काठमाडौँ । दुई वर्षे कोरोना कहरबाट थला परेका सबै क्षेत्रले आफ्नो लय समातिसकेका छन् । कोरोना कहरको असरबाट सदर चिडियाखाना पनि विस्तारै तंग्रिदै छ ।

चिडियाखानाको मुख्य आम्दानी स्रोत पर्यटक हुन् । तर, कोरोना महामारीसँगै सुरु भएको बन्दाबन्दीमा यसको असर चिडियाखानाको दैनिकीमा परेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषले कोरोना कालमा ‘एडप्ट एन एनिमल’ अर्थात् वन्यजन्तु अभिभावकत्व अभियान शुरु गरेको थियो । यस अभियानअन्तर्गत चिडियाखानाका वन्यजन्तुलाई आवश्यक आहारा, उपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने जनाइएको थियो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसे भन्छिन्, ‘१० महिने लकडाउनका बेला चिडियाखानामा परेको आर्थिक संकटले कर्मचारीले आधा तलबमा काम गरेका थिए, तर वन्यजन्तुको मामलामा कुनै जोखिम सम्झौता गरेनौँ, हामी कोरोनाकालमा जनावरहरुलाई सकुशल राख्न पनि सफल भयौंँ, यस महामारीमा धेरैले सहयोग गर्नु भयो, जसकारण कोरोना काल सहजै पार गर्न सफल भएका छौँ ।’

सहज वातावरणको खोजी

वि.सं. १९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराको निजी चिडियाखानाको रूपमा स्थापित वर्तमान सदर चिडियाखाना २००७ सालमा नेपाल सरकारको स्वामित्वमा आयो । त्यसपछि यसलाई २०११ पछि सर्वसाधारणका लागि खुला गरियो ।

६ हेक्टर जमिनमा फैलिएको सदर चिडियाखानामा वन्यजन्तु विचरणका लागि अर्पाप्त छ । ‘हामीले व्यवस्थापन गर्दागर्दै पनि यही संंरचनामात्र आधुनिक चिडियाखाना बनाउन पर्याप्त हुँदैन,’ सूचना अधिकारी चालिसे भन्छिन्, ‘आधुनिक चिडियाखाना तथा आधुनिक प्राणी उद्यानको कल्पना गर्छौं भने सानो क्षेत्रमा ठूला जनावर जस्तै हात्ती, बाघ, गैँडालाई राख्न सकिँदैन, त्यसैले पर्यटकलाई पनि आउजाउमा सजिलो हुने र जनावरलाई पनि सहज बासस्थान उपलब्ध हुने भएकाले सूर्यविनायकलाई छनोट गरिएको छ ।’

१४ पुस २०५२ देखि राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालित चिडियाखानामा ६ हेक्टर जमिनमा फैलिएको छ । सानो क्षेमा फैलिएको यस सदर चिडियाखानामा ठूला जनावर अर्ना, बाघ, भालु र गैँडा, हिप्पोपोटामस, रेडपाण्डा, अष्ट्रिजजस्ता वन्यजन्तु छन् । तर, यी सबै जनावरलाई आवश्यक पर्ने पर्याप्त क्षेत्र चिडियाखानामा छैन । जनावरलाई खेल्न, लुक्न तथा विचरण गर्नका लागि पर्याप्त खुला ठाउँ आधुनिक चिडियाखानासम्बन्धी पछिल्लो अवधारणा र त्यसको स्तर निर्धारणको मापदण्ड पनि हो ।

सदर चिडियाखाना साँघुरो भएको महशुस गरेर सरकारले सन् २०१० मा सम्भावित ठाउँको अध्ययन गर्ने निर्णय गरेको थियो । लगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनको क्रममा भक्तपुरको गुन्डू, सिपाडोल र कटुञ् जे गाविसका सात वटा सामुदायिक वन क्षेत्रमा ‘सूर्यविनायक जुलोजिकल गार्डेन एण्ड रिक्रिएशन सेन्टर’ स्थापनाको सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनले २४५ हेक्टर जमिन उपलब्ध त्यो क्षेत्र चिडियाखानाका जीवजन्तुका लागि ‘अर्ध प्राकृतिक बासस्थान’ हुन सक्ने जनाएको छ ।

अध्ययन केन्द्र सदर चिडियाखाना

आधुनिक चिडियाखाना, आधुनिक प्राणी उद्यमको अवधारणअनुसार संरक्षण शिक्षाको कार्यक्रम हुनुपर्छ भन्ने छ । उक्त अवधारणामा टेकेर हालको सदर चिडियाखानालाई अध्ययन केन्द्रका रुपमा सञ्चालन गर्नेे सरकारले योजना बनाएको छ ।

‘यस चिडियाखानालाई हामीले संरक्षण शिक्षा अध्ययन सेन्टरको रुपमा राखिरहने छौं । यसमा स–साना वन्यजन्तु, चराचुरुङ्गी हुने छन्,’ सूचना अधिकारी लिना भन्छिन्, ‘तर ठूला जनावरहरु जसका लागि यो ठाउँ पर्याप्त हुँदैन भनेका छौं, तिनीहरु सूर्यविनायकमा राखिनेछन् ।’

उनका अनुसार २४५ हेक्टरमा ‘सूर्यविनायक जुलोजिकल गार्डेन एण्ड रिक्रिएशन सेन्टर’ स्थापना भइसकेको छ । सरकारको मातहतमा चिडियाखानाको काम सञ्चालन भइरहेको छ । हाल डिप बोरिङ, पिलिमरी, फेलिसिङजस्ता काम भइरहेका छन् ।

नेपालमै आधिकारिक रुपमा सञ्चालन भइरहेको चिडियाखाना यही सदर चिडियाखाना हो । तर, पछिल्लो समय देशभर ससाना चिडियाखाना वा वन्यजन्तु उद्धार केन्द्र खुलिरहेका छन् । सरकारले प्रत्येक प्रदेशमा एक–एक चिडियाखाना खोल्ने भनेसँगै सबैले यसलाई चासोका रुपमा हेरेका छन् ।

सातै प्रदेशमा सातवटा चिडियाखाना बनाउनु पर्छ भनेर सरकारले प्राथमिकतामा राखेपछि विभिन्न सामुदायिक वनले घाइते वन्यजन्तुलाई उद्धार गरिरहेका छन् । उनीहरुले तारवार, घेरा बनाएर वन्यजन्तुको संरक्षणमा जुटेको सूचना अधिकारी लिनाले जानकारी दिइन् ।

चिडियाखानासम्बन्धी ऐन, काननु नहुँदा समस्या

सरकारले चिडियाखानालाई प्राथमिकतामा राखेको भए पनि यससम्बन्धी ऐन, नियम नहुँदा भने समस्या निम्तिएको सूचना अधिकारी लिना बताउँछिन् ।

‘चिडियाखाना सञ्चालनका लागि सबैभन्दा ठूलो समस्या भनेको चिडियाखाना बनाउनेसम्बन्धी कुनै ऐन, नियम बनेको छैन,’ अधिकारी लिना भन्छिन्, ‘जसले गर्दा चिडियाखाना कस्तो अवधारणामा बनाउने भन्ने स्पष्ट नीति नै छैन । कति क्षेत्रलाई चिडियाखाना भन्ने, कति संरचना बनाउने, कस्तो अवरधारणामा बनाउने, के–के आधारभूत संरचना हुनुपर्ने भन्ने ऐन नहुँदा अन्योलको स्थिति छ, यस चिडियाखानामा वन्यजन्तुलाई व्यवस्थापन गर्नेजस्ता कुरा आफंैले नीतिगत रुपमा व्यवस्थापन गर्दै आइरहेका छौँ, तर देशभरका लागि भनेर छुट्टै ऐन, नियम निमार्ण गरिएको छैन ।’ चिडियाखाना बनाउने ऐन बनाउन एकदमै आवश्यक रहेको उनको तर्क छ ।

सरदर चिडियाखानामा वर्षेनी करिब ११ लाख स्वदेशी तथा विदेशी पर्यटक भित्रिने गरेका छन् । चिडियाखाना भ्रमणका दैनिक करिब तीन हजार र बिदाका दिन करिब ५ हजार जना पर्यटक आउने गरेको अधिकारी लिना बताउँछिन् । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार १६१ वन्यजन्तु छन् ।

तपाईको प्रतिक्रिया