडि रातो किताब प्रकाशित गरेको भन्दै एमालेले जनप्रतिनिधिले बजेट पेश हुन नदिने भन्दै विरोध गरेको थियो ।

पोखरा महानगरपालिकामा अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोतको व्यवस्था गरिएको छ । बाँकी रहेको २ अर्ब ४० करोड चालु आर्थिक वर्षको खर्च नभएको बजेटबाट हुने छ ।

त्यस्तै, ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड  रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।  ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत् जनाएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को भन्दा झण्डै १ अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बजेटमा आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेटल्याएको छ। शुक्रबार नगरपालिकाको उपमेयर शिल्पा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।

विराटनगरको कुल बजेटमध्ये चालूतर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ र पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड, ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

सो महानगरले संघको अन्तरसरकारी वितिय हस्तान्तरणतर्फ १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख, राजस्व बाँडफाँटतर्फ १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आयतर्फ १ अर्ब, जनसहभागिताबाट ८ करोड र अनुदान तथा ऋणबाट १० करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उता, वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । वीरगञ्ज महानगरपालिकाको नगर सभाको ११ औं अधिवेशनमा उप प्रमुख ईम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमा  चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ विवियोजन गरिएको छ ।

महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेतबाट  १ अर्ब ७० करोड ६२ लाख ५८ हजार र मधेस प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत  ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने भएको छ ।

तपाईको प्रतिक्रिया