काठमाडौं । मतदाता नामावलीमा नाम छुटेका काठमाडौं उपत्यका बाहिरका नागरिकले पनि काठमाडौंबाटै नाम दर्ता गराउन पाउने भएका छन् ।

आफ्नो जिल्लामै गएर नाम दर्ता गराउन नसक्नेहरुले काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन पाउने भएका हुन् ।

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आषाढ १ गतेदेखि देशैभरि एकसाथ मतदाता नामावली दर्ता गराउने काम गरिरहेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जिल्लाका मतदाताका लागि अलग्गै डेस्क स्थापना गरी नामावली दर्ता गर्ने काम गरिरहेको छ ।

तर काठमाडौं जिल्ला बाहेकका मतदाता नामावलीमा नाम लेखाउन छुट भएका नागरिकता प्राप्त नेपाली नागरिकहरुको हकमा भने जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ ।

पढाई, रोजगारी र अन्य कारणले गाउँदेखि काठमाडौं आएर बसेका, तर बसाइँसराई कागज ल्याइनसकेकाहरुले काठमाडौंबाटै नामावली दर्ता गराउन सक्नेछन् । तर मतदानका लागि भने आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रमै पुग्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया