काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उपसभापति खड्कालाई प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विधानको धारा ३६ (१) (क) बमोजिम उपसभापति खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनीत गरेको जानकारी दिए ।

त्यस्तै, सभापति देउवाले दुई वटा भ्रातृ संस्थाको अध्यक्षसमेत मनोनयन गरेका छन् ।

सभापति देउवाले शुक्रबार नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गरेका हुन् । यसअघि बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेतृत्वबिहीन रहेका भ्रातृ संस्थाका पदाधिकारी नियुक्ति गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

मुख्यसचिव पौडेलकाअनुसार पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी भ्रातृ संघहरूको अध्यक्ष पदमा उनीहरूलाई नियुक्त गरिएको हो ।

तपाईको प्रतिक्रिया