काठमाडौं । चार वर्षमा ६ करोड अकूत सम्पत्ति आर्जन गरेका एक बहालवाला नासुको चर्चा सेलाउन अर्का एक एक अवकाश प्राप्त नासुको दुई करोडभन्दा बढीको अकूत सम्पत्ति रहेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अवकाश प्राप्त नासु गणपति झाविरुद्ध करिब साढे दुई करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गणपतिले उनकी श्रीमति मीना र तीन छोराका नाममा २१ ठाउँमा व्यक्तिगत/स्वआर्जन उल्लेख गरेर जग्गा/जमिन देखाएका छन्। २०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव)बाट सरकारी सेवा प्रवेश गरेका धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा (साविक देवपुरा रुपैठा गाबिस–२) का ५८ वर्षीय गणपतिले २०७८ साउन ३ मा नासु पदबाट अवकाश पाएका थिए।

तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालय कैलाली र धनुषा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, डिभिजन सडक कार्यालय जनकपुर, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय जनकपुर, गृह मन्त्रालय र अवकाश हुँदा जिल्ला प्रशासन कार्यालय धनुषा गरी ८ स्थानमा कार्यरत झा धनुषा प्रशासनबाटै अनिवार्य अवकाशमा गएका थिए।

अख्तियारले सरकारी सेवामा छँदा गैरकानुनी सम्पत्ति कमाएर परिवारका नाममा राखेको कसुरमा पत्‍नी र तीन छोराविरुद्ध पनि मुद्दा दायर गरेको छ। अख्तियारले गणपति र उनका परिवारविरुद्ध दुई करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको वैध स्रोत नखुलेको उल्लेख छ। स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम एवं बिगो बराबरको जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

पैतृक सम्पत्ति वापत गणपतिले आफू र छोरा शिवाकरकुमार झाका नाममा धनुषाको देवपुरा रुपैठा २ मा १६ कठ्ठा ८ धुर जग्गा देखाएका छन्। अख्तियारले गणपति, पत्‍नी मीनादेवी झा, तीन छोरा दिवाकर, शिवाकर र करुणाकरसहित सम्पत्ति फिर्ता प्रयोजनका लागि बुहारीहरू क्रमशः प्रिति, प्रतिभा र प्रितिकुमारीमाथि अनुसन्धान गरेको थियो ।

यस्तै विभिन्न ११ बैंक वित्तीय संस्थामा १० लाख ६२ हजार ४ सय १२ रुपैयाँ मौज्दात रहेको खुलेको छ। उनले नीति कन्स्टक्सन प्रालि, करुणाकर प्रालि, तीन छोराको नाममा न्यु थ्री ब्रदर्स एण्ड विल्डर्स प्रालि खडा गरेका थिए। तीन वटै कम्पनीमा गणपतिले ३७ लाख ५० हजार लगानी गरेको उल्लेख गरेका छ। त्यसको पनि उनले वैध स्रोत खुलाउन सकेका छैनन्।

ट्याक्टर, लोडर, पावर ट्यांक ट्याक्टर, महेन्द्रा जीपलगायत १० वटा सवारी पनि गणपति र उनको परिवारका नाममा देखिएको छ।

यसअघि असार ३ गते चार वर्ष सरकारी सेवामा बसेर सवा ६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले गुल्मीका भीमकान्त भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया