तेह्रथुम । आठराई गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्ने भएको छ ।

गाउँपालिकाले सक्रान्तिबजारस्थित कृषि सेवा केन्द्रको जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेको हो । मंगलबार बसेको गाउँ कार्यपालिकाको दोस्रो बैठकले कृषि सेवा केन्द्रको जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सैद्धान्तिक सहमति जुटाएको प्रवक्ता कृष्णप्रसाद बाँस्कोटाले जानकारी दिए ।

‘जेठ ५ गते पदभार ग्रहणकै क्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले भवन निर्माण गर्ने निर्णय गर्नुभएको थियो । त्यही निर्णयअनुसार कृषि सेवा केन्द्र सक्रान्तिबजारको जग्गामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने ।

गाउँपालिकाले आफ्नै नगर प्रहरी स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । त्यसकालागि कार्यपालिका बैठकले नगर प्रहरी गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको हो । त्यस्तै, गाउँपालिका क्षेत्रका कर्मचारी र शिक्षकहरुलाई पुरस्कृत गर्ने मापदण्ड जारी गरेको छ ।

त्यस्तै, गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तहको सेवा प्रवाह तथा प्रचलित कानुनबारे अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

बैठकले वडा नं. ५ को पोखरी माध्यमिक विद्यालयको भवन निर्माणका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया